श्रीलंकाको त्रासदीपूर्ण सुरुवात, सिराजले लिए एकै ओभरमा चार विकेट
१२ रन बनाउँदा श्रीलंकाका ५ ब्याट्सम्यान पेभिलियनको बाटोमा
काठमाडाैं । एसिया कपको फाइनलमा भारतविरुद्ध श्रीलंकाले निकै खराब सुरुवात गरेको छ । भारतीय फास्ट बलर मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिएर श्रीलंकाको टप अर्डर धरासयी बनाइदिए ।
टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । जसप्रित बुमराहले तेस्रो बलमै कुशल परेरालाई आउट गरेर श्रीलंकालाई पहिलो झट्का दिए । उनको बललाई ड्राइभ गर्न खोज्दा आउट साइड एज लागेपछि विकेट किपर केएल राहुलले क्याच लिएका थिए ।
दोस्रो ओभरमा सिराज बलिङ गर्न आए । उनले ६ बलमा कुनै रन दिएनन् । उनको बलमा कुशल मेन्डिस लगातार बिट भएका थिए ।
तेस्रो ओभरमा बुमराहले एक रन दिए ।
त्यसपछि चौंथो ओभरमा सिराजले सनसनीपूर्ण बलिङ गरे पहिलो बलमा उनले पथुम निसान्कालाई रविन्द्र जडेजाको हातबाट क्याच गराए । दोस्रो बल सदीरा समराविक्रमाले खेलेनन् । तेस्रो बलमा उनी एलबिडब्लु आउट भए । त्यसपछिको बलमा चरिथ असालांकालाई पनि सिराजले पेभिलियन पठाइदिए ।
सिराजले आफ्नो ह्याट्रिक भने पूरा गर्न सकेनन् । ह्याट्रिक बलमा धनञ्जय डि सिल्भाले चौका निकाले । तर, लगत्तैको बलमा उनी आउट भए ।
सिराजको घातक बलिङमा श्रीलंका धराशयी बनेको छ । अहिले क्रिजमा कुशल मेन्डिस र दसुन सनाका खेलिरहेका छन् ।