अनि पोखरा रंगशालामा नरभक्षी बाघ मारियो… (तस्बिरहरू) – Nepal Press

अनि पोखरा रंगशालामा नरभक्षी बाघ मारियो… (तस्बिरहरू)

पोखरा । बाघले सहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाई समेत आक्रमण गरेर मार्न थालेपछि जनताले राजालाई नरभक्षी बाघ मारिदिन गुहार माग्छन् । जनताको गुहार सुनेपछि राजाले आफ्नो सम्पूर्ण शक्तिका रुपमा प्रधानमन्त्री, सेना प्रमुख, सेना, सिकारीहरु बाघ खोज्नतिर लागे ।

सोमबारबाट बाघ खोज्न सुरु गरेका राजाले अन्तत बुधबार दिउँसो बाघ फेला पारे । त्यसपछि राजाले आफ्नो सिपाहीहरुलाई बाघ मार्न अनुमति दिन्छन् । राजाको अनुमतिपछि बाँस बोकेका गाउँलेका रुपमा रहेका सिपाही ‘ढेकेग्वारा’हरुले बाघलाई चारैतिरबाट घेरे ।

केही समय बाघ छोप्ने कोसिस गरिरहे । सोही समयमा बाघले एकजनालाई आक्रमण गर्यो । त्यही मौकामा ढेकेग्वाराहरुले बाघलाई पासोमा पारे । पासो परेको बाघलाई लछारपछार पारे । त्यसपछि राजाको अनुमतिमा बन्दुक हानेर बाघ मारे ।

उक्त दृश्य बिहीबार पोखरा सकिएको बाघ जात्राको समापन समारोहको हो । पोखरा रंगशालामा बिहीबार बेलुका बाघलाई मारी बाघ जात्राको समापन गरिएको थियो ।

बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा मनाइने बाघ जात्रा पोखरामा २३ वर्षपछि भएको हो । नेवार समुदायको मौलिक र महत्वपूर्ण यो जात्रा २३ वर्षपछि पोखरामा आयोजना भएको हो ।

यसपालिको जात्रामा राजाको रुपमा कलाकार जीतेशमान गुभाजू र रानीको रुपमा कलाकार शिवानी श्रेष्ठ गुभाजू थिए ।

बाघको भूमिका सुरेश खड्गीले निर्वाह गरेका थिए । राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी सिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु थिए ।

जात्राको पहिलो दिन १८ गते गणेशटोल, मोहरिया टोल हुँदै बगर क्षेत्र, दोस्रो दिन १९ गते पृथ्वीचोक र तेस्रो तथा अन्तिम दिन बिहीबार पोखरा रंगशालामा समापन गरिएको हो ।

बाघजात्राको विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रा पनि थियो । बाघ जात्रामा भक्तपुर वडा नम्बर ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोली सहभागी थिए ।

जात्राको सन्देश बाघ मार्नुपर्छ भन्ने नरहेको बाघजात्रा तयारी समितिका सचिव सुनील उलकले बताए । ‘नरभक्षी बाघचाहिँ मारेर त्रसित जनतालाई मुक्ति दिलाउने यसको सन्देश हो,’ उनले भने, ‘जात्राको सन्देश बाघ मार्नुपर्छ भन्ने होइन ।’ जात्रामार्फत गलत उद्देश्य वा गलत कार्यलाई सबै मिलेर परास्त गर्नुपर्दछ भन्ने सन्देश पनि दिने खोजेको उलकले सुनाए ।

आगामी दिनमा भने ५/६ वर्षमा बाघ जात्रा सञ्चालन हुने उलकले बताए । ‘विभिन्न कारणले बाघ जात्राका लागि २३ वर्ष कुर्नुपर्यो । अब त्यस्तो हुँदैन । पोखरा ५/६ वर्षमा बाघ जात्रा सञ्चालन हुन्छ,’ उनले भने ।

यसअघि २०५७ को बाघजात्रामा तेर्सापट्टीका रामप्रसाद श्रेष्ठ राजा बनेका थिए । दोस्रो दिन उनका छोरा शिव राजा बनेका थिए । २०१४ सालमा बालकृष्ण बड्गामी, २०२२ सालमा हेमबहादुर प्रधान राजाको भूमिकामा थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर