शुल्कवृद्धिप्रति एनसीसीका विद्यार्थीको असन्तुष्टि, विरोध गर्नेलाई क्याम्पस प्रशासनले धम्की दिएको गुनासो – Nepal Press

शुल्कवृद्धिप्रति एनसीसीका विद्यार्थीको असन्तुष्टि, विरोध गर्नेलाई क्याम्पस प्रशासनले धम्की दिएको गुनासो

काठमाडौं । नेपाल कमर्स क्याम्पसले मनलाग्दी ढंगले स्नातक तहको शुल्क बढाएको भन्दै विद्यार्थीले गुनासो गरेका छन् । गत आर्थिक वर्षमा बीबीए, बीबीएम, बीआईएम र बीबीए फाइनान्स संकायमा भर्ना भएका विद्यार्थीको शुल्क चार लाखबाट बढाएर चार लाख ३५ हजार पुर्‍याएपछि विद्यार्थीले असन्तुष्टि जनाएका हुन् ।

यसअघि भर्ना भएर दोस्रो सेमेस्टर पुगेका विद्यार्थीले ४६ हजार रूपैयाँ तिर्नुपर्नेमा शुल्क बढाएसँगै अहिले ५२ हजार एक सय तिनुपर्ने भएको छ । विद्यार्थीले अनियमितरूपमा शुल्क बढाएको भन्दै शुक्रबार विरोध जनाएपछि क्याम्पस प्रशासनले आश्वासन दिएकोमा अहिले भने विभागीय प्रमुखले विरोध गर्नेलाई विभिन्न धम्की दिन थालेको पीडित विद्यार्थीले बताए । उनीहरूले आफ्नो नाम भने नखुलाउन अनुरोध गरेका छन् ।

विभागीय प्रमुखले विद्यार्थीलाई शुल्क तिर्न नसके अर्को क्याम्पसमा ट्रान्सफर गरेर जान जवाफ दिएका एक विद्यार्थी बताउँछन् ।

‘क्याम्पसमा कुनै पनि सेवा-सुविधा छैन । शुल्कमात्रै बढाइन्छ । हामीलाई भर्ना गर्दा तीन लाख ९५ हजार रूपैयाँमात्रै तिर्नुपर्ने भनिएको थियो । तर, अहिले आएर यसरी शुल्क बढाएपछि हामीजस्तो गरिबको छोराछोरीले कसरी तिर्ने ?’, उनी भन्छन् ।

बजारमा सबै सामग्रीको मूल्य बढिरहेका बेला क्याम्पसको शुल्क बढ्नु सामान्य भएको बीबीएम संकायकी प्रमुख आस्था कार्कीको तर्क छ ।

उनले नेपाल प्रेससँग भनिन्, ‘बजार भाउ बढेको छ । क्याम्पसको पनि त्यही हो । टीयूले तोकेको शुल्कमा क्याम्पस आफैंले निर्णय गरेर बढाउन सक्छ ।’

बीबीए संकायमा अध्यनरत एक विद्यार्थी आफूहरूलाई प्रमाणपत्र तलमाथि हुनसक्ने भन्दै क्याम्पस प्रशासनले धम्की दिएको बताउँछन् । बीबीए फाइनान्स संकायमा अध्यनरत अर्की एक छात्रा भन्छिन्, ‘दोस्रो सेमेस्टरमा शुल्क बढाएको छ । भोलि झन बढाउँदै लैजान्छ । कुरा उठाउँदा हामी मिलाउँछौं मात्रै भन्छ । अहिले बढाएको शुल्कका अलावमा टीयूले ९५ प्रतिशतसम्म तोकेको छात्रवृत्तिमा क्याम्पसले ३५ प्रतिशत तिर्न लगाएर ६५ प्रतिशत छावृत्ति बाँडिरहेको छ ।’

दुई दिनदेखि सबै संकायका विद्यार्थीले शुल्कवृद्धिको विरोध गरिरहेका छन् । विभागीय प्रमुखले उल्टै धम्क्याउने र त्रास देखाउने काम गरिरहेको उनीहरूको भनाइ छ ।

अर्की छात्राले भनिन्, ‘क्यापसले प्रत्येक वर्ष स्वास्थ्य शुल्क भनेर पैसा लिन्छ, तर एउटा प्याडसमेत छैन । सबैले पैसा खाने भाँडो बनाएका छन् क्याम्पसलाई ।’

चार वर्षे स्नातक तहको शुल्क वृद्धिबारे क्याम्पस प्रमुख भने मौन रहेको उनीहरूको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर