एसिया कपको फाइनलमा भारतको प्रतिद्वन्द्वी पाकिस्तान कि श्रीलंका ? यस्तो छ हिसाबकिताब
काठमाडौं । श्रीलंकामा जारी एसिया कपको फाइनलमा भारतले स्थान बनाउँदा अर्को टीमको निधो भइसकेको छैन । पाकिस्तान र श्रीलंकामध्ये एक टीमले फाइनलमा भारतसँग भिड्ने भने निश्चित छ ।
सुपर ४ मा पाकिस्तान र श्रीलंकाविरुद्ध जीत हासिल गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो । अब उसले सुपर ४ मा बंगलादेशविरुद्ध खेल्ने अन्तिम खेल औपचारिकतामात्रै हुनेछ । बंगलादेश फाइनलमा उक्लिने सम्भावना बन्द भइसकेको छ । यस्तोमा श्रीलंका र पाकिस्तानबीचको म्याच सेमिफाइनलसरह हुनेछ ।
सुपर ४ मा पुगेका ४ टीमहरुको स्थिति हेरौं :
भारत
प्वाइन्ट : ४
नेट रनरेट : २.६९०
खेल्न बाँकी टीम : बंगलादेश (सेप्टेम्बर १५)
सात पटकको एसिया कप विजेता भारत आठौं पटक उपाधि उचाल्ने अभियानमा छ । प्रतियोगितामा भारतीय ब्याट्सम्यान र बलरहरु उच्च लयमा देखिएका छन् ।
कप्तान रोहित शर्मा जारी प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनको ब्याटबाट ४ इनिङमा १९४ रन निस्किसकेको छ । बलिङतर्फ पनि भारतकै कुलदीप यादव अग्रस्थानमा छन् । उनले तीन म्याचमा ९ विकेट लिइसकेका छन् । नेपालविरुद्धको म्याचमा भने उनी विकेटविहीन बनेका थिए ।
भारत अविजित रहेर फाइनलमा भिड्न चाहन्छ । उसले अन्तिम खेल बंगलादेशविरुद्ध सेप्टेम्बर १५ मा खेल्नेछ । भारतको अर्को आँखा पाकिस्तान र श्रीलंकाबीचको खेलमा हुनेछ । उसले उपाधिका लागि यी दुईमध्ये एक टीमलाई फाइनलमा पन्छाउनुपर्ने हुन्छ ।
श्रीलंका
प्वाइन्ट : २
नेट रनरेट : -०.२००
बाँकी म्याच : पाकिस्तानसँग (१४ सेप्टेम्बर)
श्रीलंका एसिया कपको साविक विजेता हो । ऊ घरेलु मैदानमा उपाधि रक्षा गर्ने लक्ष्यसहित प्रतिस्पर्धामा छ ।
भारतविरुद्धको हारले श्रीलंकालाई धक्का लाग्यो । भारतले दिएको सानो लक्ष्य पनि पछ्याउन नसक्दा चुक्चुकाइरहेको श्रीलंका अब पाकिस्तानसँग गर वा मरको संघर्षमा हुनेछ ।
भोलिको गणित स्पष्ट छ । पाकिस्तान र श्रीलंकामध्ये जसले जित्छ, त्यही फाइनलमा जान्छ । तर, रंगशाला क्षेत्रमा वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । यो म्याचका लागि अर्को डिजर्भ डे छैन । त्यसैले यदि वर्षाका कारण खेल हुन सकेन र अंक बाँड्नुपर्ने भयो भने श्रीलंका फाइदामा हुनेछ । उसको नेट रनरेट पाकिस्तानको भन्दा बढी छ ।
यसैगरी म्याच बराबरीमा सकियो भने पनि श्रीलंकाले फाइनलमा स्थान बनाउने छ र पाकिस्तान घर फर्किने छ । यसो हुँदा भारत-पाकिस्तान फाइनल हेर्न आतुर दर्शकहरु निराश बन्न सक्छन् ।
पाकिस्तान
प्वाइन्ट : २
नेट रनरेट : -१.८९२
बाँकी म्याच : श्रीलंका (सेप्टेम्बर १४)
पाकिस्तान भोलि श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा छ । म्याचमा पराजय भोगेको, रद्द भएको वा बराबरी भएको अवस्थामा पाकिस्तान घर फर्किनुपर्ने हुन्छ ।
भारतविरुद्धको हार पाकिस्तानका लागि निकै निराशाजनक रह्यो । पाकिस्तानको धारिलो बलिङ भारतविरुद्ध चल्न सकेन । यसले टीमको आत्मविश्वास केही खस्केको छ । त्यसमाथि दुई प्रमुख फास्ट बलर घाइते भएका छन् । यदि श्रीलंकालाई जितेर पाकिस्तानले फाइनलमा स्थान बनायो भने उपाधि भिडन्त रोचक बन्नसक्छ ।
बंगलादेश
प्वाइन्ट :०
नेट रनरेट : -०.७४९
बाँकी म्याच : भारत (सेप्टेम्बर १५)
भारतले मंगलबार श्रीलंकालाई हराएसँगै बंगलादेश प्रतिस्पर्धाबाट बाहिरिएको छ । भारतविरुद्धको अन्तिम खेल टीमका लागि प्रतिष्ठाको विषयमात्र रहनेछ ।
बंगलादेशले प्रतियोगितामा केवल एक जीत हासिल गर्यो । भारतविरुद्ध जीत दर्ता गरेर आउँदो एक दिवसीय विश्वकप अगाडि हौसला बुलन्द बनाउन चाहन्छ बंगलादेश । तर, उच्च लयमा रहेको भारतलाई घुँडा टेकाउन त्यति सजिलो छैन ।