पुलिसलाई हराउँदै गण्डकीले जित्यो लामाचौर कप भलिबलको उपाधि – Nepal Press

पुलिसलाई हराउँदै गण्डकीले जित्यो लामाचौर कप भलिबलको उपाधि

पोखरा । फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । फाइनलमा विभागीय टीम नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । उपाधिसँगै गण्डकीले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १-१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालय भलिबल कोर्टमा भएको फाइनल खेलको पहिलो सेट २५-२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी २५-१९ ले जितेर जितेको थियो । तेस्रो सेट भने पुलिसले आफ्नो पक्षमा पार्‍यो । उसले २५-२१ मा जिते पनि पछिल्ला २ सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो । चौंथो सेट जितेर उपाधि जित्ने दाउमा रहेको पुलिसले २३-२० को स्थितिको लय गुमाउँदै गण्डकीलाई जित सुम्पेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २८-२६ मा चौंथो सेट जित्नुका साथै अन्तिम सेट भने १५-११ को जित हासिल गर्‍यो । उपविजेता पुलिसले पुरस्कारस्वरुप १ लाख प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो । गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । गण्डकीका हरि पाण्डे वेस्ट ब्लकर, किरण गुरुङ वेस्ट स्पाइकर र रमेश केसी वेस्ट कोच बने । पुलिसका कुलबहादुर थापा वेस्ट सर्भर, अभिषेक थापा वेस्ट सेटर र भीम गाहा वेस्ट लिबेरो घोषित भएको भए ।

पुलिसले सोमबार महिलातर्फको उपाधि जितेको थियो । फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३-१ सेटमा हराउँदै उपाधि जितेको हो । लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेताले १ लाख पायो । गत वर्ष पनि नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *