‘एक भागवत र एक गीता’ : एक दृष्टि
काठमाडौं । मधेसभित्रको कथा बुनेर, मधेसी पात्रहरुलाई मुख्य चरित्र बनाएर नेपालमा कमै चलचित्र बनेका छन् । यस्ता चलचित्रमा खासै व्यापारिक स्कोप हुँदैन । तर, सुनिलकुमार थापा-झरना थापा कृत ‘भगवत गीता’ (परिमार्जित नाम ‘एक भागवत र एक गीता’) ले यो ‘धृष्टता’ गरेको छ ।
यस चलचित्रको नामलाई लिएर खुबै विवाद भएको थियो । हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थलाई साभार गरेर नाम राखिएकोमा विभिन्न हिन्दूवादी संघसंस्थाले आपत्ति जनाए । अन्तमा प्रारम्भिक नाम ‘भगवत गीता’ लाई तोडमोड गर्दै ‘एक भागवत र एक गीता’ राखियो । चलचित्र हेरेपछि थाहा हुन्छ कि यसको नाम ‘भागवत गीता’ नराखी नहुने थिएन । दुई पात्रको नामबाट चलचित्रको नामकरण गरिएको छ । पात्रको नाम त जे पनि राख्न सकिन्थ्यो ।
खैर, नाममा के छ । नामले चलचित्र हिट र फ्लप हुने होइन, कामले हो । कामको कुरा गर्दा झरना थापाले एउटा स्तरीय र मौलिक चलचित्र त दिएकी छन् । तर, यसले ‘मास अडियन्स’लाई आकर्षित गर्न कठिन छ ।
अलिकति ‘क्लीस्ट’ कथावस्तुमा बनेको छ एक भागवत र एक गीता । व्यवसायिक निर्माता–निर्देशकले यस्तो कथामा हात हाल्ने हिम्मत नै गर्दैनन् । सुनिल थापा र झरना थापाले जोखिम मोलेका छन् । उनीहरुले छोरी सुहाना थापाको करिअरमाथि पनि जुवा खेलेका हुन् ।
यस चलचित्रमा दुई वटा प्रमुख विशेषता छन् । पहिलो, यसले मधेश र पहाडलाई जोड्ने प्रयास गरेको छ । दुई समुदायबीच सामाजिक अन्तरघुलन देखाउन खोजिएको छ । मधेशकी युवती र हिमाली भेगका युवकको प्रेमलाई चलचित्रले निकै मीठो शैलीमा पेश गरेको छ । चलचित्रको मुख्य सौन्दर्य यही नै हो । चलचित्रमा मधेशको सुगन्ध भने हिमालको ताजा हावा पनि बहेको छ ।
दोस्रो चाहिँ, चलचित्रले यौनिक र लैंगिक अल्पसंख्यकहरुको पक्षमा आवाज उठाएको छ । नेपालमा तेस्रो लिंगीहरुमाथि केही चलचित्र बनेका छन् । तर, यो चलचित्रले जत्तिको सशक्त रुपमा उनीहरुको पक्षमा वकालत सायदै अरुले गरेका थिए । एउटा बालकमा बालिकाका गुणहरु देखिएपश्चात उसले परिवार र समाजबाट भोग्नुपर्ने तिरस्कारलाई चलचित्रमा मार्मिक रुपमा उतारिएको छ ।
झरना थापा आफैंले लेखेको चलचित्रको कथा खँदिलो नै छ । पाँच जनाले लेखेको पटकथामा ठ्याक्कै यो मिलेन भन्ने ठाउँहरु खासै छोडिएको छैन । यद्यपि, सुरुवाती दृश्यहरु बोझिला लाग्छन् । चलचित्रले गति लिन समय लाग्छ । तर, गीता र भागवत घरबाट भागेपछि दर्शक चलचित्रको कथामा बाँधिन्छन् । यसबीचमा थुप्रै घतलाग्दा दृश्यहरु छन् । बालक भागवतका बदमासी, धीरज र सुहानाको नोकझोक अनि, सेते साहुले सुहानालाई पट्याउन गरेको मेहनतले मनोरञ्जन दिन्छन् ।
मनोरञ्जनसँगै चलचित्रले यौनिक अल्पसंख्यकको मुद्दालाई उठाउन खोजेको छ । तर, चलचित्रको कमजोरी चाहिँ ‘किन्नर किन्नरी’ हुन्, जसलाई हेर्दा दर्शक बोरमात्र हुन्छन् । विपीन कार्कीको ‘कमलामाई’ चरित्रमा ‘ब्लन्डर’ नै भएको छ । जति प्रयास गरे पनि उनको चरित्र दर्शकको मनमा बस्न सक्दैन र उनले बोल्ने गहन संवादहरुले छुन सक्दैन । कमलामाईको ब्याकग्राउन्ड स्टोरी पनि कमजोर छ । कथामा ट्वीस्ट ल्याउन उनको चरित्रलाई धीरजसँग जबरजस्ती जोडिएको छ, जुन त्यति विश्वसनीय र सुरुचिपूर्ण लाग्दैन । चलचित्रले विपीनलाई खेर फालेको छ ।
जुनसुकै क्यारेक्टरमा पनि आफ्नो विशेष प्रभाव छोड्न सक्ने खुबी भएका कलाकार हुन् विपीन । तर, कमलामाईमा उनको त्यो ‘विशेष प्रभाव’ भेटिँदैन । कमलामाई पर्दामा देखिँदा ‘इरिटेटिङ’ लाग्छ । कमलामाईले बोल्ने लवजमा पनि विपीनले कुनै मौलिकता दिन खोजेका छैनन् । उनको चरित्रमा विपीनकै आवाज सुनिन्छ । आफ्नो चरित्रलाई खँदिलो बनाउन सबै बलबुता लगाउने विपीनले यो चलचित्रमा भने अल्छी गरे जस्तो महसुस हुन्छ ।
चलचित्रमा प्रमुख भूमिका निभाएकी सुहानाले मधेशी भाषा र लवजमा संवाद सम्प्रेषण गर्न निकै मेहनत गरेकी छन् । चलचित्रभरि उनी छाएकी छन् । सुहानाको अभिनय भने औसत छ । वाउ भन्नुपर्ने पनि छैन, छ्या भन्नुपर्ने पनि छैन । उनले आफू जस्तोसुकै भूमिकाका निम्ति पनि तयार रहेको सन्देश भने दिएकी छन् ।
चलचित्रमा बाल कलाकारको भूमिका निकै सशक्त छ । बाल कलाकारमार्फत नै कथा भन्ने प्रयास गरेकी छन् निर्देशक थापाले । हामीले धेरै चलचित्रमा एउटा कलाकारले डबल रोल गरेको देखेका छौं । तर, यो चलचित्रमा दुई बाल कलाकारले ‘सिंगल रोल’ खेलेका छन् । जेभिस र जेभिन श्रेष्ठ उस्तै अनुहार भएका जुम्ल्याहा हुन् । उनीहरु दुवैले चलचित्रमा ‘भागवत’ को भूमिका निभाएका छन् । निर्देशकका अनुसार कुनै दृश्यमा जेभिसले र कुनैमा जेभिनले अभिनय गरेका हुन् । दर्शकले कतै पनि फरक छुट्याउन सक्दैनन् । ९–१० वर्षका बालकबाट यतिको अभिनय निकाल्न सक्नु पनि निर्देशकको सफलता नै मान्नुपर्छ ।
धीरज राई आफ्नो भूमिकामा फिट छन् । उनले अभियनमा सुहानासँग उनको कमेस्ट्री मिलेको छ । चलचित्रमा उनको भूमिका भने सीमित छ ।
अन्य कलाकारहरुमध्ये रियर राईको भूमिका छोटो तर रोचक छ । उनले राम्रै मनोरञ्जन दिन्छन् । कविर खड्का, अनुराग कुँवर, सञ्जोग रसाइलीलगायतले पनि आफ्नो भूमिकामा न्याय गरेका छन् ।
चलचित्रका गीतहरु कर्णप्रिय छन् । गीतहरु पहिल्यै रिलिज गरेर राम्ररी प्रमोसन गरिएको भए चलचित्रको व्यापारमा फाइदा मिल्न सक्थ्यो । ब्याकग्राउन्ड म्युजिकले पनि कथाको बहावलाई साथ दिएको छ ।
निर्देशनको पाटोबाट झरना थापा सफल छिन् । उनले अहिलेसम्म निर्देशन गरेका चलचित्रमध्ये एक नम्बरमा यसलाई राख्न सक्छिन् । हरेक दृश्यमा उनको मेहनत झल्किन्छ । राम्रो चलचित्र बनाउन उनले इमानदार प्रयास गरेकी छन् । कथाको मागलाई सम्बोधन गर्न कतै पनि सम्झौता गरिएको छैन । प्राविधिक रुपमा चलचित्र उन्नत कोटीको बनेको छ ।
यो आमदर्शकलाई अपिल गर्ने फिल्म होइन । तर, फिल्ममा मौलिकता खोज्ने र फरक ‘कन्टेन्ट’ मा इन्जोय गर्नेहरुका लागि हेर्नलायक फिल्म अवश्य हो ।
– चिरञ्जीवी पौडेल