मेरो कल्पनाको कल्याणकारी राज्य र संविधान दिवस
आज धेरैपछि यो अनुभव गर्दैछु । एक्लै नटोलाएको वर्षौं बितिसकेछ । भारतमा पढ्दाको त्यो क्षण सम्झन्छु, जब एक जना म्यामले भन्नुभएको थियो, ‘आशिष तिमी जहिले केही न केही काममा व्यस्त देखिन्छौ । कहिलेकाहीं आफूलाई पनि समय देऊ । आफूलाई बारम्बार चिन्ने प्रयास गरिरहनुपर्छ । एकान्तमा टोलाउनुको मज्जा नै फरक हुन्छ ।’
उहाँको त्यो भनाइ मेरो दिमागमा यति गहिरिएर बसेको थियो, म समय समयमा एकान्तमा घण्टौं टोलाउन पुग्थें । यसले मलाई आफूलाई पहिचान गर्न मद्दत पुग्यो । आफ्नो जीवनका कतिपय महत्वपूर्ण निर्णयहरु मैले यसरी नै लिएको छु । साहै्र राम्रो तलबको जागिर छाडेर पढ्न जाँदा होस् या विदेशमा पढेर नेपाल फर्किंदा, मैले आफ्ना धेरै निर्णयहरु यसरी नै गरेको छु । पछिल्लो पटक राजनीतिमा हामफाल्नुअघि यसरी घोत्लिएको थिएँ । साँच्चै एकान्तमा एक्लै टोलाउनुको मज्जै बेग्लै हुन्छ ।
आज फेरि राजनीतिमा लागेको केही वर्षपछि आफ्नो राजनीतिक उद्देश्यका लागि टोलाएँ । म कहाँ थिएँ अनि अहिले कहाँ छु ? भविष्य के हो ? अनि के म साँच्चै राजनीतिका लागि सही पात्र हुँ त ? आहा ! कति राम्रो कल्पनामा डुबेको म त- नेपाल त कति समृद्ध र नेपालीहरु कति सुखी !
एकजना बुढी काकी, सायद ७५ वर्षको हुनुहुँदो हो । घरमा एक्लै बसिरहनुभएको थियो । खोकी पनि बेस्कन लागिरहेको थियो । सायद औषधिको जरुरत थियो । मलाई लाग्यो, उहाँका छोराछोरी विदेश हुनुहँदो हो । हेर त बुढी आमाको विचल्ली ! सहयोग गर्न भनेर आमामात्र के भनेको थिएँ, रातो लुगा, रातै टोपी अनि सेतोले केही लेखिएको लुगा लगाएका दुई जना बहिनी आउनुभयो र आमालाई औषधि खुवाएर जानुभयो । म अक्कमक्क परें । मैले आमालाई सोधें, ‘आमा, उहाँहरु को हो ? अनि तपाईंका छोराछोरी खोइ ?’
आमाको जवाफले मलाई थप अचम्मित बनायो । ती दुई जना त उहाँ बस्ने वडाले खटाएका स्वयंसेवक रहेछन् । कति सजिलो रहेछ । हरेक सहयोगको लागि नागरिक एप रहेछ । त्यो एप चलाउन पनि सजिलो रहेछ । वडासँग आफ्नो वडामा बसोबास गर्ने सबैको विवरण हुँदो रहेछ । जरुरतमा हुनेहरुका घरमा हप्तामा एक पटक स्वयंसेवक गएर अपडेट लिँदा रहेछन् । त्यसबाहेक जरुरतअनुसार एक क्लिकमै औषधि तिनै स्वयंसेवकहरुले ल्याइदिने रहेछन् । तिनीहरुलाई सरकारले नै निःशुल्क पढाउँदो रहेछ । अनि काम पनि सरकारले नै दिने । औषधोपचारका लागि छुट्टै पैसा नलाग्ने । सबै सरकारले नै व्यहोर्ने । युवावस्थामा काम गरेबापत योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमले त्यस किसिमको सेवा सम्भव भएको रहेछ ।
अनि मैले फेरि सोधें, ‘आमा तपाईंका सन्तान चाहिँ विदेशमै बस्छन् ?’ त्यसमा पनि म चुकेछु । उनका दुई छोरा रहेछन् । आफूसँग भएको जमिन श्रीमान्को उपचारका क्रममा बेच्नुपरेको कहालीलाग्दो कुरा सुनाइन् आमाले । त्यसपछि पैसा कमाउन भनी दुबै छोरा विदेशिएका थिए रे ! तर अहिलेको सरकार आएपछि भने भूमि बैंकको व्यवस्था गरिएको रहेछ । भूमि हुने तर त्यसको उपयोग गर्न नसक्नेले बैंकमा पैसा राखे जसरी नै निश्चित समयको लागि आफ्नो जमिन सरकारले खडा गरेको भूमि बैंकलाई दिन सक्ने रहेछन् । त्यस्तो जमिन सरकारले कृषि गर्न चाहनेहरुलाई उपलब्ध गराउने रहेछ । त्यसबाट हुने उब्जनीको बजारको ग्यारेन्टी पनि सरकारले एक सहकारीको माध्यमबाट गरेको रहेछ । त्यसपछि त विदेशमा दुःख गर्नुभन्दा नेपालमै केही गर्छौं भनेर फर्केका रहेछन् उनका छोराहरु । अहिले त्यसै काममा गएका रहेछन् ।
हरेक सहयोगको लागि नागरिक एप रहेछ । त्यो एप चलाउन पनि सजिलो रहेछ । वडासँग आफ्नो वडामा बसोबास गर्ने सबैको विवरण हुँदो रहेछ । जरुरतमा हुनेहरुका घरमा हप्तामा एक पटक स्वयंसेवक गएर अपडेट लिँदा रहेछन् । त्यसबाहेक जरुरतअनुसार एक क्लिकमै औषधि तिनै स्वयंसेवकहरुले ल्याइदिने रहेछन् । तिनीहरुलाई सरकारले नै निःशुल्क पढाउँदो रहेछ ।
त्यतिमात्र कहाँ हो र ! जेठो छोराको त बिहे भएर पनि एउटी छोरी रहिछिन् । छोरी प्लेग्रुपमा जाँदी रहिछिन् । त्यो पनि स्थानीय तहले व्यवस्थापन गर्दोरहेछ । बुहारी भने नजिकैको स्कुलमा पढाउने रहिछिन् । उनीहरुको राम्रै कमाइ पनि हुने भएकाले छोरीको प्लेग्रुपको न्यूनतम रकम भने तिर्नुपर्ने रहेछ । कम कमाइ हुने अथवा बुवाआमा पढाइ गरिरहेका छन् भने त त्यो न्यूनतम रकम पनि बुझाउन नपर्ने रहेछ । माध्यमिक तहसम्मको शिक्षा भने सबैका लागि अनिवार्य र निःशुल्क रहेछ । त्यसपछिको पढाइ भनेको आफूलाई रुचि लागेको विषयमा पढ्न मिल्नेरहेछ । धेरै जस्ता विषयहरु प्राविधिक शिक्षा रहेछन्, जसले पढाइपछि रोजगारी सृजनामा सहयोग पुर्याएको रहेछ । माथिल्लो तहको शिक्षाको लागि भने सरकारले न्यूनतम ब्याज लिएर ऋण दिँदोरहेछ । जागिर पाएपछि मात्र किस्ता तिर्नपर्ने रहेछ । अनि जागिर लागेपछि मात्र सो रकमको ब्याजको गणना हुने रहेछ ।
स्वास्थ्य र शिक्षा निःशुल्क भएपछि त भ्रष्टाचार पनि एकदम घटेको रहेछ । अप्ठेरो पर्दा राज्यले नै अपनत्व लिने भएपछि आत्मा मारेर गलत काम गर्न कसलाई पो रहरलाग्दो हो ! राज्यले हरेक आभारभूत कुराको ग्यारेन्टी गरेकाले ४५ प्रतिशत कर पनि जनताले खुशीखुशी तिर्ने रहेछन् ।
आमाले भनिन्, ‘राज्यले हाम्रो आवश्यकताको अपनत्व लिएको छ । अनि हामीले पैसा केका लागि थुपार्नु ? म त भन्छु, बरु ५० प्रतिशत नै कर लिँदा पनि हामी त खुशी हुन्थ्यौं । यदि अर्को कुनै देशलाई यस्तै मोडेलमा लग्न सकिन्छ भने ।’
म झसंग भएँ छोरीको आवाजले । सुतिरहेकी छोरी उठिछ । मैले उनको अनुहार हेरिरहें । कस्तो मज्जाको कल्पनाको संसारमा दुबेको रहेछु । फेरि सोचे हाम्रा अग्रजहरुले यस्तै सोचेर नै यो संविधान बनाएका होलान् । वर्षौं त लोकतन्त्रका लागि लडे । लोकतन्त्र आए आए जस्तो हुने फेरि कुनै न कुनै रुपमा राजाले त्यो लोकतन्त्र अनेक षड्यन्त्र गरेर खोसिहाल्ने ! अब त त्यो समस्या रहेन भन्यो फेरि तिनै शक्तिहरु कुनै न कुनै नाममा सक्रिय रही लोकतन्त्रको हत्या गर्न उद्यत छन् । तर, जनतामा निहित सार्वभौमसत्ता, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको धर्मनिरपेक्ष देश उल्लेखित संविधान साँच्चै नै आजको आवश्यकता पूर्ति गर्न अब्बल छ । कार्यगत व्यवहारिक अप्ठेरा चिर्न संविधान बाधक छैन । संविधान आफैं पनि अपरिवर्तनीय दस्तावेज भने होइन । यसै संविधानमा टेकेर लोककल्याणकारी राज्य सम्भव छ भने अबको बहस त्यतातिर हुनुपर्छ ।
फेरि एकपटक हराएछु । यो संविधानको जगमा कल्याणकारी राज्य स्थापना गर्न सके त सबैले तिनै आमाले झैं सोच्दा हुन् । आखिर नेपाली ससानो कुरामा खुशी हुन्छन्, सहअस्तित्व स्वीकार्छ । अनि धार्मिक, जातीय र क्षेत्रीय सहिष्णुताको पर्याय हो । नेपाली राष्ट्र गानले भने झैं सयौं थुँगा फूलका हामी एउटै माला नेपाली न हौं । यो संविधान दिवसले हामीलाई कल्याणकारी राज्य निर्माण गर्नेतिर ध्यान केन्द्रित गर्न प्रेरित गरोस् । त्यसपछि मात्र समाजवादको बहसको औचित्य दर्शिन्छ । संविधान दिवसको सम्पूर्णलाई हार्दिक शुभकामना !