गीत समीक्षा : सपूत-समीक्षाको सुन्दर ‘जालीरुमाल’ मा एउटा दाग
काठमाडौं । दुई वर्षअघिको सुपरहिट गीत ‘कुरा बुझ्न पर्च’ को सिक्वेलका रूपमा गायक प्रकाश सपूतले ल्याएका छन्, ‘जाली रुमाल फाट्यो ।’ रिलिज भएको २४ घण्टाभित्रै टप ट्रेन्डिङमा उक्लिएर यो गीतले पनि ‘हिट’ को पगरी गुथिसकेको छ ।
सपूतको कुनै पनि गीत दर्शक/श्रोताले मन पराउनु र चल्नु अनौठो कुरा भएन । तर, आजकाल चाहिँ उनको गीत आएसँगै यसले के कन्ट्रोभर्सी ल्याउने हो भनेर प्रतीक्षा गर्न थालिएको छ । सपूत पनि कन्ट्रोभर्सीका निम्ति कुनै न कुनै मसला दिइहाल्छन् । तथापि, उनको सिर्जनात्मक शक्ति भने दिनप्रतिदिन निखारिँदो छ ।
हुन त यो जबरजस्ती बनाइएको सिक्वेल हो । ‘कुरा बुझ्न पर्च’ को भिडिओले कुनै सिक्वेलको माग गर्दैन । महिला सशक्तीकरणको अवधारणा बनेको उक्त गीतको सिक्वेललाई भने जातीयता र छुवाछुततर्फ मोडिएको छ । एउटा ब्राम्हण पुरुष र दलित युवतीसँग प्रेम हुन्छ र शारीरिक सम्बन्ध रहन्छ । युवती गर्भवती बन्छिन् । तर, परिवारले जातको कारण देखाएर भाँजो हालेपछि पुरुष युवतीसँग टाढिन्छ । युवतीले कानूनी उपचारको खोजी गर्छिन् । तर, उनको हत्या गरिन्छ । गीतको भिडिओले बोलेको कथा हो यो ।
समय बदलिए पनि जातीय छुवाछुतको अवशेष हाम्रो समाजबाट निमिट्यान्न भइसकेको छैन । आज पनि कथित उच्च जातको परिवारले कथित निम्न जातको परिवारसँग वैवाहिक साइनो गाँसिहाल्न चाहँदैनन् । यतिसम्म गीतले यथार्थ बोलेको छ । दलित परिवारसँग पैसाको सौदा गर्न खोजिएको सन्दर्भ पनि । तर, युवतीलाई घरमा बोलाएर बन्दुक ताकिएको र जंगलमा लखेटेर हत्या गरेको देखाइनु चाहिँ अतिरञ्जना हो । फिल्मीकरण हो । एउटा यथार्थवादी गीतलाई यति फिल्मी नबनाएको भए बढी उद्देश्यमूलक हुन सक्थ्यो ।
एउटा गीतको रूपमा ‘जाली रुमाल फाट्यो’ पहिलो पटक सुन्दा नै जोकोहीको मनमा पस्न सक्छ । शब्द, संगीत र स्वर तीनवटै पक्षमा बलियो छ गीत । प्रकाश सपूत आफैँले शब्द र संगीत सिर्जना गरेका हुन् । गीतको भाका ‘कुरा बुझ्न पर्च’ सँग मिल्दोजुल्दो भएकाले पनि यसमा भिज्न समय लाग्दैन ।
यो गीतले सबैभन्दा ठूलो फाइदा गायिका समीक्षा अधिकारीलाई हुन सक्छ । पल शाह प्रकरणपछि धर्मराएको करिअरलाई लयमा फर्काउन प्रयासरत उनी एउटा हिट गीतको खोजीमा थिइन् । दिनहुँ ६–७ वटा गीत रेकर्ड गराइरहे पनि कुनै पनि गीतले बजार तताउन सकिरहेका थिएनन् । निकै लामो समयपछि उनको गीत टप ट्रेन्डिङमा आयो । यो गीतले फेरि समीक्षालाई ‘लिडिङ फिमेल सिंगर’ को पंङ्तिमा उभ्याउन सफल हुने आशा राख्न सकिन्छ ।
एकदमै जीवन्त र बुलन्द स्वरकी धनी हुन् समीक्षा । तर, पछिल्लो चरणमा आएका गीतहरू सुन्दा उनको गायिकीमा केही परिवर्तन आएको महसुस हुन्छ । पहिले उनको आवाजमा जुन ताजापन थियो, त्यो कतै हराएकोजस्तो लाग्छ । उमेरजन्य कारणले आएको बदलाव हो वा उनले आवश्यकताभन्दा बढी ‘इफोर्ट’ लगाएकी हुन्, आवाज बढी मसिनो र तिखो सुनिन्छ । पहिलेजस्तो धक फुकाएर गाउन सकिरहेकी छैनन् । उनले आफ्नो आवाजलाई खुल्ला छाडिदिएर गाउँदा नै बढी मिठो सुनिन्छ ।
गीतको भिडिओ पुरै प्रकाश सपूतको कलेवरमा छ । उनले आफ्नै शैलीमा कथा र संवाद हालेर भिडियोलाई फिल्मजस्तो बनाएका छन् । जातीय छुवाछुतविरुद्ध सन्देश दिन खोजेका छन् । सपूतले जातीय छुवाछुतविरुद्ध ‘ब्याक टु ब्याक’ दोस्रो गीत ल्याएका हुन् । बारम्बार एउटै अवधारणामा गीत गाइरहँदा भने दर्शक मोनोटोनस हुनसक्ने खतरा पनि छ ।
भिडिओमा नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माले मूख्य भूमिकामा अभिनय गरेका छन् । मेनस्ट्रिमका नायिकाहरूको उपस्थितिले भिडियोलाई अवश्य पनि ‘सम्पन्न’ बनाएको छ । ‘कुरा बुझ्नु पर्च’मा यो जोडीको केमेस्ट्री हिट भएको थियो । यसमा पनि उनीहरूले आ–आफ्नो ठाउँबाट न्याय गरेका छन् । प्रहरी युनिफर्म स्वस्तिमालाई खुबै सुहाएको छ ।
गीतको भिडिओमा कतै प्रश्न उठाउने ठाउँ छ भने त्यो हो ‘इन्डिङ’ । गीत सकिएपछि प्रकाश सपुत र स्वस्तिमाले बोलेको भद्दा संवाद कथाको ‘डिमान्ड’ थियो र ? उनले अनावश्यकरुपमा नायिकालाई एउटा भल्गर शब्द बोल्न लगाएका छन् । आफूले पनि ‘अनुचित’ संवाद बोलेका छन् । सुन्दर जालीरुमालमा झिँगा बसेझैं भएको छ । सपुतले गीतलाई चर्चामा ल्याउन सस्तो हत्कण्डा प्रयोग गरेको आरोप लागेको छ ।
यो स्तरको गायकलाई हिट हुन वास्तवमा कुनै ‘कन्ट्रोभर्सी’को सहारा लिइराख्नुपर्ने होइन । उनका सिर्जना नै पर्याप्त छन् । आफ्नो सिर्जनात्मक शक्तिमा विश्वास गर्दै उनले आगामी दिनमा सकेसम्म कन्ट्रोभर्सीबाट टाढा रहनु श्रेयष्कर हुन्छ ।
गीतको सुरुमा, बीच–बीचमा र अन्त्यमा संवाद राख्ने शैलीमाथि पनि उनले समीक्षा गर्न आवश्यक छ । गीत भनेको खासमा गीत मात्रै हुनुपर्छ । बीच–बीचमा संवाद राख्नु भनेको संगीतप्रेमीलाई झिँजो गराइदिनु हो । मिठो धेरैपटक सुन्दा पनि अघाइँदैन, तर संवाद एकपटक सुनेपछि पुग्छ । गीतका लागि बारम्बार संवाद पनि सुनिरहनुपर्दा यातना हुन्छ ।
–चिरञ्जीवी पौडेल
एउटा ब्राम्हण पुरुष र दलित युवतीसँग प्रेम हुन्छ र शारीरिक सम्बन्ध रहन्छ । शेर बहादुर दाहाल कसरी ब्राम्हण पुरुष भएछन् ? चिरञ्जीवी पौडेलको Article बिझायो त?