अखिल छैटौंले बुटवलमा जलायो शिक्षामन्त्रीको पुतला
रुपन्देही । राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियु छैटौंले संसदमा प्रस्तुत शिक्षा विधेयकको विरोध गर्दै शिक्षामन्त्रीको पुतला जलाएको छ ।
विद्यालय शिक्षा विधेयक अव्यवहारिक, अवैज्ञानिक र संविधानविरोधी भएको भन्दै अखिल छैटौंका विद्यार्थीले देशभर विधेयक जलाउनुका साथै शिक्षामन्त्री अशोक राईको पुतला दहन गरेका हुन् ।
अखिल छैटौंले रुपन्देहीको बुटवलमा पनि विद्यालय शिक्षा विधेयक २०८० खारेजी र शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
बुटवलमा प्रहरीले दमन गरे पनि अखिल छैटौंमा आवद्व विद्यार्थीहरुले विधेयक जलाउनुका साथै शिक्षामन्त्रीको पुतला दहन गरेका थिए ।
बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा अखिल छैटौंका केन्द्रीय सचिव सरोजमान सिंहले विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रलाई प्रोत्साहन गरी सरकारी शिक्षालाई उपेक्षा गरेकाले विरोध गर्नपरेको बताए ।
विद्यालय शिक्षा विधेयक खारेज गरेर नयाँ ल्याउन सरकारसँग माग गर्दै उनले भने, ‘संसदमा प्रस्तुत गरिएको विद्यालय शिक्षा विधेयक २०८० खारेज नभए सरकारले थेग्नै नसक्ने गरी आन्दोलनमा उत्रनेछौं ।’
शिक्षा र स्वास्थ्य क्षेत्र दलाल शैक्षिक माफियाको हातमा गइसकेको बताउँदै उनले निश्चित शिक्षा माफियाहरुको रोहवरमा विद्यालय शिक्षा विधेयक आएको दाबी गरे ।
अखिल छैटौंका रुपन्देही अध्यक्ष सागर बेलवासेले विद्यालय शिक्षा विधेयक संविधानविरुद्व आएको भन्दै खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त हुनुपर्ने बताए ।
सरकारद्वारा प्रस्तुत विधेयकमा शिक्षाको निजीकरण र व्यापारीकरणलाई जोड दिएको, निजी स्कुललाई लुट्न छुट दिएर फेरि पनि शैक्षिक माफिया, दलाल र व्यापारीको हातमा शिक्षालाई वैधानिक रूपमै सुम्पेको अखिल छैटौंले बताएको छ ।
विद्यालय शिक्षा विधेयकलाई कलंकित विधेयकको संज्ञा दिंदै अखिल छैटौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले विधेयक खारेजका लागि एकल र संयुक्त रुपमा आन्दोलनमा जान सकिने जनाएका छन् ।
‘शिक्षा ऐनले देशको भूगोल, माटो र आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्दछ । वर्तमान शिक्षा प्रणाली आफैंमा अवैज्ञानिक, अव्यवहारिक र कर्मकाण्डी रहेको छ’, उनले भनेका छन् ।