पहिलो एसियाली खेलकुद : प्रतियोगिता खेलेर देश आउँदा नेपाली खेलाडीको जागिर चैट ! – Nepal Press

पहिलो एसियाली खेलकुद : प्रतियोगिता खेलेर देश आउँदा नेपाली खेलाडीको जागिर चैट !

भारतसँग रंगशाला बनाउने पैसा थिएनः सिंगापुर र जापान चन्दा उठाएर आए, चीन पर्यवेक्षकमात्रै

बेइजिङ । १९औं एसियाली खेलकुद प्रतियोगिताको लागि चीनको शहर हाङ्चौमा बनेको एसियाली खेलकुद ग्राम भदौ ३० (सेप्टेम्बर १६) औपचारिक खुला भएको छ । शनिबारबाट एसियाका ४५ देशका १२ हजार बढी खेलाडीहरु उक्त ग्राममा आउने क्रम सुरु भएको छ । सेप्टेम्बर २३ मा सुरु भएर अक्टोबर ८ मा अन्त्य हुने एसियाली खेलकुद कुम्भ मेलामा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि न्यूयोर्कबाट चीन आउँदैछन् । यही मौकामा उनको औपचारिक चीन भ्रमण सुरु हुनेछ ।

अहिले तामझामसँग तयारी सुरु भएको १९औं एसियाली खेलकुदको संस्करण हेर्दा यो खेलकुद बडो भव्य लाग्नसक्छ । तर, यसको पहिलो संस्करणको कथा हेर्दा बडो कारुणिक छ । एसिया महादेश, आयोजक भारत, सहभागी नेपाल सबैको कोणमा सन् १९५१ को त्यो नयाँदिल्लीको एसियाली खेलकुद धेरै कारुणिक थियो । यो सामग्रीमा त्यसैको चर्चा गरिएको छ ।

११ देश सहभागी प्रथम एसियाली खेलकुद, नेपाल सहित तीन देश पदकविहीन

सन् १९५१ मार्च ४ देखि ११ सम्म भारतको राजधानी नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुद प्रतियोगितामा ११ देश सहभागी थिए । त्यो प्रतियोगिता धेरै कोणमा पहिलो थियो । भारतले बेलायतबाट स्वतन्त्रता पाएर आयोजना गरेको पहिलो विशाल विश्वस्तरीय कार्यक्रम त्यही थियो । नेपालले खेलकुद क्षेत्रमा सहभागिता जनाएको अन्तर्राष्ट्रिय मञ्च पनि त्यही पहिलो थियो । अहिलेका थुप्रै देश त्यो बेला अस्तित्वमै थिएनन् । दक्षिण एसियामा बंगलादेश पनि पाकिस्तानको ‘पूर्वी पाकिस्तान’नामको प्रान्तको हैसियतमा थियो । चीन र नेपाल संयुक्त राष्ट्रसंघमा जोडिएकै थिएनन् ।

सहभागी देशहरुमा नेपाल, भारत, अफगानिस्तान, म्यानमार (त्यो बेला वर्मा), सिलोन (श्रीलंका), इन्डोनेसिया, इरान, जापान, फिलिपिन्स, सिंगापुर र थाइल्याण्ड थिए । अफगानस्तिानको पहिलो मार्चपास र नेपालको छैटौं लहरमा मार्चपास भएको ‘नेपाली खेलकुदको वृतान्त’ पुस्तकमा लेखक तथा स्थापित खेल पत्रकार नवीन अर्यालले उल्लेख गरेका छन् ।

पहिलो एसियाली खेलकुदमा जापानले सबैभन्दा धेरै पदक जितेको थियो । दोस्रो र तेस्रोमा क्रमशः भारत र इरान भएका थिए । जापानले २४ स्वर्णसहित ६० पदक जित्दा भारत र इरानले क्रमशः १५ स्वर्णसहित ५१ र ८ स्वर्णसहित १६ पदक जितेका थिए । नेपाल, अफगानिस्तान र थाइल्याण्ड पदकविहीन भएका थिए ।

नेपालका सबै ६ जना खेलाडीले म्याराथनमा भाग लिन खोजेका थिए । तर, दिल्लीको हावापानीमा बानी नपरेर चार जनाले नाम फिर्ता लिए । मीनबहादुर विष्ट र गजराज जोशीले मात्रै म्याराथनमा भाग लिए । उनीहरुले नेपालको तर्फबाट राम्रो नतिजा निकाले । १० हजार मिटर वाकमा नेपालका चमकबहादुर तामाङ चौथो भए । उनले ६१ मिनेट ५९.५ सेकेन्डमा दूरी पार गरेका थिए । प्रथम हुने भारतका महावीर प्रसादले ५२ मिनेट ३१.४ सेकेन्ड लगाएका थिए । १० हजार मिटर वाकमै नेपालका रामबहादुर क्षेत्री पाँचौं भएका थिए । उनले ६३ मिनेट ३३.४ सेकेन्डमा दौड पूरा गरेका थिए । पाँचौं स्थानमै आएका थिए म्याराथन धावक मीनबहादुर विष्ट । उनले ३ घण्टा १५ सेकेण्डमा दूरी पार गरेका थिए ।

नेपाली खेलाडी : राजाका बडीगार्डदेखी जापानसँग युद्ध लडेकासम्म

मार्चपासमा सहभागी ६ नेपाली खेलाडी । अगाडि पदाधिकारी कृष्णबहादुर वर्मा ।

अर्यालको किताबका अनुसार नेपालले एथलेटिक्स्मा मात्रै भाग लिएको थियो । तीन पदाधिकारी (नरशमशेर राणा, कृष्णबहादुर वर्मा र विजयशमशेर राणा) सहित पाँच खेलाडी सहभागी थिए नेपालको तर्फबाट । खेलाडीको नाम मीनबहादुर बिष्ट, गजराज जोशी, चमकबहादुर तामाङ, रामबहादुर क्षेत्री र अमरबहादुर खत्री, देवी ।

जसमा जोशी सात साल अगाडि राजा त्रिभुवनका बडीगार्ड थिए । विष्टले नेपाली सेनाको जबरजंग पल्टनमा रहेर दोस्रो विश्वयुद्धमा हिन्दूस्तान क्षेत्रमा जापानसँग लडेका थिए । रोचक कुरा जापानसँग लडेको अनुहार बोकेको नेपाली टोली र जापानी टोलीको बसोबास सँगै जस्तो भयो । उनीहरुले राम्रो मित्रता बनाए । त्यो मित्रताले पनि जापानीको मनास्लु हिमाल आरोहण, नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनामा सेतु बन्यो ।

नेपाली खेलाडीका दुःख : जाँदा प्लेन, आउँदा पैदल

सुन्दा रोचक लाग्ने यो घटना सत्य हो । नेपाली टोलीले भारत प्रस्थान गर्दा त्यो बेलाको सानदार जहाजीयात्रा गरे । काठमाडौंबाट पटना ट्रान्जिट बनाएर टोली दिल्ली पुगेको थियो । डकोटा जहाज चढेर दिल्ली पुगेका नेपाली खेलाडीहरु नेपाल आउँदा भने वीरजंगबाट काठमाडौंसम्म पैदल आएका थिए । दिल्लीबाट गोरखपुर हुँदै वीरगञ्जसम्म मात्रै सवारीमा आएका थिए ।

त्यो बेला वीरगञ्ज काठमाडौं जोड्ने सडक बनेकै थिएन । अर्र्को शब्दमा काठमाडौं बाहिरी विश्वसँग सडकबाट जोडिएकै थिएन । नेपाली खेलाडी जाँदा प्लेनमा जान पाउनुको एक कारण हतारो पनि हो । नेपालले प्रजातन्त्र आएको १४ दिनको तयारीमा खेलाडी पठाएको थियो । प्रतियोगिता सुरु हुन दुई दिन अगाडि मात्रै नेपाली सहभागीको टुंगो औपचारिक रुपमा लागेको थियो ।

अलकत्रा पग्लिएर खेलाडीको बिजोग, खेलकुदमा भाग लिएर आउँदा जागिर चैट

नेपाली खेलाडी प्रथम एसियाली खेलकुदमा म्याराथनमा भाग लिँदा दुःखद अनुभव लिन बाध्य भए । दौडिँदा दिल्लीको गर्मीले बाटाको अलकत्रा खुट्टामा टाँसियो । कुद्दा जुत्ता फाटेको र त्यहीमाथि अलकत्रा पग्लिएर टाँसिदा विष्ट दौड सकाएर अचेत जस्तै भए । यो दृश्य भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले देखे । उनले विष्टसँग हात मिलाएर सान्त्वना दिए । यो घटनालाई तत्कालीन भारतीय मिडियाहरुले व्यापक कभर गरेका थिए ।

मीनबहादुरको दुःख दिल्लीको दौडमा मात्रै सीमित भएन । देश आउँदा उस्तै तनाव भयो । नेपाली सेनाको भीमसेन दलका जागिरे उनी आउँदा दल खारेज भएर जागिरविहीन भएका थिए । उनी गोखरपुरको बाटो हुँदै वीरगञ्जबाट पैदल काठमाडौं आएका थिए । लामो धपेडीले उनी बिरामी नै परे । विष्टको जागिर चैट भएपछि उनले काठमाडौंका कन्या मन्दिर स्कुल, सोह्रखुट्टे स्कुल र परोपकार स्कुलमा पीटी शिक्षको रुपमा जागिर गरेका थिए । जागिर दिलाउन नर शमशेरले भूमिका खेलेका थिए ।

एसियाली गरिबीदेखि युद्धसम्मको चित्र देखाउने प्रथम एसियाली खेलकुद

प्रथम एसियाली खेलकुद हुँदा काश्मीर विवादले पाकिस्तान सहभागी भएन । दुई सरकार भएको भियतनाम पनि सहभागी भएन । कोरियाली युद्धले कोरिया गयल थियो । जापान र सिंगापुर चन्दा उठाएर आएका थिए । भारतले नयाँ रंगशाला बनाउन सकेको थिएन । चन्दा उठाएरै पूर्र्वाधार तयारी गरिएको थियो । भारतमा पाकिस्तानबाट लाखौं शरणार्थी आएका थिए । सेनाका दुई भवनमा एसियाली खेलकुद ग्राम बनाइएको थियो ।

भारतको यही दुःख बुझेर थाइल्याण्डले आफ्ना टोलीलाई खाने तीन बोरा चामल आफैं ल्याएको थियो । चीन पनि प्रतियोगितामा सहभागी भएको थिएन । चीन पर्यवेक्षकमात्रै थियो । नेपालको अवस्था पनि उत्तिकै दयनीय थियो । नेपाली खेलाडीको खेलकुद प्रतियोगितामा सहभागी हुने खर्च जोहो गर्न सरकारले टक्सार विभागबाट रातबिरात गरेर थप मोहर बनाउन लगाएको ‘नेपाली खेलकुदको वृतान्त’ पुस्तकमा नवीन अर्यालले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *