दिपायल-सिलगढी नगर बसको आम्दानीभन्दा खर्च बढी, स्थानीयको प्रश्न- कसरी हुन्छ घाटा ?
डोटी । दिपायल सिलगढी नगरपालिकाले सञ्चालन गरेको नगर बस सेवा घाटामा गएको छ । नगरपालिकाका सूचना अधिकारी विष्णुराज जोशीले तीन वर्षको अवधिमा नगर बस सेवा ५३ लाख ३३ हजार ७२४ रुपैयाँ घाटामा रहेको जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ देखि २०७९/८० सम्ममा नगर बसबाट ७७ लाख ९ हजार १६७ रुपैयाँ यात्रबाट भाडा संकलन भए पनि खर्च १ करोड ३० लाख ४२ हजार ८४० रुपैयाँ भएको उनले बताए ।
उनका अनुसार इन्धनमा ६९ लाख ६९ हजार २३३, बस कर्मचारीको तलबमा ३८ लाख ३७ हजार ६०० र मर्मतमा २२ लाख ३६ हजार ८०० रुपैयाँ खर्च भएको छ ।
दिपायल सिलगढी नपाले ५१ लाख ९० हजार लगानी गरी २०७४ साल चैत १२ गते २६ सीट क्षमताका दुई नगर बस सञ्चालन गरेको थियो । २०७५ मा रिजर्भ सेवाका लागि मात्र भन्दै अर्को बस सञ्चालनमा ल्याइएको थियो । ३२ सीट क्षमताो उक्त बसको मूल्य ३५ लाख ९५ हजार रुपैयाँ रहेको नपाले जनाएको छ ।
नपाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नगर बसबाट १५ लाख ४९ हजार ९३० रुपैयाँ आम्दानी भएको छ । यस वर्ष ईन्धनमा १३ लाख १० हजार ४८५, कर्मचारी तलबमा १२ लाख ७९ हजार २०० र मर्मत खर्च ६ लाख ६६ हजार १११ गरि ३२ लाख ५५ हजार ७९६ रुपैयाँ खर्च भएको छ । यस वर्ष नगर बस १७ लाख ५ हजार ८६६ रुपैयाँ घाटामा देखिन्छ ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा २२ लाख ४२ हजार १५७ रुपैयाँ आम्दानी भएको छ । तर खर्च भने ४४ लाख ७ हजार ९२१ रुपैयाँ भएको सूचना अधिकारी जोशीले जानकारी दिए । यस वर्ष इन्धनमा २३ लाख ५५ हजार ८५४, कर्मचारीको तलबमा १२ लाख ७९ हजार २०० र बस मर्मतमा ७ लाख ७२ हजार ८६७ रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा नगर बस सेवा १४ लाख ६२ हजार ९४ रुपैयाँ घाटामा रहेको देखिएको छ । यस वर्ष नगर बसले ३९ लाख १७ हजार ३० रुपैयाँ आम्दानी गरेको नगरपालिकाले जनाएको छ । तर सञ्चालनका खर्च ६३ लाख ४२ हजार ३२७ रुपैयाँ भएको छ । यस वर्ष इन्धनमा ३३ लाख २ हजार ८९४, कर्मचारी तलबमा १२ लाख ७९ हजार २०० र मर्मतमा ७ लाख ९७ हजार ३० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
व्यवस्थापनमा समस्या भएपछि नपाले एक महिना नगर बस बन्दसमेत गरेको थियो । हाल नगरपालिकाले भाडामा दिने गरी प्रक्रिया अगाडि बढाइएको छ ।
तर, नगर बस घाटामा गएको विषयमा स्थानीयवासी विश्वास गर्दैनन् । ‘नगर बस घाटामा जाने सवालै हुँदैन’, पिपल्लाका व्यवसायी खडकविक्रम शाही भन्छन्, ‘हामी सधैं नगर बस हेरिरहेका हुन्छौं, खचाखच मान्छे बोकेर आएको हुन्छ, कसरी घाटा हुन्छ ?’
उनले नगरपालिकाले अनुगमन संयन्त्र बनाउन नसकेको बताए ।
नगर बसले आफूहरुको यात्रा सहज र सुविधाजनक भएको स्थानीय इन्द्र बोहरा बताउँछन् । उनी भन्छन्, ‘कि बसका कर्मचारीहरुले बदमासी गरेको हुनुपर्छ कि त नगर बस भाडामा लगाउने नियोजित योजनाका साथ हिसाब घाटामा देखाइएको हुनसक्छ ।’
नगरपालिका र बसका कर्मचारी मिलेर बदमासी गर्दा नगर बस घाटामा गएको अर्का स्थानीय बताउँछन् । उनी भन्छन्, ‘एक वर्षमा तेल कति खर्च भयो, बस कति चल्यो, त्यसको हिसाबमात्रै निकाले पनि सबै थाहा भइहाल्छ ।’