प्रधानसेनापतिको निर्देशन- स्थिर माहोल खलबल्याउने स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनू  – Nepal Press

प्रधानसेनापतिको निर्देशन- स्थिर माहोल खलबल्याउने स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनू 

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ देशको स्थिर माहोललाई खलबल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै शर्माले नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित रहन भनेका हुन् ।

प्रधानसेनापति शर्माले भने, ‘नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।’

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।

शर्माले भने, ‘लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीले सदैव चलिरहन्छ ।’

सम्बोधनका क्रममा प्रधानसेनापतिले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशाका बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकमा माल्यार्पण गरे । कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सैनिकको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

प्रधानसेनापतिले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथीमा पदोन्नति भउका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यान्ही चिन्ह प्रदान गरे ।

कार्यक्रममा सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन केटीएफटी जर्नलका तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको पुस्तकको पनि विमोचन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर