भारतविरुद्ध १० विकेटको हारका बाबजुद उत्साहित नेपाल
ब्याटिङले आशा, तर बलिङमा निराशा
काठमाडौं । एसिया कपमा भारतविरुद्धको म्याच नेपालका लागि अविस्मरणीय र विशेष रह्यो । १० विकेटको हारका बाबजुद नेपालले एउटा बेग्लै ऊर्जा र आत्मविश्वास बटुलेको छ ।
पहिलोपटक नेपालविरुद्ध एकदिवसीय म्याच खेलिरहेको भारतले आफ्नो फुल स्ट्रेन्थ टीम उतारेको थियो । टीममा विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, शुभमान गिलजस्ता विश्वविख्यात ब्याट्सम्यानहरु थिए । मोहम्मद सामी, मोहम्मद सिराज, रविन्द्र जडेजा, कुलदीप यादवजस्ता दिग्गज बलरहरू थिए । विश्व क्रिकेटलाई नै ‘रुल’ गरिरहेको भारतविरुद्ध एसोसिएट्स हैसियतको नेपालले आफ्नो क्षमताको एक झलक प्रस्तुत गर्यो ।
भारतका दिग्गज बलरहरूसँग नेपाली ब्याट्सम्यानले डटेर सामना गरे । ब्याट्सम्यानहरू ५० ओभर टिक्ने नाममा क्रिजमा झिँगा धपाएर बस्न चाहेनन् । उनीहरूले आफ्ना सटहरू खेले, चाहे विकेट निरन्तर झरिरहेको किन नहोस् । नेपालको ब्याटिङ टप अर्डरमा मात्रै निर्भर छैन भन्ने पनि देखियो ।
भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पाकिस्तानसँग १०४ रनमा अलआउट भएको देखेको भारतीय टीम आफू पनि नेपाललाई सयकै आसपास समेट्ने धुनमा थियो । तर, नेपाली ओपनरहरूले जुन तरिकाले स्टार्ट गरे, त्यो भारतीय बलरहरूका लागि अपेक्षित थिएन ।
सुरूमै क्याच ड्रप भएपछि ओपनर कुशल भुर्तेलले आफ्नो पाखुरा खोले । भारतका फास्ट बलरहरूमाथि हाबी हुँदै उनले आक्रामक पारी खेले । भुर्तेलको इनिङ लामो हुन सकेन । तर, उनले २५ रनमा जोडेको ३८ रन नेपालका लागि अमूल्य थियो । भारतीय बलरहरूमाथि उनले १५८ भन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरे । यस एसिया कपमा सर्वाधिक राम्रो स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचीमा कुशल पहिलो स्थानमा छन् ।
कुशलको इनिङ यसकारण विशेष थियो कि उनले भारतीय बलरहरूमाथि साहसिक हमला गरे । उनी क्रिजमा छँदासम्म यो प्रतिस्पर्धा क्रिकेटको एक महाशक्ति र एक एसोसिएट्स राष्ट्रबीचको जस्तो लाग्दैनथ्यो । भारतीय खेलाडीहरुको अनुहारमा नर्भसनेस देखिन थालेको थियो । कुशलले भारतका दिग्गज फास्ट बलर मोहम्मद सिराजको बललाई हुक गर्दै विशाल छक्का हान्दा भारतीय खेलाडीहरूको अनुहार हेर्न लायक थियो ।
नेपालका बलरहरूमध्ये ललितसिंह राजवंशीले भने फेरि एकपटक मन जिते । स्पिनरलाई कुनै पनि हेल्प नभएको पीचमा उनले वर्ल्ड क्लस भारतीय ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । विकेट लिन चुके पनि उनको बलिङ निकै सुन्दर थियो । पार्ट टाइ स्पिनर कुशल मल्ले पनि किफायती बलिङ गरे ।
अर्का ओपनर आसिफ शेखले कुशलभन्दा फरक तरिकाले खेले । तर, उनको इनिङ पनि नेपालका लागि उत्तिकै विशेष रह्यो । भारतविरुद्ध पहिलो अर्धसतक बनाउने रेकर्ड आसिफले आफ्नो नाममा लेखाएका छन् । उनले भारतीय बलरहरूलाई नापितौली आफ्नो ब्याट चलाए । अधैर्य नभइ खेले ।
नेपालका लागि तेस्रो उत्तिकै महत्वपूर्ण इनिङ थियो सोमपाल कामीको । मध्यक्रमको ब्याटिङ पङ्ति कोल्याप्स भएपछि नेपाललाई सोमपाल र दीपेन्द्रसिंह ऐरी मिलेर सम्हालेका थिए । उनीहरूबीच सातौं विकेटका लागि भएको अर्धसतकीय साझेदारी पनि भारतका लागि अनपेक्षित हो । अगाडिका ब्याट्सम्यानहरू आउट भएपछि नेपाललाई न्यून स्कोरमा समेट्नेमा भारतीय टीम ढुक्क भएको थियो । तर, दिपेन्द्र र सोमपालको काउन्टर अट्याकले भारतीय बलर स्तब्ध बने । दीपेन्द्र क्रिजमा छँदासम्म नेपाल २५० रन कटाउने बाटोमा देखिएको थियो । तर, उनी आउट भएसँगै रनको गतिमा अलिकति ब्रेक लाग्यो । यद्यपि, सोमपालले नेपाललाई सहजै ढल्न दिएनन् । नेपाललाई सम्मानजक स्कोरमा पुर्याउँदै ४८ रनमा सोमपाल आउट भए ।
हिजो नेपालको बलिङले भने निराश बनायो । ब्याट्सम्यानहरूले २३० रनको स्कोर खडा गरेपछि बलरहरूबाट पनि आशा जागेको थियो । उनीहरूले कम्तीमा दोस्रो इनिङलाई पनि प्रतिस्पर्धात्मक बनाउलान् भन्ने थियो । यसअघि पाकिस्तानका ब्याट्सम्यानलाई ३३ ओभरसम्म दबाबमा राखेका बलरहरूले भारतसँग भने छिट्टै हात उठाए । नेपालको न फास्ट बलिङ चल्यो न स्पिन । पीचले फास्ट बलरलाई केही स्वीङ दिए पनि स्पिनरलाई कुनै सहयोग गरिरहेको थिएन । भारतकै स्पिनरहरू पनि बललाई टर्न गराउन सकिरहेका थिएनन् ।
त्यसो त करण केसीले आशालाग्दो सुरूवात गरेका थिए । उनको पहिलो ओभर झेल्न भारतका कप्तान रोहित साहलाई निकै कठिन भएको थियो । करणले पहिलो बल वाइड फ्याके भने त्यसपछिका ५ बलमा रोहितले कुनै पनि रन लिन सकेनन् । ३ वटा बलमा उनी बिट भए । एकपटक एलबिडब्लुको कडा अपील पनि भयो । अम्पायरले नदिएपछि नेपालले रिभ्यू लियो, तर सफल भएन ।
दोस्रो ओभरपछि भने खेलको दिशा फेरियो । सोमपाल कामीको बलमा सुवमान गिलले एक ओभरमै तीनवटा चौका हाने । त्यसपछि भारतले पछाडि फर्केर हेर्नु परेन ।
नेपालका बलरहरूमध्ये ललितसिंह राजवंशीले भने फेरि एकपटक मन जिते । स्पिनरलाई कुनै पनि हेल्प नभएको पीचमा उनले वर्ल्ड क्लस भारतीय ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन् । विकेट लिन चुके पनि उनको बलिङ निकै सुन्दर थियो । पार्ट टाइ स्पिनर कुशल मल्ले पनि किफायती बलिङ गरे ।
नेपालका स्टार बलर सन्दीप लामिछानेले भने निराश बनाए । विकेटको खोजी गर्ने क्रममा उनले थुप्रै खराब बलहरू फ्याके । भारतीय ब्याट्सम्यानहरू यस्ता बलमा चुक्ने सम्भावना नै थिएन । फलस्वरूप सन्दीप निकै महंगा सावित भए । यद्यपि, उनको ६.५ ओभरमा रोहित शर्मा ड्रप हुनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । सन्दीपको बललाई स्वीप गर्दै रोहितले हावामा खेलेको बल डिप स्क्वायर लेगमा गुल्शन झाको हातबाट ड्रप भएको थियो । क्याच सहज थिएन, तर असम्भव पनि थिएन । त्यो क्याच लिएको भए नेपालका लागि निकै ठूलो बुस्ट हुने थियो । क्याच त भएन भएन, बल बाउन्ड्री माथिबाट गएर छक्का नै हुन पुग्यो । यसले सन्दीपको व्यक्तिगत आँकडा पनि बिग्रियो ।
दीपेन्द्रसिंह ऐरीले तुलनात्मकरूपमा राम्रो बलिङ गर्दा गर्दै पनि कप्तान रोहित पौडेलले उनलाई २ ओभरमात्रै बल दिए । कसिलो बलिङ गरेका कुशल मल्ले पनि तीन ओभरमात्रै पाए ।
नेपालले पाकिस्तानविरुद्ध जस्तै हिजो पनि कम्तीमा ४-५ विकेट लिन सकेको भए सम्मानजनक हार हुने थियो । तर, वर्षाका कारण खेल २३ ओभरमा झारिएपछि भारतले २३ ओभरमा १४५ रनको परिमार्जित लक्ष्य पायो । २०-२० क्रिकेटमा अभ्यस्त भारतीय ब्याट्सम्यानका लागि यो मामूली थियो । यदि, ओभर र लक्ष्य नघटाइकन पूरा खेल भएको भए नेपालले केही विकेट लिन सक्थ्यो ।
खैर, एसिया कपमा दुवै खेल फराकिलो अन्तरले हारे पनि नेपालले बलिङ र ब्याटिङ दुवैमा आफ्नो क्षमताको एक झलक प्रस्तुत गरेको छ । विश्व क्रिकेटको नजर नेपालमाथि परेको छ । यो एउटा युवा टीम हो, जसमा ७ जना २१ वर्षमुनिका खेलाडी छन् । एसिया कपमा सहभागी ६ टीममध्ये सबैभन्दा युवा टीम नै नेपालको थियो । यसर्थ यी युवाहरू भोलि अनुभवले खारिएसँगै नेपालको क्रिकेट स्तर थप माथि उठ्नेमा शंका छैन । तर, त्यसका लागि क्रिकेटको पूर्वाधार विकास र खेलाडीहरूको एक्सपोजर अनिवार्य शर्त हो ।