एमाले गण्डकीको प्रथम अधिवेशनको लोगो सार्वजनिक
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनको लोगो सार्वजनिक भएको छ । अधिवेशन प्रचार प्रसार उपसमितिले मंगलबार पत्रकारसम्मेलन गर्दै असोज १५ र १६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
माछापुच्छ्रे हिमाल र फेवाताललाई समेटिएर लोगो तयार पारिएको लोगो निर्माणका लागि संयोजन गरेका प्रदेश प्रचार प्रसार उपसमिति सदस्य विक्रम न्यौपानेले जानकारी दिए ।
‘गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरले भरिपूर्ण प्रदेश हो । प्रदेशका ११ वटै जिल्लाका आआफ्नै पहिचान छ । मुक्तिनाथदेखि गजेन्द्र मोक्ष, विन्दावासिनीदेखि मनकामनासम्मका प्राकृतिक तथा सास्कृतिक सम्पदाले प्रदेश भरिपूर्ण छ,’ उनले भने, ‘प्रतिकात्मक रुपमा माछापुच्छ्रे हिमालको शिर र फेवातालको काखलाई समेटेर लोगो तयार पारेका छौं ।’
प्रदेशका सबै तहका नेतासँग सल्लाह समन्वय गरेर लोगो तयार परिएको प्रदेश प्रचार प्रसार उपसमिति सदस्य न्यौपानेले बताए । ‘प्रदेशभित्रका पार्टीको केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटव्युरो, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुसँग सल्लाह, समन्वय गरेर लोगो तयार पारेका हौं’, उनले भने ।
अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले १५ गते उद्घाटन गर्ने कार्यक्रम छ । पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन शत्रमा ५० हजार कार्यकर्ता उतार्ने एमालेको दाबी छ ।