लैंगिक हिंसाको कार्यक्रममा महिलाहरुले उठाए जंगली जनावरले दिएको पीडा
डोटी । सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले डोटीका महिलाहरुसँग ‘लैंगिक हिंसा निवारण राहत कोषको प्रभावकारिता’ विषयमा छलफल गर्यो । तर, छलफलमा महिलाहरुले लैंगिक हिंसाभन्दा आफूहरु जंगली जनावरहरुबाट बढी पीडित भएको गुनासो गरे ।
कार्यक्रमकी सहभागी दिपायल सिलगढी नगरपालिका- ७ पाकरीकी सीता बिष्टले आफूहरु लैङ्गिक हिंसाभन्दा बढी जंलगी जनावरबाट पीडित भएको सुनाइन् ।
‘बँदेलले बाली नष्ट गरेपछि हामीलाई सरकारले क्षतिपूर्ति दिन्छ कि नाई ? बँदेल मार्ने कुनै कानून छ कि नाई ?’, उनको प्रश्न थियो, ‘हामीले वर्षभरि गरेको परिश्रम बँदेलले एकै रातमा सखाप गर्न थाल्यो ।’
सीताले जंगली जनावरले बाली नष्ट गरेको भए निवेदन दिन रेडियोमा सूचना बजे पनि त्यसबारे आफू स्पष्ट हुन नसकेको गुनासो गरिन् । उनी भन्छिन्, ‘सूचना त सुनें । तर, बुझ्न सकेन । कहाँ निवेदन दिने, कसरी दिने भन्ने कुरा प्रस्ट हुन सकिएन ।’
पुरुषहरु सबै रोजगारीका लागि गाउँबाहिर रहेकाले गाउँमा भएका महिला, बालबालिका र ज्येष्ठ नागरिकहरु राति पहरा बस्न नसकेको उनले जानकारी दिइन् । उनले बाली नष्ट गर्ने बँदेललाई मार्न लगाउन मागसमेत गरिन् ।
दिपायल सिलगढी नगरपालिका- ५ की सुनिता कोलीको पनि यस्तै पीडा छ । उनी भन्छिन्, ‘दिउसभरि बाँदरको गोठालो लाग्नुपर्ने, राति बँदेलको पहरो बस्नुपर्ने अवस्था छ ।’
आफूले लगाएको खेती जंगली जनावरका लागि ठिक्क हुने गरेको उनी बताउँछिन् । जंगली जनावर नियन्त्रण गर्ने व्यवस्था गर्न उनले पनि माग गरिन् ।
दिपायल सिलगढी नगरपालिका- ७ की लक्ष्मी पार्कीको पीडा पनि उस्तै छ । ‘जमिन पनि थोरै छ, त्यसैमा जंगली जनावरले दुःख दिन्छ’, लक्ष्मीले भनिन्, ‘यो पीडा कसलाई भन्नू ?’
उनले थपिन्, ‘बँदेल मारे कानून लाग्छ भन्छन् । वर्षैपिच्छे हाम्रो बाली नष्ट हुन्छ, हाम्रा लागि कानून छैन र ?’
यो समस्या दिपायल सिलगढीको मात्रै भने होइन । डोटीका अधिकांश गाउँमा जंगली जनावरले बाली नष्ट गरेको महिला कृषकहरु बताउँछन् ।
‘अब त खेती लगाउँ कि नलगाउँ भन्ने भइसक्यो’, केआई सिंह गाउँपालिका- ५ की सीता जोशी भन्छिन्, ‘बर्सेनि बाँदर, दुम्सी र बँदेलका लागि खेती लाइदिए जस्तो भइरहेको छ ।’
उनले आफूहरुले न्वाङी (नयाँ अन्न) चाख्न पनि नपाउने अवस्था भइसकेको बताइन् ।
जोरायल गाउँपालिका- २ की लक्ष्मी जेठारा बजारमा लगेर बेच्ने बेला भएको तरकारी एकै रातमा जंगली जनावरले नष्ट गरिदिने गरेको बताउँछिन् । लगानी र परिश्रम दुवै खेर गएपछि आफूहरु कृषि पेसाप्रतिको रुचिसमेत मर्न थालेको उनी बताउँछिन् ।
जंगली जनावरले बाली नष्ट गरेमा क्षतिपूर्ति पाउने व्यवस्था रहेको वताउँछन् डिभिजन वन कार्यालय डोटीका प्रमुख गोकुल रिजाल ।
‘एक बालीमा एक पटक बढीमा १० हजार रुपैयाँसम्म दिन मिल्ने गरी हाल कानून संशोधन भएको छ’, रिजालले भने, ‘क्षतिको आधारमा वर्षमा दुई पटकसम्म क्षतिपूर्ति दिन सकिने व्यवस्था छ ।’
नयाँ कानूनी व्यवस्थाअनुसार बाँदरले क्षति गरेकोमा पनि क्षतिपूर्ति दाबी गर्न पाइने उनले जानकारी दिए । क्षतिको विवरण वडा कार्यालयको सिफारिस र कृषि ज्ञान केन्द्रको मूल्याङ्कन प्रतिवेदनसहित डिभिजन वन कार्यालयमा निवेदन दिएपछि प्रक्रिया अगाडि बढ्ने रिजाल बताउँछन् ।