अन्तर्राष्ट्रिय महिला क्रिकेटमा १६ वर्षसम्म उपाधिविहीन नेपाल- अनुभव बढ्दाे, प्रदर्शन खस्किँदाे – Nepal Press

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा १६ वर्षसम्म उपाधिविहीन नेपाल- अनुभव बढ्दाे, प्रदर्शन खस्किँदाे

काठमाडौं । अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन थालेको १६ वर्ष पुरा हुन लागेको छ । सुरुवाती वर्षहरुमा आशालाग्दाे संकेत गरेको महिला क्रिकेट पछिल्लो समयमा भने ओरालो यात्रामा अग्रसर देखिन्छ ।

सन् २००७ मा मलेसियामा आयोजित एसीसी महिला च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो । त्यतिबेला उपाधि भिडन्तमा बंगलादेशले हराएको थियो । ३० ओभरमा खेलाईएको त्यस प्रतियोगितामा ८ टोली सहभागी थिए ।

पहिलो चरणमा नेपालले थाइल्यान्डलाई ४० र तेस्रो खेलमा हङकङलाई ३१ रनमा अलआउट गरेको थियो भने दोस्रो खेलमा मलेसियासँग टाई भएको थियो ।

त्यसयता नेपालले लगातार तीन संस्करण एसिसी यू–१९ वुमन्स च्याम्पियनसीप पनि जित्यो । सुरुवाती वर्षहरुमा एसियाली एसोसिएट क्रिकेटमा शसक्त उपस्थिति देखाएको नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १६ वर्ष वित्न लाग्दा हालसम्म यो स्तरमा एउटा पनि उपाधि जित्न सकेको छैन ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा टोलीमा रहेकी सीता मगर अझै पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । एक वर्षपछि यू–१९ राष्ट्रिय टोलीमा रहेकी रुविना क्षेत्री अहिले सिनियर टोलीको कप्तान छिन् । नेपाली टोलीमा हाल रहेका अन्य केही खेलाडीले पनि नेपालको प्रतिनिधित्व गर्न थालेको एक दशकभन्दा लामो समय भइसकेको छ ।

तर नेपालले हालसम्म विश्वकपको विश्वस्तरको छनोटसम्म पनि खेल्न सकेको छैन । हरेकपटक एसियाली छनोटबाटै बाहिरिने गरेको छ । शुक्रबार मलेसियामा भएको छनोटमा पनि थाइल्यान्डसँग ४६ रनले पराजित भएर नेपाल विश्वस्तरको छनोटमा पुग्न असफल भएको छ । नेपालले सन् २०१२ र २०१६ मा एसिया कपसम्म खेलेपनि पहिलो चरणबाट बाहिरिएको थियो ।

थाइल्यान्डले सन् २०२० मा आईसिसी टी–२० विश्वकप नै खेलिसकेको छ । चीनले विश्वस्तरको छनोट खेलेको छ । थाइल्यान्ड पाँचौंपटक विश्वस्तरको छनोट खेल्न छानिएको छ । थाई टोली गत वर्ष एसिया कपमा पनि सेमिफाइनलसम्म पुगेको थियो ।

यूएईले पनि दुईपटक विश्वकपको विश्वस्तरको छनोट खेलेको छ । एसियाली एसोसिएट क्रिकेटमा पछिल्ला वर्षहरुमा थाइल्यान्डले नेपाललगायत अन्य टोलीसँगको ‘ग्याप’ लगातार बढाइरहेको छ । वर्षमा हुने एक दुई राष्ट्रिय प्रतियोगिता त्यसमा पनि ८/१० दिनसम्म सन्चालन भएका भरमा नेपाली महिला क्रिकेट धानिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *