समाजमा अराजकता मच्चाउने तत्वबारे सूक्ष्म अध्ययन गर्न सेनालाई रक्षामन्त्रीको आग्रह
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशलाई पुनः अस्थिरताको भूमरीमा धकेल्ने र जनतामा डरत्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्ने क्रियाशील तत्वहरु राष्ट्रिय सुरक्षाका लागि चुनौती बनेको बताएका छन् । यस्तो अवस्थामा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।
जंगी अड्डामा सुरु भएको नेपाली सेनाको दुई दिवसीय पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले सेनाले सुरक्षा निकायलगायतका सम्बन्धित निकायहरुसँग प्रभावकारी सम्बन्ध कायम गर्दै भावी चुनौतीहरुको विश्लेषण तथा मूल्याङ्कन अत्यन्तै प्रशंसनीय ढंगले गर्दै आएको बताए ।
उनले नेपाली सेनाले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याइरहेको योगदानबाट प्राप्त उपलब्धि र ख्यातिको प्रशंसासमेत गरे ।
खड्काले देशका रणनीतिक तथा संवेदनशील क्षेत्रहरुको सुरक्षा एवं वर्तमान समयमा राष्ट्रिय चुनौतीको रुपमा रहेको साइबर स्पेश सुरक्षार्थ नेपाली सेनाबाट लिइएका पहल तथा सरकारलाई प्राप्त राय सुझावका लागि आभार व्यक्त गरे ।
खड्काले विभिन्न विषयहरुलाई राष्ट्रिय मुद्दाको रुपमा उठाइ राष्ट्रियता तथा राष्ट्रिय एकता खल्वल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भूमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील तत्वहरुलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको रुपमा लिइ नेपाली सेनाले आफ्नो प्राथमिकतामा राखी कार्य गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।
खड्काले भने, ‘शदियौंदेखि हामीबीच कायम रहिरहेको धार्मिक एवं सामाजिक सहिष्णुता खल्वल्याउन उद्यत अवाञ्छित तत्वहरुको सूक्ष्म अध्ययन गर्ने आवश्यकताबारे पनि तपाईंहरुको ध्यानाकर्षण गराउन चाहन्छु । कर्तव्यनिष्ठ भएर आजका दिनसम्म आइपुग्नु भएका नेपाली सेनाका सकल दर्जालाई सोही प्रेरणा र हौसलाका साथ अघि बढिरहन प्रोत्साहित गर्न चाहन्छु ।
कार्यक्रम सुरु गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले सदैव वैधानिक सरकार र नेपाली जनताप्रति उत्तरदायी रहँदै आफ्नो जिम्मेवारी वहन गरिरहेको बताए ।
उनले नेपाली सेनालाई थप सुदृढीकरण र आधुनिकीकरण गर्नेतर्फ सरकार, रक्षा मन्त्रालयबाट प्राप्त साथ सहयोगको लागि आभार व्यक्त गरे । उनले समग्र देशको परिस्थिति र परिवेशको विश्लेषण गर्दै अन्तरसुरक्षा निकायबीच सूचना आदानप्रदान गरी भावी सुरक्षा चुनौतीहरुको सामना गर्न आवश्यक रहेको बताए ।
पहिलो दिनको कार्यक्रममा रक्षा सचिव, बलाध्यक्ष रथी, पृतनापतिहरुलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । समन्वयात्मक बैठकमा सहभागीहरुले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।