लुम्बिनीका सडक निर्माण एक महिनामा सक्न उपाध्यक्ष लामाको निर्देशन – Nepal Press

लुम्बिनीका सडक निर्माण एक महिनामा सक्न उपाध्यक्ष लामाको निर्देशन

रुपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रको निर्माण एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

सम्झौता अवधिभित्र सन्तोषजनक काम नभएपछि लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत पोल र स्ट्रिट लाइटको बुधबार निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा. लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीको निर्माणाधीन अधुरो सडकका कारण सास्ती पाएकाले हेलेचेक्र्याइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराए ।

लुम्बिनी गुरुयोजनाअन्तर्गत २ वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, ८ वटा गेट र २२ सय पोललगायतका स्ट्रिट लाइट निर्माणका लागि छुट्टाछुट्टै ४ निर्माण व्यवसायीले ठेक्का सम्झौता गरी काम गरिरहेका छन् । तर, सम्झौताको म्याद सकिनै लाग्दा पनि निर्माण कार्य आधा पनि हुन नसकेपछि उपाध्यक्ष डा. लामा आफैं फिल्डमा गएर निर्माण कार्यको अनुगमन गरेका हुन् ।

उनले निर्माण व्यवसायीलाई सचेत गराएको एक हप्तापछि निर्माणको अनुगमन गर्दा पनि काममा सुधार नभएपछि फिल्डबाटै निर्माण कम्पनीलाई फोन गरेर निर्देशन दिएका थिए । उपाध्यक्ष लामासहित स्थलगत निरीक्षण एवं अनुगमनमा सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपीकृष्ण शर्मासहितको टोली गएको थियो ।

निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गति नबढेकाले एक महिनाभित्र भौतिक प्रगति बढाउनुपर्ने र बहानाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्ष लामाले चेतावनी दिएका छन् ।

‘यो पवित्र भूमि हो, बुद्धको जन्मस्थलमा पवित्र भावनाले काम गर्नुहोस्’, उनले निर्माण व्यवसायीलाई भने, ‘अब जेसुकै बहाना गरे पनि हामी छोड्दैनौं, एक महिनाभित्र नतिजा ननिकाले कोषले अन्य कदम चाल्छ ।’

उनले काममा सुधार नगरे ठेक्का सम्झौता नै रद्द गर्नसक्ने चेतावनी दिएका छन् ।

निर्माण कम्पनीहरुले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

योजना प्रमुख भट्टराईले यसअघि पनि कोषले पटक पटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगति हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको बताए ।

कोषका अनुसार ४ निर्माण कम्पनीमध्ये २ वटाको ५०–५५ र २ वटाको २८ प्रतिशतमात्रै भौतिक प्रगति देखिएको छ । कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *