जहाँ ‘दलित’ले स्ट्रेचरसमेत पाएनन् !
डोटी । ‘हाम्रो गाउँका एक जना मान्छे बिरामी भएर अस्पताल ल्याएका थियौं, उहाँको अस्पतालमै मृत्यु भयो । अनि लास घर लैजानुपर्ने भयो । सडक पुगेको ठाउँसम्म उहाँको लास गाडीमा हालेर लग्यौं, त्यहाँबाट बाटो अप्ठेरो भएका कारण स्ट्रेचरमा राखेर लैजान खोजेको तर स्ट्रेचर पाइएन ।”
डोटीको दिपायल सिलगढी नगरपालिका- ७ की लक्ष्मी लुहारले आफ्नो पीडा सुनाइन् । उनले पटक पटक आग्रह गर्दा पनि गाउँलेले स्ट्रेचर ‘छुइने’ भन्दै दिन नमानेको बताइन् । उनी थप्छिन्, ‘एकातिर उपचारमा धेरै पैसा खर्च भएर पनि मान्छे मरेको पीडा छ, अर्कोतिर लास घर पुर्याउन स्ट्रेचर नपाएको पीडा, त्यसमाथि पनि स्ट्रेचर छुइन्छ भनेर नदिएकोमा झन पीडा भयो ।’
धेरै पटक आग्रह गर्दा पनि स्थानीयले स्ट्रेचर नदिएपछि आफूहरुले वडाध्यक्षलाई फोन गरेको उनी बताउँछिन् ।
‘स्ट्रेचर नपाएपछि हामीले वडाध्यक्ष कर्णबहादुर बिष्टलाई फोन गर्यौं’, सम विकास केन्द्रद्वारा आयोजित दिपायल सिलगढी नगरपालिकाको लैङ्गिक हिंसा निवारण राहत कोषको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा लक्ष्मीले गुनासो गरिन्, ‘उहाँले ती व्यक्तिहरुलाई हप्काउँदै तुरुन्त स्ट्रेचर दिनु भनेपछि मात्र पाइयो ।’
वडाध्यक्ष बिष्टले स्थानीयलाई फोन गरेर स्ट्रेचर सबै जनताका लागि भएको र सबैले निर्वाध रुपमा उपयोग गर्न पाउने बताएपछि मात्र स्ट्रेचर पाइएको उनी बताउँछिन् ।
आफूहरुले जातीय विभेद गरेर स्ट्रेचर नदिएको भन्ने कुरा गलत भएको एक स्थानीय बताउँछन् । ‘हामीले जातीय विभेद गरेर स्ट्रेचर छुइन्छ भनेका होइनौं’, उनले भने, ‘हामी स्ट्रेचर मन्दिरमा राख्छौं, लास बोकेपछि हिन्दू संस्कारअनुसार मन्दिरमा राख्न नहुने भएका कारण दिन नमिल्ने भनेका हौं ।’
उनले स्ट्रेचर हालसम्म कुनै पनि समुदायको लास बोक्नमा प्रयोग नभएको दाबी गरे । उनले भने, ‘तर, पछि वडाध्यक्ष र गाउँका बुढापाकाहरुले पनि केही हुँदैन भनेपछि हामीले दिएका हौं ।’
‘मन्दिरमा पूजा गर्न पाइएन’
उक्त कार्यक्रममा सहभागी सन्जी नेपालीले आफूहरुले मन्दिरमा पूजा गर्न नपाएको गुनासो सुनाइन् । ‘गौरा पर्वको दिन छोरी/नातिनीहरु दिपायल सिलगढी नगरपालिका- ४ मा रहेको पञ्चेश्वर मन्दिरमा पूजा गर्न गएका थियौं’, सन्जीले भनिन्, ‘उनीहरुलाई मन्दिरमा दलितले पूजा गर्न नपाइने भन्दै फर्काइयो ।’
दलितलाई मन्दिरमा पूजा गर्न नदिने महिलाहरु सामुदायिक विद्यालयका शिक्षकसमेत रहेको उनको दाबी छ । उनी थप्छिन्, ‘पुजारीले पूजा गर्न देउ, केही हुँदैन भन्दा पनि शिक्षक महिलाहरुले रोकेछन् ।’
गत वर्ष आफूहरुले पूजा गरेको तर यसपालि छोरीहरुलाई फकाईदिएपछि आफूहरु नगएको स्थानीय धनशरा आउजी बताउँछिन् । उनले भनिन्, ‘मन्दिरका पुजारीले रोक्नुहुन्न, उहाँले पूजा गराइदिनु हुन्छ । तर, अन्य स्थानीयले रोक्छन् ।’
अहिलेको युगमा स्ट्रेचरसमेत छुइने अवस्था रहनु दुर्भाग्य भएको बताउँछन् अधिकारकर्मी अधिराज बीसी । उनी भन्छन्, ‘जिल्ला सदरमुकाम क्षेत्रमै त यस्तो अवस्था छ भने गाउँतिरको अवस्था कस्तो होला ?’
यस्ता व्यक्तिहरुमाथि तुरुन्तै कारबाही हुनुपर्ने उनको माग छ । ‘हामीले लामो समयदेखि सामाजिक विभेदको अन्त्य गर्न आन्दोलन गर्दै आयौं’, सम विकास केन्द्रका अध्यक्ष बीसी भन्छन्, ‘तर, अहिलेसम्म पनि यस्ता अमानवीय घटनाहरु भइरहेका छन् ।’
उनले यस्ता घटना न्यून गर्नु नगरपालिकाको पनि जिम्मेवारी रहेको बताए ।
स्ट्रेचरसमेत नदिनु अमानवीय क्रियाकलाप भएको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशी बताउँछन् । उनी भन्छन्, ‘यस्ता मान्छेहरुलाई कानूनी दायरामा ल्याउनु जरुरी छ ।’
नगरपालिकाभित्रै यस्ता घटना हुनु दुःखद भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचीकार बताउँछन् । उनले जातीय छुवाछूत रोक्न कानूनी लडाइँ लड्न आवश्यक रहेको बताए ।
जातीय छुवाछूत र लैङ्गिक हिंसा रोकथामका लागि नगरपालिकाले ठोस योजना बनाइ सञ्चालन गर्ने दिपायल सिलगढी नगरपालिका उपप्रमुख कलावती महर साउदले बताइन् ।
उनले भनिन्, ‘अहिले पनि समाजमा विभिन्न विभेद र लैङ्गिक हिंसाका घटना भइरहेका छन्, यसविरुद्ध सरोकारवाला सबै सक्रिय हुनु जरुरी छ ।’