सुवास नेम्वाङलाई छोराहरूले दिए दागबत्ती
काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई छोराहरुले दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन् ।
नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे ।
दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो ।
नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।
नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।