धरानकाे घन्टाघरमा सुत्ने सुकुमबासी राजा- हर्कले कामबाट निकाले, फेरि राखे (भिडिओ)
धरान । ‘मेरो नाम राजा सुब्बा हो । नागरिकतामा भने नरबहादुर सुब्बा छ ।’
धरानको घण्टाघरभित्र भेटिएका राजा सुब्बा ६४ वर्षका भए । उनले २३ वर्ष त घण्टाघरमै बिताए । उनको आँखाबाटै ६ दशकको धरानको उतारचढाव राम्रोसँग नियाल्न सकिन्छ ।
ससाना टहरा हुँदै स्वप्निल शहरमा परिणत धरान अहिले कसरी रित्तो शहर हुँदैछ ? भानुचोकमा घण्टाघर वरिपरि नै हुर्किएका राजालाई सबथोक थाहा छ । लाहुरे बन्ने धोको पूरा गर्ने युवाहरुको हुल र रंगीविरंगी फेसनमा टाँठिएकी युवतीहरुको हुल कसरी एकाएक भानुचोकबाट अलप भयो ? राजाले राम्रोसँग नियालेका छन् । धरान शहरभरिका लाहुरेका घरहरु कसरी रित्ता हुँदै गए ? बेलायत पलायन भएका लाहुरेका घरको रित्तोपनबारे राजालाई थाहा नहुने कुरै भएन ।
धरान शहर छाडेर जानेहरुले फेसन पनि लिएर गए । रोमाञ्चकता लिएर गए । रित्ता घरहरु छाडेर गए । पूर्वका अधिकांश जिल्लामा सडक पुगेपछि नूनतेल लिन आउनेहरु पनि गाउँगाउँमै अड्किए । धरान सुनसान हुँदै गयो । हिजो जस्तो चमकधमक पनि रहेन धरानको । तर, छाडेर जानेहरुबीच राजा एक्ला हुन्, जसले धरान छाडेनन् ।
राजाको नियतिले पनि धरान छाड्न दिएन । राजाको दुःखले पनि धरान छाड्न दिएन र घण्टाघरको छतमा बसेर जानेहरु सबैलाई बिदाइ गरिरहे ।
भिडिओ
राजाको पुर्ख्यौली घर ताप्लेजुङ हो । अनि ताप्लेजुङको कुन ठाउँ ? राजालाई थाहा छैन । राजा त धरानमै जन्मिए, यही हुर्किए ।
१४ वर्षको उमेरमा उनले ३ महिनाको फरकमा बाबुआमा गुमाए । बाबु फागुनमा बिते, आमा बैशाखमा । राजाकै शब्दमा भन्ने हो भने ‘बाउआमाको मरण सती जस्तै भयो ।’
राजाको धरानमा एक टुक्रो जमिन थिएन । कहिले कहाँ बसे, कहिले कहाँ । जमिन त अहिले पनि छैन । २०५७ सालमा तत्कालीन मेयर मनोजकुमार मेन्याङ्बोको संयोजकत्वमा भानुचोकमा घण्टाघर बनाउने काम सुरु भयो । सडक बनाउने प्रोजेक्टमा काम गरेका राजा प्रोजेक्ट सकिएपछि बेरोजगार बसेका थिए ।
राजा सम्झन्छन्, ‘एकजना सुरेन्द्र दाइ हुनुहुन्थ्यो । मैले म माली भए पनि काम गर्छु भनें । मनोज सरलाई पनि लोकल मान्छे चाहिएको रहेछ । अनि उहाँले मलाई मालीमा नियुक्ति दिनुभयो ।’
दैनिक सय रुपैयाँ हाजिरामा राजा मालीमा नियुक्त भए । त्यसवेला घण्टाघर बन्दै थियो । राजा माली थिए । तर, घण्टाघरको निर्माणमा पनि खटिए । रातको १२ बजेसम्म काम गरे । दिनभरि मालीको काम गर्थे । राति फलैंचा र पेटी बनाउने काम गर्थे । घण्टाघरको छेउतिर हिलैहिलो थियो । त्यहाँ तीनचार फिट खनेर सोलिङ हाल्थे ।
२०६२ सालमा घण्टाघर बन्यो ।
२०६२/६३ को जनआन्दोलनपश्चात् देशमा राजा हटे । धरानमा राजाले मालीको रुपमा आधिकारिक नियुक्ति पाए । महिनाको तीन हजार तलब थियो । तीनचार वर्षपछि चौकीदारको रुपमा काम गर्न थाले । आफ्नै जीवनको गोडमेल गर्न बिर्सिएका राजा दिनभरि फूलहरुको गोडमेल गर्थे । आफ्नै जीवनको चौकीदारी गर्न बिर्सिएका राजा रातभर घण्टाघरको चौकीदारी गर्थे ।
घण्टाघर छेवैमा २०४५ सालको भूकम्पमा मरेकाहरुको स्मृति पार्क पनि छ । भूकम्पले धरानमा ११६ जनाको मृत्यु भएको थियो । पाँच सयभन्दा ज्यादा मान्छे घाइते भएका थिए । त्यो भूकम्पले ल्याएको विपत्ति राजाको आँखामा अझै तजोताजा छ ।
उनी सुनाउँछन्, ‘यहाँ त लासैलास थियो । अस्पतालमा लासैलास थियो ।’
तिनै मरेकाहरुको सम्झनामा बनेको स्मृतिपार्कका फूलहरु फुलाउने काम पनि राजाकै हो । फूलहरु गोडमेल गर्ने काम पनि उनकै हो । फूल चुँड्न आउनेहरुलाई ‘नचुड्नू’ भन्ने काम पनि राजाकै हो ।
राजाले विवाह गरेनन्, घरबार जोडेनन् । बाबुआमा बितेपछि एक्लो भएका राजा अहिले पनि एक्ला नै छन् । आफन्तका नाममा केही साथीभाइ छन् । घण्टाघर छेवैमा छेडुप छिरिङको होटेल छ । त्यहाँ सघाउँछन् । वेलावेला रासन किन्ने पैसा पनि दिन्छन् । बिहान र बेलुकाको भात त्यही खान्छन् ।
अहिले पनि सेहेँ आउँछन् भनेर राति मान्छेहरु घण्टाघर छिर्न डराउँछन् । तर, राजा भने छेडुपकहाँ भात भएपछि घण्टाघरमै सुत्छन् । त्यस्ता सेहेँहरुलाई राजाले किशोरकालमै पचाएका थिए । त्यसवेला धरानमा हिन्दी फिल्म खुबै चल्थ्यो । समी कपुरको ‘जानवार’ फिल्म पनि चलाइएको थियो ।
नौ बजेको शो राति १२ बजे सकिन्थ्यो । त्यसवेला धरानमा ढुंगे रेल चल्थ्यो । धरानबाट ढुंगा ओसारेर भीमनगर लैजान्थ्यो । राति सर्दुखोलाबाट ढुंगा लिएर आएका गाडी कुरेर बस्थे । मान्छेहरु ‘चुडेल आउँछ’ भन्ने ठाउँ पार गर्न ढुंगा बोकेर आएको गाडीको पछाडि च्याप्प समातेर आँखा चिम्म गरेर झुण्डिन्थे । तल खहरेको पुल नपुगेसम्म झुण्डिरहन्थे ।
त्यसवेलै मान्छेले भन्ने गरेका ‘भूत’लाई पचाएका राजा एक्लै सुत्थे घण्टाघरमा । तर, केही समयअघि उनले आफ्नो ओछ्यान सार्नुप¥यो । घण्टाघरमा सुत्न नपाउने भए । उनको जागिर खोसियो । उपमहानगरका मेयर हर्क साम्पाङले उमेर हदको कारण देखाउँदै राजालाई चौकीदारको कामबाट बिदा दिए ।
मेयर साम्पाङको त्यो निर्णयले राजाको सबथोक खोसियो । ‘मेरो घरबार छैन । बैंक ब्यालेन्स पनि छैन । पैसा जोगाउन सकिएन । म जाँडरक्सी पनि खाँदिनँ । जुवातास पनि खेल्दिनँ । तर, पैसा जोगिएन । न मेरो कोही छ । म बाँच्ने आधार त चाहियो नि ! यो उमेरमा मलाई कसैले जागिर पनि दिँदैन । वृद्धभत्ता पनि मैले पाउँदिनँ’, जागिरबाट निकालिएको समय सम्झन्छन् राजा, ‘यो घण्टाघरमा मेरो रगतपसिना बगेको छ । मलाई यो ठाउँभन्दा प्यारो ठाउँ नै अर्को लाग्दैन । घण्टाघर मलाई घर जस्तै लाग्छ । त्यस्तो ठाउँबाट निकालिँदा चित्त त दुःख्छ नि !’
राजालाई जागिरबाट निकालेपछि धरानमा हल्लीखल्ली भयो । राजालाई नचिन्ने कोही पनि छैनन् धरानमा । राजाले न कसैलाई बिझाएका छन्, न कसैलाई पेच पर्ने गरी बोलेका छन् न त कसैसँग झगडा नै गरेका छन् ।
जागिरबाट निकालिएपछि केही स्थानीय मेयर साम्पाङकहाँ गए । राजाको कोहीकेही नभएको र मानवीयताको दृष्टिले पनि निकाल्न नमिल्ने बताए । सुरुमा आफ्नो निर्णयमा खरो उत्रिएका साम्पाङले पछि राजालाई हटाउने निर्णय सच्याए । राजाले एक वर्षसम्म काम गर्न पाउने भए ।
राजा खुशी सुनिन्छन्, ‘म अझै काम गर्न सक्छु । साँच्चिकै सक्छु पनि । मलाई मैले सके जति काम दिनुस् भनेर मेयर सापलाई भनेको थिएँ । अहिले एक वर्षको कन्ट्र्याक्ट गरिदिनुभएको छ ।’
अनि मेयर साम्पाङ चाहिँ राजालाई कस्तो लाग्छ त ?
राजा भन्छन्, ‘मेयरले राम्रै गर्नुभएको छ । कतिपय कुरा सबैलाई चित्त बुझाउन सकिँदैन । अब नगर पिता भएपछि भारहरु बढी हुन्छ । उहाँलाई बोझ परिरहेको छ ।’
राजालाई घण्टाघरमा एक वर्षमात्रै होइन, सकिन्जेल काम गर्न मन छ । आफू बाँच्ने आधार पनि हुन्छ जस्तो लाग्छ । एक वर्षपछि सम्झौता सकिएपछि के होला, राजाले सोच्न सकेका छैनन् । आउँदा दिनहरु आँधीहुरीमय मात्रै देखिरहेका छन् ।
उनी थप्छन्, ‘जागिरबाट निकालिँदा एक खालको तनाव भयो । मलाई निकै पीडा भयो । कसलाई के भन्ने ? अब के गर्ने ? मेयर सापलाई भनिदिनुस् भनेर मान्छेहरुलाई भनें । मलाई फेरि नियुक्ति दिनुभयो, मेयर सापलाई धेरै धेरै धन्यवाद ! मर्ने अवस्थाबाट बाँच्ने अवस्थामा पुर्याइदिनु भयो, धेरै धेरै धन्यवाद छ ।’