गैह्रीगाँउ सामूहिक हत्याकाण्डकाे अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन
काठमाडौं । काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपाेखरीले हत्याकाण्डकाे अनुसन्धान गर्न काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा समिति गठन गरेको हो ।
५ प्रहरी अधिकृतहरु समेत रहेको एक अनुसन्धान समिति गठन गरिएको कार्यालय प्रमुख दीपक थापाले बताए । उक्त घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न रानीपाेखरीले अनुरोध गरेको छ ।
समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वर प्रहरी निरीक्षक वीरेन्द्र के सी रहेका छन् ।
शुक्रबार मध्यरातमा तीनकुनेस्थित दिव्या सःमिल भित्र काठले बनेको एकतले जस्ताको टहरामा धारिलो हतियार प्रहार गरि ४ जनाको हत्या भएको थियो ।
दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईकाे हत्या भएकाे थियाे ।