कोशीमा ‘पहिचान पक्षधर’ ले खोल्दै नयाँ दल, नीति र नेतृत्वमा यसकारण भयो अलमल
गोपाल किरातीदेखि महेन्द्र लावतीसम्म नेतृत्वका दाबेदार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विलय गराउन कुमार लिङ्देन भएनन् तयार
विराटनगर । प्रदेशको नामकरणको विपक्षमा कोशी प्रदेशमा आन्दोलनरत ‘पहिचान’ पक्षधरहरू छुट्टै पार्टी निर्माणमा जुटेका छन् ।
आगामी निर्वाचनमा प्रदेशमा पहिचान पक्षधरहरूको बहुमत ल्याउने गरी निर्वाचनअगावै पार्टी निर्माण गर्ने उनीहरूको योजना छ । तर, पार्टी कस्तो बन्ने, कसले नेतृत्व गर्ने र कार्यदिशा के बन्ने भन्नेमा उनीहरू अलमलमा परेको देखिएको छ ।
पुराना पार्टीहरूले पहिचानको मुद्दा बोक्न नसकेका कारण कोशी नाम खारेजीको लागि पार्टी निर्माणको बहस शुरू भएको किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बताए ।
उनले भने, ‘धेरै पटक मसँग पनि साथीहरू आउनु भएको छ । तर, मैले भने पार्टीभन्दा पनि मोर्चा गठन गरौँ भन्दै आएको छु । आगामी निर्वाचनमा पहिचान पक्षधरहरूका बीचमा एलयान्स गरौँ भन्ने सुझाव दिएको छु । यद्यपि निर्माणमा साथीहरू लागिरहनु भएको छ ।
जातीय पहिचानको मुद्दालाई बोकेर धेरै पार्टीले सत्ताको भर्याङ चढेको तर सत्तामा पुगेपछि पहिचानको मुद्दा छाडेको कोशी रेजीको आन्दोलनमा लागेकाहरू बताउँछन् । पार्टी निर्माणको पक्षमा जनता समाजवादी पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताहरू लागेका छन् । यीमध्येका एक हुन् खगेन्द्र माखिम । असारमा विराटनगरमा भएको एउटा कार्यक्रममा पहिचानको मुद्दा स्थापित गर्नका लागि राजनीतिक पार्टी आवश्यक भएको भन्ने हिसाबको कार्यपत्र पास भएको उनले बताए ।
माखिमले भने, ‘तर अहिले पार्टी नै बनाइहाल्नेगरिको तयारी छैन । मेरो व्यक्तिगत कुरा गर्ने हो भने, पुराना पार्टीहरूले मुद्दा बोक्न सकेनन् भन्ने हो ।’
कोशी नाम खारेजीको आन्दोलनको नेतृत्व किराँत राई यायोख्खा, आदिवासी जनजाति महासंघ, किराँत याँक्थुंग चुम्लुङलगायतका सामाजिक संघसंस्थाले गरेका छन् । यस्तै किराँत भाषा तथा साहित्य उत्थान परिषद् लगायतका सामाजिक संघसंस्थाहरू पनि आन्दोलित छन् ।
कोशी नाम खारेजीको आन्दोलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्त पार्टी एकीकृतसमेत आन्दोलनको मोर्चामा छ । यी दुवै पार्टीले पहिचानको मुद्दा बोके पनि निर्वाचनमा भने उनीहरूको उपस्थिति कमजोर देखिँदै आएको छ ।
‘पहिचानसहितको प्रदेश नम्बर १ पुननामाङ्कन अभियान’ समितिका अध्यक्ष डाकेन्द्र सिङ थेगिमले पहिचानपक्षधरहरूको पार्टी निर्माणको बहस तीव्र भएको बताए । यही आन्दोलनको जगमा टेकेर पार्टी निर्माण गर्ने तयारी रहेको उनको भनाइ छ ।
उनले जातीय पहिचानको मुद्दा बोकेर सदन र सरकारमा पुगेकाहरूले पहिचानको मुद्दा छाडेकाले पार्टी निर्माणको बहस शुरू भएको बताए ।
थेगिमले भने, ‘अहिले हामी कोशी नाम खारेजीको आन्दोलनमा छौ । यही आन्दोलनको बलमा पार्टी निर्माण गर्ने तयारी भएको हो । धेरै साथीहरू लागेका छन् । माओवादी, जसपा, काँग्रेस र एमालेभित्र रहेका पहिचान पक्षधहरु एक भएर पार्टी निर्माणमा लागेका छौं ।’
माओवादीबाट फुटेर माओवादी कम्युनिष्ट पार्टी गठन गरेका गोपाल किराँती आफूहरू पार्टी निर्माणमा जुटेको बताउँछन् । उनले पार्टी निर्माणकै तयारी स्वरूप आफूहरूले नेपाल देशभक्त समाजवादी मोर्चा गठन गरेको बताए ।
किराँतीले माओवादी जनयुद्धमा सामेल हुनुअघि पनि किराँत वर्कर्स नामको जातीय पार्टी खोलेका थिए । उनले त्यस पार्टीलाई नै माओवादीमा मिसाएका थिए ।
किराँतीले भने, ‘भदौ १३ गते हामीले रमेश सुनुवारको वैज्ञानिक समाजवादी पार्टी र माओवादी कम्युनिष्ट पार्टी मिलेर मोर्चा गठन गरेका छौं । यो सुरुवात हो । हामी नयाँ र छुट्टै बृहत् पार्टी निर्माण गर्नुपर्छ भनेर लागेका छौं ।’
नेतृत्व र कार्यदिशामा विवाद
पहिचान पक्षधरहरूको छुट्टै पार्टी निर्माणको बहस भए पनि नेतृत्व कसले लिने र अध्यक्ष को बस्ने भन्नेमा पार्टी नबन्दै विवाद देखिएको छ । सामाजिक संघसंस्थाका अगुवाहरूले पार्टी बनाउनुपर्छ भनेर भने पनि नेतृत्व गर्न भने अस्वीकार गरेका छन् ।
सामाजिक संघसंस्थाका अध्यक्ष र पदाधिकारीहरूले पार्टीको नेतृत्व गर्न अस्वीकार गरेपछि राजनीतिक दलको नेतृत्व गरेकाहरूबाट अध्यक्ष बनाउने गृहकार्य सुरु भए पनि मूर्त रूप लिन सकेको छैन ।
जनता समाजवादी पार्टीनिकट पहिचानको आन्दोलनमा सहभागीहरूले महेन्द्र लावतीलाई अध्यक्ष बनाउनु पर्ने प्रस्ताव गरेका छन् । तर, उनको नेतृत्वमा पार्टी गठन गर्न अर्को थरीले अस्वीकार गरेको छ ।
उनी पद्मसुन्दर लावतीका छोरा हुन् । बुवाले राजतन्त्रको पक्षमा वकालत गरेको भन्दै उनको नेतृत्व अस्वीकार गरिएको एक नेताले बताए । लावतीको निधन भइसकेको छ भने महेन्द्रका भाइ सगुन लावती राप्रपाको राजनीतिमा छन् ।
जातीय मुक्तिमात्र कि वर्गीय पनि ?
पहिचानको आन्दोलनमा लामो समयदेखि होमिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भने अहिले नै नयाँ पार्टी बनाएर आफ्नो पार्टी त्यसमा विलय गराउने पक्षमा छैन । बैठकहरूमा मञ्चका अध्यक्ष कुमार लिङ्देनले बृहत्तर पार्टीको आवश्यकता भए पनि आफ्नै पार्टीलाई बृहत्तर बनाउनु पर्ने बताउँदै आएका छन् ।
उनले पहिचानवादीहरूको बैठकमा भन्ने गरेका छन्, ‘हाम्रो छुट्टै इतिहास छ । हामी हाम्रो पार्टीलाई कुनै पार्टीमा विलय गराउँदैनौ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहिरहन्छ ।’
किराँत याक्थुंग चुम्लुङका अध्यक्ष येक्तेनले भने आफूले राजनीतिक पार्टीको नेतृत्व नगर्ने बताए । आफू चुम्लुङको अध्यक्ष भएकाले दलको नेतृत्व गर्न नमिल्ने बताए ।
किराँत राई यायोख्खका अध्यक्ष जीवन हाताचो पार्टी गठनको बहस छलफल सुरु भए पनि नेतृत्व र कार्यदिशा टुङ्गो नलागेको बताउँछन् । उनले पहिचानको आन्दोलन सशक्त बनाउनु पर्छ भन्नेमा सबै एक मत भएको बताए ।
माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किराँती भने जातीय र वर्गीय मुद्दा स्थापित गर्नु अब बन्ने पार्टीको कार्यभार रहेको बताउँछन् ।
किराँतीले भने, ‘गोपाल गुरुङ र गोरेबहादुर खपांगीहरूले जातीय पहिचानको मुद्दा धेरै पहिले बोकेका हुन् । कार्यदिशामा त्रुटि हुँदा उनीहरूको पार्टी अगाडि बढ्न सकेन । खपांगी र गुरुङले जनमुक्ति पार्टीको निर्माण गर्दै जातीय मुक्तिको कुरा गरे पनि वर्गीय मुक्तिलाई सँगै लैजान सकेनन् । जातीय मुक्तिले मात्रै देश बन्दैन, वर्गीय मुक्ति पनि आवश्यक छ । खापांगी र गुरुङले यही त्रुटि गरे । अव यस्ता गर्न हुँदैन ।’
किराँतीको कार्यदिशामा अधिकांश पहिचानवादीहरू सहमत हुन नसकेको बैठकमा सहभागी नेताहरू बताउँछन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंङ्देनले पार्टीको सिद्धान्त सह अस्तित्वहुनु पर्ने बताए । उनका अनुसार लिम्बूवानमा लिम्बूमात्र हुँदैन । लिम्बूवानमा बस्ने सबै जातजातिको सह अस्तित्व स्वीकार गर्न सक्नुपर्छ ।
टिकेनन् जातीय पार्टी
कोशी प्रदेशमा २०४६ सालको जनआन्दोलनअगावै जातीय र क्षेत्रीय पार्टी निर्माण भएका छन् । गोरेबहादुर खपांगीले जातीय मुक्तिको कुरा गर्दै राष्ट्रिय जनमुक्ति पार्टीको निर्माण गरेका थिए ।
यस्तै खम्वुवान राज्यको स्थापनाको माग राख्दै गोपाल गुरुङले किराँत वर्कस पार्टीको निर्माण गरेका थिए । यी दुवै पार्टीले जातीय र पहिचानको कुरा गरे पनि अहिले यी दुवै पार्टी बिलाएर जाने अवस्थामा पुगेका छन् ।
अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य स्थापना गर्ने मागसहित स्थापना भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि अस्तित्व रक्षामै सङ्कट छ । टुट र फुटका कारण यो पार्टीले पनि गति लिन सकेको छैन । २०७४को प्रदेश सभामा समानुपातिकबाट एक सदस्य पाएको मञ्चले २०७९ को निर्वाचनमा एक सीट पनि पाउन सकेन ।
वीर नेम्वांगले स्थापना गरेको लिम्बुवान मुक्ति मोर्चा पनि अहिले बिलाएर जाने अवस्थामा पुगेको छ । नेम्वांग अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान बनाउनु पर्छ भन्ने लिम्बूवानको गतिविधि सामाजिक सञ्जालमा समिति रहेको छ ।
पहिलो संविधानसभा विघटनसँगै तत्कालीन नेकपा एमालेका उपाध्यक्ष अशोक राईलगायतको ठूलै पंक्तिले पार्टीबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी खोलेको थियो । यसबीचमा धेरै नेता एमालेमा फर्किए भने अशोक राईलगायत केही नेता जसपामा छन् भने केही अन्य दलमा लागेका छन् ।
एमाले र कांग्रेसलगायत जातीय तथा सामाजिक संघ संस्थामा आबद्ध नेताहरु पासाङ शेर्पा, चैतन्य सुब्बालगायतले खोलेको सामाजिक लोकतान्त्रिक पार्टी पनि विघटन भइसकेको छ । शेर्पा अहिले एमालेको केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्ष छन् ।