‘ऋषि पञ्चमी’ भर्सेस मुलुकी अपराध संहिता !
आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी । हिन्दू धर्मशास्त्रअनुसार भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषि पञ्चमीका रुपमा चिनिन्छ । विशेषतः हिन्दू नारीहरुका लागि यो दिन उल्लासमय, उमंगमय हुन्छ । भाद्र शुक्ल द्वितीयाको मध्यराति दर खाएका महिलाहरुले गणेश चतुर्थीको साँझ मात्रै खाना खाने चलन छ । भोलिपल्ट फेरि ऋषि पञ्चमीको व्रत बस्छन् । हरितालिका तीज र ऋषि पञ्चमीको व्रत सँगसँगै आउने भएका कारण एउटै प्रयोजनका लागि दुई व्रत बसेको जस्तो देखिए पनि दुवैका प्रसंग र प्रयोजन फरक फरक छन् ।
हिमालयपुत्री पार्वतीको विवाह विष्णुसँग गर्ने निश्चित भइसकेपछि पार्वतीले असन्तुष्टि व्यक्त गरिन् । विष्णुसँग हुने विवाह छल्न संगिनीद्वारा हरेर जंगलमा पुर्याइएकी पार्वतीले विष्णुसँग विवाह नहोस्, महादेव नै पति बनून् भनी निराहार व्रत गरिन् । ‘सखी’ अर्थात संगिनीद्वारा हरण गरी जंगलमा पुर्याएको दिनको सम्झनामा व्रत बस्ने भएका कारण नै यस व्रतको नाम ‘हरितालिका तीज’ रहन गयो । जसको प्रभावले महादेव प्रशन्न भई पार्वतीलाई वरदान दिए । यसरी पार्वतीले इच्छाएको वर पाइन् । त्यसपछि महादेवको आज्ञाअनुसार सौभाग्यवतीको स्थिरताका लागि पार्वतीले उक्त व्रतलाई निरन्तरता दिइन् । अहिले पनि विवाहित महिलाहरुले पतिको दीर्घायुको प्रार्थना गर्छन्, अविवाहितले महादेव जस्तो राम्रो पति पाउन व्रत बस्दै हरितालिका तीज सकिन्छ ।
त्यसपछि भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीको व्रत सुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीमा गणेश जन्मेकाले महिलाहरुले व्रत बसेर उनको पूजा आराधना गरी साँझमात्रै खाना खाने चलन छ । धर्मशास्त्रअनुसार गणेशलाई सिद्धि विनायकको रुपमा पुग्ने चलन छ । भोलिपल्ट अर्थात भाद्र शुक्ल पञ्चमीका दिन ऋषि पञ्चमीको व्रत बस्ने चलन छ । कुनै कुनै महिलाहरुले भाद्र शुक्ल द्वितीयाको राति दर खाएपछि एकैचोटी पञ्चमीको साँझमात्रै खाना खाने गरेका छन् । तृतीयाका दिन त उनीहरुले पानीसमेत खाँदैनन् ।
माथिका दुई व्रतमा कसैमाथि विभेद देखिँदैन । त्यसैले यी व्रतहरुमा त्यति धेरै आलोचना पनि हुँदैन । केही वर्षयता दर खाने नाममा भएको भड्किलोपनले समाजमा केही असहज सिर्जना गरेको छ । ऋषि पञ्चमीको व्रतले भने विभेद गरेको छ । हिन्दू ‘कर्मकाण्डीय शास्त्र’अनुसार महिनावारी भएका बेला जान/अञ्जानमा अरुलाई छोइएको भए त्यो पापबाट मुक्ति पाउन ऋषि पञ्चमीको व्रत बस्नुपर्छ रे ! महिनाबारी नबारेमा महिलामा बाझोपन आउँछ रे, नरकमा जाकिन्छे रे ! त्यसैले चारै वर्णले नछुने भएकी महिलालाई घरबाट पर सार्नुपर्छ रे ! उहिले वृतासुरलाई मारेका कारण ईन्द्रलाई ब्रह्महत्याको पाप लागेको थियो रे ! त्यो पापबाट मुक्त हुने उपाय खोज्दै ईन्द्र ब्रह्मा भएको ठाउँ गए रे ! तव ब्रह्माले उक्त पापलाई चार भागमा बाँडेर पहिलो भाग आगोको ज्वालामा, दोस्रो भाग नदीहरुको पहिलो बाढीको पानीमा, तेस्रो भाग पर्वतहरुमा र चौथो भाग स्त्रीहरुको मासिक श्राव हुने बेला बग्ने रगतमा मिल्काए रे ! त्यसैकारण महिनावारी भएका महिलाहरुले अरुलाई छोयो भने ब्रह्महत्याको पाप लाग्छ रे !
महिनावारी भएका बेला अलग नबसेमा कुल देवता, इष्ट देवता रिसाउने, देवीदेवताको श्राप लाग्ने, अनेक रोग लाग्ने, भौतिक एवं मानवीय क्षति हुने, बाँझोपन आउने जस्ता डरले अझ त्यही संस्कारलाई मान्दै आएका छन् । यस्ता अगुवाहरुलाई बाहिरी रुपमा हेर्दा न समाजको दबाब रहेको छ न त घरपरिवारको दबाब ।
कर्मकाण्डका अनुसार रजस्वला भएको बेलामा महिला अपवित्र हुन्छिन् । उनलाई टाढै राख्नुपर्छ रे ! रजस्वला भएकी महिला पहिलो दिन चाण्डाली, दोस्रो दिन बह्मबातिनी, तेस्रो दिन धोबिनी समान हुन्छे रे ! चौथो दिन नुहाइ धोइ गाईको गहुँत चाखेपछि शुद्ध हुन्छे रे ! त्यसैले महिलाहरुले छाउपडी प्रथा (महिनावारी भएका बेला नछुने) मान्नैपर्ने व्यवस्था छ । यो कर्मकाण्डी मान्यता हो ।
यही कर्मकाण्डी मान्यताअनुसार महिलाहरु महिनावारी भएको बेला अछूत मानिन्छन् । विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिमका महिलाहरु मासिक श्राव हुँदा ५-६ दिनसम्म अछूत मानिन्छन् । ५-६ दिनसम्म अलग बस्ने कसैसँग नछुने र त्यसपछि नुहाइ धोइ गरेर गाईको गहु“त वा सुनपानी चाखेर शुद्ध हुनेमा साधारणदेखि आफूलाई अगुवा भन्ने महिलाहरु पनि पर्छन् । अझ महिलामात्रै हैन, महिला महिनावारी भएका बेला तिनका श्रीमान्लाई पनि देव कार्य गर्न अयोग्य मान्छ कर्मकाण्डले ।
तर, अब परिस्थिति फेरिएको छ । राज्यले छाउपडी कुप्रथालाई अपराधको रुपमा परिभाषित गर्दै कानून बनाएको छ । २०७४ साल असोज २ गते मुलुकी अपराध संहिता, २०७४ प्रमाणीकरण भई २०७५ साल भाद्र १ गतेदेखि कार्यान्वयनमा आएको छ । संहिताको परिच्छेद १० को दफा १६८ (३) मा ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय गर्न वा गराउन हुँदैन’ भन्ने उल्लेख छ । यस्तो कार्य गरेमा फौजदारी अपराध मानिने र यसमा ३ महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यो व्यवस्था अछाम जिल्ला अदालतबाट ‘टेष्ट’ समेत भइसकेको छ ।
यद्यपि समाजमा शदियौंदेखि चल्दै आएका यस्ता कुप्रथाहरुविरुद्ध राज्यले कानून बनाउँदैमा एकैचोटी कार्यान्वयन भइहाल्ने भन्ने हुँदैन । उदाहरणको लागि जातीय छुवाछूतलाई लिन सकिन्छ । मुलुकी ऐन, २०२० ले जातीय छुवाछूत तथा भेदभावलाई दण्डनीय अपराध मानेको थियो । त्यो ऐन आएको ६० वर्ष पुग्दा पनि जातीय छुवाछूत रोकिएको छैन । बालविवाह, बहुविवाहलगायतका यस्ता धेरै कानूनहरु छन्, जसलाई राज्यले जारी त गर्यो । तर, कार्यान्वयन भएन ।
‘छाउपडी प्रथा अन्त्य गर’ भनेर सार्वजनिक कार्यक्रममा नारा लगाउनेहरुले कानूनको पालना गर्ने कि नगर्ने ? यस विषयमा गम्भीर हुन जरुरी छ । यदि अहिले नै यस विषयमा सोचिएन भने सरकारले निर्माण गरेका अन्य थुप्रै कानूनहरु झैं यो कानून पनि कार्यान्वयन नहुँदै रद्दीको टोकरीमा जानेछ ।
मुलुकी अपराध संहिता जारी भएपछि ऋषि पञ्चमी व्रत आवश्यक हुन्छ कि हुन्न भन्ने प्रश्न उब्जिएको छ । नेपाल पक्ष राष्ट्र भएका मानव अधिकारसँग सम्बन्धित सन्धि/महासन्धिहरुले प्रथा, परम्परा, प्रचलन जनित कुनै पनि विभेदलाई दण्डनीय अपराध मान्छ । नेपालको सन्धि ऐन, २०४७ को दफा ९ ले नेपाल पक्ष राष्ट्र भएका सन्धि महासन्धिहरु नेपाल कानूनसरह लागू हुने व्यवस्था गरेको छ । यदि सन्धि/महासन्धिमा भएका प्रावधानहरु नेपालको कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म नेपालको कानून अमान्य भई महासन्धिमा भएको प्रावधान लागू हुने व्यवस्था छ । त्यसको साथसाथै नेपालको कानून पनि त्यसै मान्छ । तर, कर्मकाण्डी शास्त्रअनुसार नछुने मान्नैपर्ने हुन्छ । कानूनको कार्यान्वयन बलपूर्वक गर्नुपर्ने अवस्था देखिन्छ । नछुने भएका बेला जानी नजानी अरुलाई छोइएको पापबाट मुक्ति पाउन ऋषि पञ्चमीमा व्रत बस्नुपर्ने व्यवस्था छ । कानूनले छाउपडी प्रथा मान्नेलाई अपराधी मान्छ भने ऋषि पञ्चमीको व्रत बस्ने महिलालाई वा व्रत बस्न बाध्य बनाउने पुरुषलाई अपराधी मान्ने कि नमान्ने ?
अधिकांश महिलाहरु त्यसमा पनि जो नेतृत्व तहमा छन्, जसले महिला आन्दोलनको नेतृत्व गरिरहेका छन्, ती महिलाहरु भाद्र शुक्ल पञ्चमीमा रजस्वलाको पापबाट मुक्त हुन व्रत बसेर सप्तऋषिको पूजा गर्छन् । महिनावारी भएका बेला अलग नबसेमा कुल देवता, इष्ट देवता रिसाउने, देवीदेवताको श्राप लाग्ने, अनेक रोग लाग्ने, भौतिक एवं मानवीय क्षति हुने, बाँझोपन आउने जस्ता डरले अझ त्यही संस्कारलाई मान्दै आएका छन् । यस्ता अगुवाहरुलाई बाहिरी रुपमा हेर्दा न समाजको दबाब रहेको छ न त घरपरिवारको दबाब । डर छ त केवल सामन्ती सोच र परम्परागत संस्कारले सिर्जना गरेका काल्पनिक देवीदेवताको ।
यदि कानूनको प्रभावकारी कार्यान्वयन गर्ने साँच्चै इच्छाशक्ति छ भने ऋषि पञ्चमीको व्रत बस्ने महिलाहरुलाई निरुत्साहित गर्नुपर्छ । ऋषि पञ्चमीमा ‘महिनावारी भएका बेला अरुलाई छोएर कमाएको पाप पखाल्न व्रत बस’ भन्ने मानसिकताबाट माथि उठ्न अभियान थाल्नु जरुरी छ । यसका लागि अधिकारकर्मी र अगुवा महिलाहरु आफैं कति सशक्त हुन सक्छन् भन्ने प्रश्न पनि छ । ‘छाउपडी प्रथा अन्त्य गर’ भनेर सार्वजनिक कार्यक्रममा नारा लगाउनेहरुले कानूनको पालना गर्ने कि नगर्ने ? यस विषयमा गम्भीर हुन जरुरी छ । यदि अहिले नै यस विषयमा सोचिएन भने सरकारले निर्माण गरेका अन्य थुप्रै कानूनहरु झैं यो कानून पनि कार्यान्वयन नहुँदै रद्दीको टोकरीमा जानेछ ।