किंवदन्तीको गोसाईंकुण्डसँग यात्रीको साइनो – Nepal Press
नियात्रा

किंवदन्तीको गोसाईंकुण्डसँग यात्रीको साइनो

हुन त म जन्मको हिसाबले रामेछापको पहाडी गाउँ, सुनापाती गाउँपालिका (तत्कालिन गुन्सी भदौरे गाविस) मा जन्मेको मान्छे । हुर्काइ, बढाइ, पढाइ र भोगाइको कुरा गर्नु पर्दा मेरो आधाआधी जीवनको सर्वस्व भनेको काभ्रेपलाञ्चोकस्थित मण्डनदेउपुर नगरपालिका हो । काभ्रेपलाञ्चोक एक हिसाबले कुरा गर्दा रसुवाबाट टाढाको जिल्ला पनि हैन । काम र व्यस्त जीवनको सिलसिलामा वर्षौंदेखि गोसाईंकुण्ड पुग्ने मेरो अभिलाषा मृगतृष्णा बनिरहेको थियो । आघौं जसरी पनि जान्छु भन्यो, जाने समय आएपछि एउटा अड्चन । अर्को साल फेरि जान्छु भन्ठान्यो, उस्तै अड्चन ।

त्यतिमात्र नभएर कहिले पठनपाठनको सन्दर्भ, कहिले महाभूकम्पको पीडा त कहिले कोरोना कहरका कारण सोचेको पूरा गर्न सकिरहेको थिएन । साँच्चै जान खोज्दा खाने मुखलाई जुँगाले छेक्दैन भने झैं भदौ १२ गते बिहान ७ः३० बजे काभ्रेपलाञ्चोकको मण्डनदेउपुर कुन्तावेंसीबाट प्रारम्भ भएको हेलम्बु बसको यात्रा ११ः३० बजे हुँदा माछापोखरी पुगेको थियो । यात्राकै क्रममा गल्छी, महादेवफाँट, देवीघाट, बट्टार, ढुंगे र नुवाकोटको सदरमुकाम विदुर, उत्तरगया बेत्रावती हुँदै हाम्रो बस घुमाउरो बाटोबाट उकाली चढ्यो ।

पौराणिक किंवदन्तीअनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते । देवताहरू भगवान विष्णुको शरणमा पुगेपछि विष्णु भगवानको सल्लाहअनुसार दानव र देवता मिलेर समुद्र मन्थन गरे । समुद्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्यपान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइफुल्याइ समुद्र मन्थन गर्न सहमत गराए ।

समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्किए । यसै क्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे भने कोही मर्न लागे । जसलाई शान्त नपारे यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो । यो अवस्था देखेपछि सबै देवता र दानव भगवान शिवको शरणमा पुगे । देवाधिपति महादेवले उक्त विष आफैंले सेवन गरे । विषले गर्दा उनको घाँटी नीलो भएकाले महादेवलाई नीलकण्ठ पनि भनियो । विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर महादेवले आफूसँग भएको त्रिशूलले भित्ता खोपे । त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भयो । त्यही त्रिशूलधाराबाट बगेको पानी जम्मा भएर हालको गोसाईंकुण्ड उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि महादेव विराजमान रहेको विश्वास गरिँदै आएको छ ।

समुद्री सतहदेखि ४,३८० मिटरको उचाइमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीर्थस्थल गोसाईंकुण्ड गोसाईंकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ । गोसाईंकुण्डमा प्रत्येक वर्ष गंगादशहरा र जनै पूर्णिमा गरी वर्षको दुई पटक विशेष मेला लाग्छ । गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । काठमाडौं-धुन्चे, सिन्धुपाल्चोकको मेलम्ची-कुटुमसाङ ठाडेपाटी, काठमाडौं सुन्दरीजल-कुटुमसाङ र नुवाकोटको घ्याङफेदी-यार्सा हुँदै विभिन्न मार्गमार्फत गोसाईंकुण्ड पुग्न सकिन्छ । उकालै भए पनि छिटो हुने भएकाले काठमाडौं-धुन्चे हुँदै गोसाईंकुण्ड जाने पदमार्ग सबैभन्दा बढी चल्ती हुने पदमार्ग हो ।

गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायतका करिब १०८ वटा कुण्ड रहेको अनुमान गरिएको छ । काठमाडौं-धुन्चे, सिन्धुपाल्चोकको मेलम्ची-कुटुमसाङ ठाडेपाटी, काठमाडौं सुन्दरीजल-कुटुमसाङ र नुवाकोटको घ्याङफेदी-यार्सा हुँदै विभिन्न मार्गमार्फत गोसाईंकुण्ड पुग्न सकिन्छ ।

गन्तव्यको त्यही मार्गलाई पछ्याउँदै हामी हिँड्यौं, हिँडिरह्यौं । बाटो कतै सम्म, कतै उकालो, कतै ओरालो थियो । मान्छेको लस्कर आँखाको डिकोले भ्याएसम्म देखिन्थ्यो । बाटैभरि जय शम्भु र जय भोलेको आवाज, ढ्याङ्ग्रेको आवाजले जोकोहीको मनमा जय भोले गुञ्जिन्थ्यो । बाटैभरि गोसाईंकुण्ड महादेवप्रतिको असीम श्रद्धा उब्जिरहन्थ्यो । १० जनाको टोली भएको हाम्रो समूह २०८० भदौ १२ गते गोसाईंकुण्ड यात्राको लागि साथमा लैजानुपर्ने सामानहरू न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट र केही अदुवा-लसुन, कागती तथा जोलामाइड २५० mg लगायत केही औषधि बोकेर काठमाडौंबाट प्रस्थान गरेको थियोे ।

रसुवा बाग्मती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा कम वडा र कम जनसंख्या तथा नगरपालिका नभएको पहाडी जिल्ला हो । यसको सदरमुकाम धुन्चे नै गाउँपालिका हो । धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ मानिन्छ । जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिन्छ । त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे, रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिन्छ । स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिन्छ । त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामकरण रसुवा रहेको मानिन्छ ।

धुन्चेको एभरेष्ट होटलको बासपछि १३ गते बिहान हामी गन्तव्यतिर लाग्यौं । भोलिपल्ट बिहान चिया नास्ता गरेपछि हाम्रो यात्रा फेरि सुरु भयो । प्रहरी चेकिङमा कार्ड चेकजाँच गरियो । हिँड्नुपर्ने उकालो बाटो अझै बाँकी थियो । देउराली-ढिस्सा-चन्दनबारी-चोलाङपाटी-लौरी विनायक-बुद्ध मन्दिर, त्यसपछि सीधा बाटो देखाइएको थियो । कस्तो होला घट्टेखोला, कति माथि होला खेन्दी, कस्तो होला देउराली ? कति माथि होला ढिम्सा, कहिले पुग्नु चन्दनबारी, चोलाङपाटी ? किन भनेको होला लौरी विनायक, कस्तो छ बुद्ध मन्दिर ? कति बेला पुगिएला गोसाईंकुण्ड ? मनमनै आफैंलाई प्रश्न गरें- दिनभरमा त कसो नपुगिएला ?

ढिस्सा-चन्दनबारी हुँदै चोलाङपाटी पुग्दा कुहिरोले हामीलाई ढाकिसकेको थियो । हाम्रो यात्रा नजिकैबाट बगिरहेको त्रिशूलीमा अस्थायी पुल पार गरी पूर्वतर्फ मोडियो । वर्षाको याम भएकाले त्रिशूली मजैसँग छङ्छङिरहेको थियो । त्यहाँबाट केही पर पुगेपछि महादेवको सानो मूर्तिसहितको पोखरी रहेछ । त्यसलाई मिनी गोसाईंकुण्ड मानिन्छ । यो पोखरी गोसाईंकुण्ड पुग्न नसक्नेका लागि नुहाएर मनलाई सान्त्वना दिने ठाउँ पनि मानिन्छ । गोसाईंकुण्ड मेला भर्ने विशेष समय भएर होला, होटलमा खाना र बस्न केही महँगै पाइयो । त्यो त अझ फर्कंदा थाहा लाग्यो कि उकालो चढ्दा २०० रुपैयाँसम्ममा बेचेको फ्रुटी फर्कंदा त ३० रुपैयाँ भएछ । पानी किन्न खोज्यो, रु.२०० । चिया नै खाउँ न त भन्यो, रु.१०० । यो महँगो नै हो । हुन त निश्चित समयमा त्यो पनि निकुञ्जभित्र थापेको पर्थु र झ्याउलीसहितको पसल भएर पनि होला !

बाटो कतै सम्म, कतै उकालो, कतै ओरालो थियो । मान्छेको लस्कर आँखाको डिकोले भ्याएसम्म देखिन्थ्यो । बाटैभरि जय शम्भु र जय भोलेको आवाज, ढ्याङ्ग्रेको आवाजले जोकोहीको मनमा जय भोले गुञ्जिन्थ्यो । बाटैभरि गोसाईंकुण्ड महादेवप्रतिको असीम श्रद्धा उब्जिरहन्थ्यो ।

भदौको बीच भएर पनि न झरी, न बादल, न जाडो न त जुका ! कुनै डर र पीडा व्यहोर्न परेन । गोसाईंकुण्डको यात्रालाई तन्काउने क्रममा बिहान १०ः३० मा देउराली पुगेका थियौं जुन समुद्र सतहबाट २,६५० मिटर उचाइमा थियो । थकाइ र उकालीको स्याँस्याँ र फ्याँफ्याँले लखतरान थियौं । विश्रामपछि साथमा लगेका ड्राइफुडहरू झिक्यौं, भुटेको मकै, काजु, मिश्री र गुलिया तथा चाँडो तागत दिने चकलेटहरुले बेला बेलामा मर्न लागेको फुर्तीलाई बढाइदिन्थ्यो । चिसो पानीका साथ भोक, तिर्खा र थकाइ सबै मेट्यौं । उकालो लाग्न सुरु गरेपछि आर्मी क्याम्प र स्वास्थ्य शिविर देखियो । तीर्थयात्रीलाई आइपर्ने समस्या र सावधानीका उपाय अपनाउन सुझाव दिँदै केही जवान भने तातोपानी खान आग्रह गर्दै थिए, कोही प्रेसर जाँच्दै थिए ।

देउरालीको सामान्य बसाइ र दृश्यावलोकनपछि हाम्रो यात्रा निरन्तर अगाडि बढिरह्यो । दिउँसो १ः०० बजेको हुँदो हो, हामी ढिम्सा पुग्न सफल भयौं । त्यहाँको एउटा होटलमा खाना भनियो । तयारै रैछ, खाइयो पनि । केहीबेर थकाइ मारेर पुनः यात्रालाई निरन्तरता दिइयो । अलिक अगाडि के बढेका थियौं- फापर तथा कोदोको ढिंडो यहाँ पाइन्छ लेखेको होटल देख्न बिस्मात लाग्यो । बिस्मातबाट निरुत्साहित बनिएन । फर्कंदा यही आएर फापरको ढिंडो खाने अठोट बनाइयो ।

चन्दनबारीलाई स्थानीय भाषामा सिङ्गोम्पा पनि भनिन्छ । त्यो चिज उत्पादनको लागि प्रसिद्ध छ । त्यहाँ त्यस्तै पाँचसात वटा राम्रा होटल पनि देखियो । वातावरण मन छुने खालको थियो । केही पर डाँडामाथि निकुञ्ज सुरक्षार्थ आर्मी पोष्ट थियो । चन्दनबारी समुद्र सतहबाट ३,३३० मिटर उचाइमा अवस्थित छ । सफा, टकटकाउँदो सेता कपडा जस्ता बादलका ससाना टुक्रा कतै पर चुलिँदो पहाडसँगै अंकमाल गरिरहेका जस्ता देखिन्थे । पानी नपरेकाले हल्का कुहिरोसँग मधुरो घामको रंग उस्तै प्राकृतिक थियो । खुला आकाशमुनि सूर्य किरणले दिएको न्यानो तापमा आनन्दको अनुभूति भइरहेको थियो ।

निःस्वार्थ भावमा लीन भएपछि उकाली र ओरालीका अप्ठेरा पनि हवाईजहाजका यात्राभन्दा सरल र सहज लाग्दोरहेछ । मानसिक थकाइमात्र जीवनको सबैभन्दा ठूलो थकाइरहेछ भन्ने लाग्यो । केही उकालो उक्लिएपछि अलि सजिलो बाटोले मोड लियो । करिब आधा घण्टाको हिँडाइ तेर्सो भएकाले थकाइमा केही राहत मिल्यो । तेर्सो बाटो सकिएलगत्तै चोलांगपाटी (३,६५४ मि उचाइ) स्थित एउटा होटल अगाडिको खुला चउरमा राखिएको काठका खटियाहरूमा बस्यौं । कुहिरो र बादलले पाइला सार्दै गरेको आकाशमुनि अट्टहासको थकाइ मार्‍यो । त्यहाँ आफैंले तयार गरेको चटपटे खाएर केही समयकोे विश्रामपछि दिउँसो ४ः३० बजे लौरी विनायकको उकालो सुरु हुने ठाउँमा पुगियो ।

धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ मानिन्छ । जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिन्छ । त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे, रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिन्छ । स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिन्छ । त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले यस जिल्लाको नामकरण रसुवा रहेको मानिन्छ ।

भोलिपल्ट बिहान सबेरैलाई मात्र जनै पूर्णिमाको शुभ मुहूर्त पर्ने भएकाले होटलहरु सबै प्रायः टनाटन देखिन्थे । बुद्ध मन्दिर र गोसाईंकुण्डमा होटलहरु प्याक भैसकेको हल्ला र यात्रा टोलीका २ जना साथीलाई श्वासप्रश्वासमा केही समस्या देखिएकाले त्यस दिनको यात्रालाई त्यही पूर्णविराम लगाउने अठोट गरियो । प्लाष्टिक र त्रिपालले बेरिएका थर्पुसमेत प्याक भइरहेको अवस्थामा भाग्यवश एउटा ढुंगामाटोले बनेको पुरानो घर जस्तो होटलको बुइगल सुत्न ठाउँ पाइने देखियो र कुरा गरियो, प्रतिव्यक्ति २ हजारमा सुत्न र खान पाइने गरी । खाना खान मन छैन र खान्न भन्दा पनि पैसा चाहिं उत्ति नै बुझाउनुपर्ने सर्त लाग्यो ।

भोलिपल्ट बिहान ३ः०० बजे नै लौरी विनायकको उकालो यात्राको तय गरियो । ७०-७५ वर्षका वृद्धवृद्धा पनि यात्राको क्रममा फाट्टफुट्ट भेटिएका थिए । त्यस हिसाबले सोचे जति कठिन नलागे पनि उचाइ बढ्दै जाने क्रममा अक्सिजनको कमीले पहिलेको ऊर्जामा केही शिथिलता अनुभव भयो । हिँडाइलाई केही सुस्त बनायौं । २-४ पाइलाअघि सर्दै बस्दै जाने क्रममा हामी ५ बजेमात्र ३,९१० मिटर उचाइको लौरी विनायकको उकालो छिचोल्यौं । बुद्ध मन्दिर पुगेपछि उकालो लगभग सकिएको थियो । त्यहाँबाट फलामको रेलिङ समात्दै अगाडि बढ्यौं । अगाडि बढ्दै जाँदा करिब डेढ घण्टाको बाटो लाइन नलागरै लाइन बसेको महसुस भयो । लाइनकै इसारामा हामी ४,३८० मिटर उचाइमा अवस्थित गोसाईंकुण्डमा पुग्यौं । हिन्दूहरू आफ्ना आराध्यदेव शिव, विषले निश्लोट भएपछि जमिनमा गाडेको त्रिशूलबाट गोसाईंकुण्ड सिर्जना गरेको विश्वास गर्छन् । त्रिशूली नदीको स्रोत पनि यही कुण्ड हो । राष्ट्रिय विभूति काजी अमरसिंह थापाले अंग्रेजसँग भएको सुगौली सन्धिको चोट सहन नसकी प्रायश्चितका लागि यही ठाउँमा तपस्या गर्दागर्दै आफूलाई ब्रह्मलिन गराएको बताइन्छ ।

गोसाईंकुण्डमा १०८ कुण्ड रहेको बताइन्छ । तीमध्ये गोसाईंकुण्डलाई विशेष महत्वका साथ हेरिन्छ । भैरवकुण्डको दर्शन गर्ने कुरालाई त्यति सहज मानिन्न । सरस्वतीकुण्ड गोसाईंकुण्डभन्दा १ घण्टाको अर्को यात्राभित्र पर्छ । त्यहाँको स्थान ख्याल गरियो तर, जान सकिएन । गोसाईंकुण्ड पदमार्गबाट मनास्लु, गणेश, लाङटाङलगायतका थुप्रै हिम चुचुरा देख्न सकिन्छ । कतिपय पैदलयात्रु सुन्दरीजल, हेलम्बुबाट पनि गोसाईंकुण्ड दर्शन गर्न आएका थिए । फर्कंदा भने ट्रेकिङका यात्रु हेलम्बु भएर जान रुचाउँदा रहेछन् । हेलम्बु प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन र जैविक विविधताको अर्को क्षेत्र हो, जहाँबाट हिमाल र हिमाली जनजीवन नियाल्न सकिन्छ । त्यसैले पैदलयात्रीको लागि रोजाइमा पर्दै आएको छ । गोसाईंकुण्ड धार्मिक र पर्यटकीय दुबै हिसाबले महत्वपूर्ण छ ।

अक्सिजनको कमीले यात्रा तय गर्ने मार्गमा समस्या भए पनि प्रकृति हाम्रो साथमा रहेकाले हामी ऊर्जाशील थियौं । नीलो ब्रह्माण्ड रुपी छहारीमा तातो किरणले हामीमा ऊर्जा थपिरहेकै थियो । प्रकृतिले हामीमाथि गरेको करुणा अझ घनीभूत हुँदै कठ्यांग्रिँदो चिसो कुण्डमा पनि तीनतीन पटक डुबुल्की मारेका थियौं । तैपनि टुंगिन नपाएको अभिलाषाको साथै जीवनमा यस ठाउँको पहिलो चरणको यात्रा सफलताका साथ सम्पन्न गर्ने मनोकांक्षा पूरा भएकोमा आनन्दित छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *