हृदयघातको प्राथमिक उपचार के हो ? जनचेतनामा सरकारी पहल आवश्यक
हृदयघात भनेको मुटुको मुख्य नसाहरू विविध कारणले बन्द भएर मुटुमा आवश्यक रगत पुग्न नसकेर मुटुले काम गर्न छोड्नु हो ।
उमेर बढ्दै गएपछि मुटुको नसाहरूमा बोसोजस्ता वस्तु थुप्रदै जान्छ र नसाहरू बिस्तारै साङ्गुरिदै जान्छ । ७० प्रतिशतभन्दा बढी नसा बन्द भए पश्चात् छाती दुख्ने र हृदयघात हुने गर्दछ ।
नेपालको सन्दर्भमा विगत केही वर्षदेखि हृदयघात बढ्दै गइरहेको छ । २१ औं शताब्दीमा प्रविधिको निकै धेरै विकास र रोगहरूबारे विश्वस्तरमै धेरै अध्ययन भइसक्दा पनि हृदयघात बढदो क्रममा किन छ त ?
बढदो उमेर, मोटोपना, चुरोट सेवन, रक्सी सेवन, रातो मासुको सेवन, चिल्लो खाना, मधुमेहका बिरामी, रक्तस्रावका बिरामी, अनियमित बयाम, अटो इमिउन रोगजस्ता कुराहरूले हृदयघातको सम्भावना बढाउँछ ।
प्रायजस्तो, हृदयघात भएका बिरामीहरूमा अचानक छाती दुख्ने हुन्छ । यो दुखाइ पाखुरा हुँदै हातसम्म, माथि घाँटी हुँदै जबडासम्म सर्ने गर्छ, पेट हुँदै पछाडि ढाडसम्म सरेर जानसक्छ ।
कहिलेकाहीँ त हृदयघात हुने बिरामीमा छाती नदुख्न नि सक्छ, यो एकदम कम प्रतिशत बिरामीमा हुने गर्छ । र, यो खतरनाक पनि हुन्छ ।
सामान्यता, हाम्रोजस्ता मुलुकमा ग्रामीणतिर बसोबास गरिरहनुभएका बिरामीमा छाती दुख्न सुरुवात भएपश्चात् अस्पताल लग्न निकै धेरै घन्टादेखि दिनसम्म लाग्न सक्छ, र यस अवधिमा बिरामीको निधन भइसकेको हुन्छ ।
ग्रामीणतिरका बिरामीमा बन्द भएका मुटुका नसाहरूलाई खुल्ला बनाउने प्रविधि र विशिष्ट चिकित्सकको कमीले गर्दा बिरामी बचाउने सम्भावना घटेर जान्छ । हामी चिकित्सकले मुटुको रक्तसञ्चार पुन: खुलाउने प्रक्रिया एकदम छोटो समयमा गरिसक्नु पर्छ ।
शहर बजारमा आधुनिक प्रविधि र विशिष्ट चिकित्सकको उपलब्धता सहज हुन्छ, त्यसपश्चात पनि शहरमा हृदयघात भएका बिरामीको मृत्युदर बढदो क्रममै छ । समान्यतयता छाती दुख्न सुरुवात भए पछाडि एम्बुलेन्स बोलाउनदेखि बिरामीलाई अस्पताल लग्ने समय १ देखि २ घन्टा लाग्न सक्छ र त्यस पछाडि बल्ल उपचार सुरू हुन्छ र यो १-२ घन्टाको समय एकदम महत्वपूर्ण समय हो । यो समयलाई यत्तिकै खेर नफ्यालौं ।
नेपाल सरकार स्वास्थ मन्त्रालयद्वारा हृदयघातसम्बन्धी विशेष नीति बनाउन पर्ने मैले देखेको छु । बिरामीलाई छाती दुख्न साथ घरमै प्राथमिक उपचार गर्न मिल्ने खालको स्वस्थ्य नीति निर्माण गर्न सरकारले पहल गर्नपर्छ । र, यो सम्भव पनि छ । ग्रामीण छेत्रतिर हामीले स्वस्थचौकी तथा प्राथमिक स्वस्थ केन्द्रमा हृदयघातको लक्षण लिएर आउनु भएको बिरामीहरूलाई `अस्पिरिन´ भन्ने चक्की दिने गर्दछौं र बाँकी उपचारका निम्ति ठूला अस्पतालमा रिफर गर्छौं ।
एउटा यो सानो चक्कीले बिरामीको मुटुमा पुन: केही अवधिसम्म रक्तसञ्चालन गराउन मद्दत गर्छ र बिरामी ठूला अस्पताल नपुगुञ्जेलसम्मको अवधिसम्म ज्यान जोगाउन सक्छ ।
मेरो धारणामा नेपाल सरकार स्वास्थ मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरूका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र हृदयघात भएका बिरामीहरूका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सक्रिय भएर लाग्नु पर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँ-गाउँसम्म जनचेतना फैलाउन सक्नु पर्छ ।
अन्त्यमा म फेरि सम्पूर्ण नेपालीमा स्वास्थसँग खेलवाड नगर्न र ‘स्वास्थ नै ठूलो धन हो’ भन्ने वाक्यांशलाई स्मरण गराउन चाहन्छु ।
(डा. सिंह चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगञ्ज मेडिकल क्याम्पस त्रिवि शिक्षण अस्पतालका स्ववियु सभापतिसमेत हुन् ।)