सेरेना विलियम्सको नियति सम्झिन चाहँदैनन् जोकोभिच
काठमाडौं। सेरेना विलियम्सले थप एक उपाधि जितेको भए उनी सर्वाधिक एकल ग्रान्डस्लाम टेनिस उपाधि जित्ने खेलाडीका रुपमा विश्व कीर्तिमान बराबरी गर्ने थिइन्। सन् २०१७ मा अस्ट्रेलियन ओपन जितेर उनी मारगरेट कोर्टको विश्व कीर्तिमान बराबरी नजिक पुगेकी थिइन्।
त्यसै वर्ष उनी आमा बनिन् र लगातार चारवटा ग्रान्ड्स्लाम प्रतियोगिता खेल्न असमर्थ भइन्। सेरेना त्यसपछि ग्रान्डस्लामको फाइनलसम्म चारपटक पुगिन् तर एकपटक पनि विजेता बन्न सकिनन्। सन् २०१८ को फ्रेन्च ओपन, आमा बनेपछि टेनिसमा उनले पुनरागमन गरेको प्रतियोगिता थियो।
त्यस प्रतियोगितामा चौथो चरणबाटै बाहिरिएकी उनी वर्षका बाँकी दुई ग्रान्डस्लाम विम्बल्डन र यूएस ओपनमा फाइनलसम्म पुगेकी थिइन्। सन् २०१९ मा पनि उनी यी दुई प्रतियोगितामा फाइनलसम्म पुगिन्। तर नियति उही पुरानै।
सन् २०२२ सम्म सेरेनाले ग्रान्डस्लाम खेलिरहँदा उनको जोडबल थियो कम्तिमा कोर्टको विश्व कीर्तिमान बराबरी गर्ने। ४० वर्षको उमेरसम्म उनले गरेको त्यो प्रयास कम्तीमा भावी पुस्ताका लागि प्रेरणादायी थियो। ग्रान्डस्लाम टेनिसमा सन् १९६८ देखि ओपन एरा सुरु भएको मानिन्छ। त्यस वर्ष पहिलोपटक ग्रान्डस्लाममा प्रोफेसनलले एमेच्योरसँग प्रतिस्पर्धा गरेका थिए।
सन् १९७३ मा कोर्टले वर्षका चारमध्ये तीनवटा प्रतियोगिता जितेर आफ्नो ग्रान्डस्लाम उपाधि संख्या २४ पुर्या्एकी थिइन्। ओपन एरा सुरु हुनुअघि कोर्टले १३ पटक एकल ग्रान्डस्लाम उपाधि जितेकी थिइन्। ग्रान्डस्लाम उपाधिको संख्याका हिसाबले कोर्ट अगाडि भएपनि सेरेनाको बेग्लै पहिचान छ। उनी ओपन एरामा सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडी हुन्।
ग्रान्डस्लाम टेनिसमा पुरुषतर्फ कुनै समय एउटै खेलाडीलाई १४र१५ एकल उपाधि जित्नुपनि सपना जस्तै हुन्थ्यो। पिट साम्प्रासले सन् २००२ मा यूएस ओपन जितेर आफ्नो एकल ग्रान्डस्लाम संख्या १४ पुर्याडएपछि यो कीर्तिमान वर्षौसम्म रहने अनुमान गरिएको थियो।
रोजर फेडेररले सन् २००९ मा विम्बल्डन जित्दै साम्प्रासको कीर्तिमान तोडे। तर फेडेरर त्यत्तिमै सिमित रहेनन्। सन् २०१८ सम्म आईपुग्दा उनले आफ्नो एकल ग्रान्डस्लाम उपाधि संख्या २० पुर्याएका थिए। राफेल नाडाल र नोभाक जोकोभिचले सुरुमा साम्प्रासलाई पार गर्दै सन् २०२२ सम्म आईपुग्दा फेडेररलाई पनि पछि पारे।
जोकोभिचले यो वर्षका सुरुका लगातार दुई ग्रान्डस्लाम जितेर सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बनिसकेका छन्। उनी वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा पनि फाइनलसम्म पुगेका थिए। तर स्पेनिस युवा खेलाडी कार्लोस अल्काराजसामु उनले घुँडा टेक्नु पर्यो। उनी वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा पनि फाइनलसम्म पुगिसकेका छन्।
नेपाली समयअनुसार सोमबार बिहान उनले डानिल मेदभेदेवसँग प्रतिस्पर्धा गर्दैछन्। सेरेनाजस्तै जोकोभिच पनि कोर्टको विश्व कीर्तिमान बराबरी गर्नबाट अब एउटा ग्रान्डस्लाम उपाधिले मात्र पछाडि छन्। मेदभेदेव यसपटक सेमिफाइनलमा अल्काराजलाई हराउँदै जोकोभिचसँग उपाधि भिडन्त गर्न आईपुगेका हुन्। सन् २०२१ मा जोकोभिचलाई नै फाइनलमा हराएर मेदभेदेवले यूएस ओपन उपाधि जितेका थिए।
त्यस वर्ष जोकोभिचले सुरुका तीनवटै ग्रान्डस्लाम जितेका थिए। हालसम्म ग्रान्ड्स्लाममा ५ पटक फाइनल पुगेका मेदभेदेव यूएस ओपनमा मात्र तेस्रोपटक हो। उनी सन् २०१९ मा फाइनलसम्म पुगेर नाडालसँग पराजित भएका थिए। ‘जब ग्रान्डस्लामको फाइनलसम्म पुग्छु मलाई याद हुन्छ की यो पाली इतिहासका लागि हो’, ३६ वर्षीय जोकोभिच भन्छन्।
जोकोभिच २ वर्षअघि मेदभेदेवसँग भएको प्रदर्शन सम्झन चाहन्नन्। ‘त्यो फेरि दोहोर्याउन चाहन्नँ। म जे आवश्यक हुन्छ र रणनीतिकरुपमा आफूलाई जसरी तयार गर्नुपर्छ त्यसमा मात्र केन्द्रित हुने छु’, मदभेदेभसँग भिडनुअघि जोकोभिचले भनेका छन्।