डोटीमा बर्सेनि बढ्दैछ सम्बन्ध विच्छेद – Nepal Press

डोटीमा बर्सेनि बढ्दैछ सम्बन्ध विच्छेद

डोटी । साउन महिनामा ईश्वरी देवी (नाम परिवर्तन) जिल्ला अदालत डोटीमा पुगिन् । उनी श्रीमान्सँग सम्बन्ध विच्छेद गर्ने भन्दै फिरादपत्रसहित अदालत पुगेकी थिइन् । श्रीमानले अनावश्यक शंका गर्ने, मानसिक तथा शारीरिक यातना दिने गरेको उनको आरोप थियो । उनी अब श्रीमानसँग बस्न नसकिने निष्कर्षमा पुगेकी थिइन् ।

‘दुवै जनाले एकअर्काप्रति विश्वास गरेसम्म मात्र श्रीमान-श्रीमतीको रुपमा बस्न सकिन्छ’, ईश्वरी भन्छिन्, ‘सधैं शंकामात्रै गरिराख्ने हो भने कसरी परिवार चल्नसक्छ ?’

साउनमै एक पुरुष पनि सम्बन्ध विच्छेद गर्ने भन्दै अदालतमा फिरादपत्र लिएर पुगे । उनी श्रीमतीले आफूलाई जानकारी नै नदिएर अलग बसेकी र उनको चरित्र ठीक नलागेको आरोप लगाउँदै थिए । दुवै जनाको सहमतिमै उनीहरुको सम्बन्ध विच्छेद पनि भयो ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटनाहरु धेरै छन् । डोटीमा सम्बन्ध विच्छेदका घटना बर्सेनि बढ्दै गएको जिल्ला अदालत डोटीको तथ्याङ्कले देखाउँछ । तीन वर्षमा सम्बन्ध विच्छेदका ७२ वटा मुद्दा दर्ता भएको अदालतका तहशिलदार बसन्त पाध्यायले जानकारी दिए ।

‘सम्बन्ध विच्छेद बर्सेनि बढ्दै गएका छन्’, पाध्यायले भने ‘आर्थिक वर्ष २०७७/०७८ मा १८ जनाले निवेदन दिएका थिए, २०७८/०७९ मा २५ जना पुगे ।’

आर्थिक वर्ष २०७९/०८० मा सम्बन्ध विच्छेदका लागि फिराद दर्ता गराउनेको संख्या २९ पुगेको उनको भनाइ छ । तीन वर्षमा दर्ता भएका ७२ मध्ये ९ वटा मुद्दा फिर्ता भएको छ । दर्ता भएका थप चार मुद्दा डिसमिस भएको छ ।

किन बढ्दैछ सम्बन्ध विच्छेद ?

महिलाहरुमा चेतनाको विकास भएकाले सम्बन्ध विच्छेद वृद्धि भएको बताउँछन् अधिवक्ता कैलाशसिंह साउद ।

‘पहिले महिलाहरुले हिंसा सहेर बस्थे, अब महिलाहरु सचेत भएका छन्’, उनी भन्छन्, ‘उनीहरु हिंसा सहनुभन्दा छुट्टिएर अलग बस्नु नै उपयुक्त ठान्छन् र सम्बन्ध विच्छेदको प्रक्रियामा जान्छन् ।’

सामाजिक सञ्जालका कारण पनि सम्बन्ध विच्छेद हुने गरेको अधिवक्ता साउदको भनाइ छ । उनी भन्छन्, ‘सामाजिक सञ्जालमा कुरा गरेकै आधारमा श्रीमान-श्रीमतीले एकअर्काप्रति शंका गर्न थाल्छन् । विस्तारै शंका बढ्दै जान्छ र परिवारमा विवाद हुन थाल्छ, विवाद बढ्दै गएपछि सम्बन्ध विच्छेदको तहसम्म पुग्छ ।’

सम्बन्ध विच्छेद बढ्नुमा मुख्य कारण बाल विवाह भएको बताउँछिन् दिपायल सिलगढी नगरपालिकाका उपमेयर कलावती महर साउद ।

‘सानै उमेरमा विवाह हुन्छ, केटाकेटीले एकअर्कालाई बुझेका पनि हुँदैनन् राम्रोसँग’, उपमेयर साउद भन्छिन्, ‘जब बुझ्ने तहमा पुग्छन्, सँगै बस्न नसक्ने निष्कर्षमा पुग्छन् ।’

कानूनी ज्ञानको अभावमा पनि सम्बन्ध विच्छेद बढ्न थालेको साउदको भनाइ छ । उनी भन्छिन्, ‘अशिक्षा, गरिबी र अभावका कारण पनि सम्बन्ध विच्छेद बढेको छ ।’

आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया सम्बन्ध विच्छेद बढ्नुमा महिलाहरुको पनि कमजोरी रहेको बताउँछिन् । ‘पछिल्लो समयमा महिलाहरुले श्रीमानलाई धोका दिने गरेका घटना बढेका छन्’, उपाध्यक्ष रोकाया भन्छिन्, ‘श्रीमान भारत तथा तेस्रो मुलुकमा दुःख गरेर दुईचार पैसा कमाउँछन्, श्रीमतीले उक्त पैसाको दुरुपयोग गरिदिन्छन् ।’

यसले परिवारमा विवाद भई अन्ततः सम्बन्ध विच्छेदको तहमा पुग्ने गरेको रोकायाको भनाइ छ । उनी विवाद भएका जोडीहरु न्यायिक समितिमा पनि आउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘सम्बन्ध विच्छेदकै तहमा पुगेका कतिपय जोडीहरुलाई हामीले सम्झाएर फर्काएका पनि छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर