सद्भाव कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण : कोशी प्रमुख खापुङ
विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले देशमा सद्भाव कायम राख्न पत्रकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । कोषराज रेग्मी स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले धर्मिक र साम्प्रदायिक सद्भाभाव कायम गर्न सकेमात्रै देश अगाडि बढ्ने बताए ।
‘अहिले अरु पनि धेरै विषय होलान् त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा जातीय र धर्मिक द्वन्द्व हुनबाट रोक्नु हो’, उनको भनाइ थियो ।
सत्य तथ्यमा आधारित समाचार सम्प्रेषणका लागि आग्रह गर्दै खापुङगले त्यसले देश र राज्यलाई फाइदा पुग्ने बताए ।
कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार धर्मेन्द्र झा पुरस्कृत भएका छन् । उनलाई प्रदेश प्रमुख खापुङले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे । श्री पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशी २५ हजार रूपैयाँ छ ।
झा नेपाल पत्रकार महासङका पूर्वअध्यक्ष हुन् । यो पुरस्कार यसअघि विष्णु निष्ठुरी र हरिहर दाहालले प्राप्त गरिसकेका छन् ।