भारतीय पूर्वराजदूत रञ्जित रेसँग इप्पानको छलफल
काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिने विषयमा छलफल गरेको छ ।
एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स र इप्पानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा इप्पान पदाधिकरीहरुले नेपाल भारत विद्युत व्यापारका विविध विषयमा पूर्वराजदूत रेसँग छलफल गरेको हो ।
भारत सरकारले ल्याएको विद्युत व्यापार निर्देशिका र गाइडलानसका कारण नेपाली निजी क्षेत्रका प्रवर्द्धकलाई परेको अफ्ठ्यारकोका बारेमा कुरा गरेका थिए ।
जवाफमा पूर्वराजदूत रेले नेपाल भारतका धेरै विषय भूराजनीतिसँग जोडिएकाले सम्बन्ध विच्छेद नै गरेर जान नसकिने बताए । तर विद्युत व्यापार गाइडलाइन लक्ष्मण रेखा नभएकोले त्यसलाई काट्नै नसकिने भन्ने पनि नरहेको बताएका थिए ।
छलफलमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेपछि नेपालले आगामी १० वर्ष भित्र २५ हजार मेगावाट विद्युत उत्पादनको रोडम्याप बनाएको बताएका थिए ।
निजी क्षेत्रले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित अघि बढ्न सरकारलाई सुझाव दिएको प्रसंग निकाल्दै अध्यक्ष कार्कीले १० वर्षभित्र १० हजार मेगावाट नेपालमै खपत हुने, १० हजार मेगावाट भारत र बाँकी बंगलादेश निर्यात गर्न सकिने बताएका थिए ।