बाल्यकाल र जेलजीवन सम्झिदै बालबालिकासँग केपी ओलीले भने – मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस् (भिडिओ)
‘अब्बल राजनीतिज्ञ अब तपाईहरुमध्येबाट निस्कनुपर्छ, नेपालविरुद्धको षड्यन्त्रलाई पराजित गर्न नसक्नु मेरो असफलता हो तर देशभक्तिको लडाइ जारी छ’
काठमाडौं । हरेक मान्छेले आफूलाई राम्रो र अब्बल भन्छ अनि आफ्ना कमजोरी तथा गल्ति सकेसम्म लुकाउन खोज्छ । अझ राजनीतिज्ञहरुको त यो आम चरित्र नै हो ।
शनिबार केही बालबालिकाले एमाले अध्यक्ष केपी ओलीलाई सोधे– तपाई आफूलाई कति अब्ब राजनीतिज्ञ मान्नु हुन्छ ? तपाईको देशभक्तिजस्तै सफलताको कुरा के हो ?
जवाफमा ओलीले आम राजनीतिज्ञभन्दा फरक शैलीमा आफू अब्बल राजनीतिज्ञ नभएको भन्दै आफ्ना केही असफलता सुनाए । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसक्नु अहिलेसम्म पनि आफ्नो असफलता रहेको ओलीले सुनाए । ओलीले अब्बल राजनीतिज्ञ नेपाली राजनीतिमा अहिले नरहेको भन्दै त्यस्तो व्यक्ति अब बालबालिकाबाट निस्किनुपर्ने बताए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति मोडरेटर बनेर ओलीसँग प्रश्नको संयोजन गरिरहेकी थिइन् । विभिन्न क्षेत्रका बालवालिकाले ओलीलाई राजनीति र राजनीतिबाहिरका प्रश्न गरेका थिए ।
तीमध्ये एउटा प्रश्नको जवाफ दिने क्रममा ओली यसरी बहकिए
म आफूलाई अब्बल राजनीतिज्ञ त मान्दिन । पूर्वप्रधानमन्त्री चाहिँ भकै हुँ । अब्बल राजनीतिज्ञ अब तपाइहरुबाट जन्मिनुपर्छ । हामीभन्दा तपाईहरु बढी देशभक्त, विकास प्रेमी, क्लिन, भिजनरी, कर्मठ र क्रियाशील हुनुहुन्छ । त्यस्ता नेताका रुपमा सफल नेताका रुपमा तपाईहरु आउनुपर्छ । मेरा केही असफलताहरु छन् । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपालाई साँच्चिकैको सार्वभौम, स्वतन्त्र र साँच्चैको स्वाधीन आफ्नो भूगोलको रक्षा गर्न सक्ने र राष्टिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्छ । त्यसकारण अब्बल राजनीतिज्ञ त आफूलाई भन्न सक्दिन, यति चाहिँ हो म इमानका साथ काम गर्छु । देश र जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति कुनै हिसाबले पनि धुत्र्याई, छलकपटले सार्वजनिक सम्पत्ति आफ्नो बनाउन हुँदैन भन्ने मान्यता राख्छु ।
म एउटा सामान्य बालक थिएँ । एकदमै सामान्य बालक । पहाड दुर्गम गाउँको मान्छे । हाम्रोतिर बच्चादेखि नै काम सिक्ने चलन थियो । मैले पनि बच्चादेखि नै थुप्रै काम सिकेँ । घरका कामहरु मलाई सबै आउँछन् । तरकारी केलाउनदेखि लिएर घर सफागर्ने देखि कपडा धुनेदेखि सबै कुरा आउँछ । घाँस दाउरा, हलो कोदालो, खेत रोपेर आएको हुँ । मलाई जे पनि सिक्न मन लाग्छ ।
मेरी आमा सानैमा म तीन वर्षको हुँदै बित्नुभयो । मेरो बाल्यकाल हजुरआमासँग धेरै बित्यो । मेरी हजुरआमाले जे काम गर्नुहुन्थ्यो ती काम मैले पनि गरेँ । मैले हलोकोदालो गरेँ । मेरो जीवनमा मैले धेरै दुःख पाएँ । तपाईहरु कसैको पनि मेरोजस्तो कष्टपूर्ण जीवन हुँदै नहोस् । जेलमा निर्मम् यातना दिएर काठको तुर्लुङमा खुट्टा राख्दा भतभति पोल्थ्यो । खाने बेला कुटाइ पाइन्थ्यो । १४ वर्ष जेल बस्दा २५ पटक जेल सारियो । यातनाको कुनै सिमा थिएन । मसँग त्यसबेला दुःख सहने कि मर्ने भन्ने दुई विकल्प थिए । मैले धैर्य गुमाइन किनकी मेरो उद्देश्य महान थियो । त्यसैले जस्तासुकै परिस्थिति पनि भोग्न तयार थिएँ ।