माओवादीसहितको चार दलीय समाजवादी मोर्चा मधेशले गौर हत्याकाण्ड मुद्दा खारेजको माग गर्ने
जनकपुरधाम । चार दलीय समाजवादी मोर्चा मधेश प्रदेशले गौर हत्याकाण्डको मुद्दा खारेज गर्नुपर्नेसहितका मुद्दा बोक्ने भएको छ ।
जनकपुरधाममा आज बसेको मोर्चाको पहिलो बैठकमा गौर घटना राजनीतिक मुद्दा भएकोले खारेज गर्नुपर्ने र त्यसका लागि आवाज उठाउने सहमति भएको हो ।
गौर घटना र अन्य राजनीतिक घटनामा चलाएको झुटा मुद्दाहरू पनि खारेजी गर्नुपर्ने माग गर्ने विषयमा छलफल भएको मोर्चाका संयोजक तथा जसपा नेता लालबाबु राउतले जानकारी दिए ।
गौर हत्याकाण्डका मुख्य आरोपी जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई बनाएको छ । यो मुद्दामा संलग्न सबैमाथि कारबाहीको माग पीडितहरूले गरेको र सरकार समेत माग पुरा गर्ने सम्झौता गरेपछि जसपा अध्यक्ष यादव डराएका छन् ।
गौर हत्याकाण्ड घटनाबाट अध्यक्ष यादवलाई जोगाउन जसपा मधेशमा गतिविधि बढाएको छ । मोर्चाको संयोजक जसपाकै नेता राउत भएकोले नै गौर हत्याकाण्ड मुद्दा खारेजको मुद्दा बोक्न तीन दललाई सहमत गराएका छन् ।
मोर्चामा नेकपा माओवादी केन्द्रको तर्फबाट लीलामणि पोखरेल प्रतिनिधित्व गर्छन् । यस्तै नेकपा एसका धर्मनाथ साह र नेकपा विप्लव माओवादीबाट त्रिलोक सी पनि मोर्चाका सदस्य छन् ।
गौर हत्याकाण्डमा माओवादीकै बढी कार्यकर्ताहरू मारिएका थिए । यद्यपि माओवादी गौर हत्याकाण्ड मुद्दा खारेज गर्नुपर्नेमा सहमत भएका छन् । तर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
आज बसेको मोर्चाको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने आधारभूत ऐन कानुनहरूको निर्माण तथा कार्यान्वयन गर्न/गराउन संघीय सरकारसँग माग गर्ने पनि निर्णय गरेको छ ।
यस्तै प्रहरी समायोजन र जनसंख्याको आधारमा प्रदेशलाई बजेट विनियोजन गर्न माग गर्ने पनि निर्णय गरिएको मोर्चाका संयोजक राउतले बताए ।