संविधान रक्षाका लागि वामपन्थी पार्टीहरूबीच एकताको पक्षमा उभिइन् रामकुमारी झाँक्री
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री संविधान रक्षाका लागि वामपन्थी पार्टीहरूबीचको एकताको पक्षमा उभिएकी छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि वामपन्थी शक्तिहरू एकताबद्ध हुनु आवश्यक रहेको बताइन् ।
उनले भनेकी छन्, ‘वाम-लोकतान्त्रिक शक्तिहरूले मिलेर प्रतिस्पर्धामा काम गर्नुपर्छ । तबमात्र जनताले फरक अनुभूति गर्ने गरी काम गर्न सकिन्छ । यो संविधान कार्यन्वयनको दशक पनि हो । त्यसैले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु हाम्रो कर्तव्य हो ।’
उनको भनाइ जस्ताको तस्तैः
आज असोज ३ गते !
नेपाली पूँजीवादी क्रान्ति २००७ साल र त्यस भन्दा अगाडी विभिन्न समयमा भएका विविध स्वरूपको विद्रोहबाट सुरू भएको हो। २०४६ सालको ऐतिहासिक जनआन्दोलन हुदै सशस्त्र युद्ध र शान्तिपूर्ण जनविद्रोहले २०६२/६३ सालमा ऐतिहासिक जनक्रान्तिको रूपग्रहण गरेको हो। यहि २०६२/६३ सालको ऐतिहासिक जनक्रान्तिसम्म आइपुग्दा नेपाली समाजको पूँजीवादी क्रान्तिको युग पनि पुरा भएको छ। यिनै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्ने दस्तावेज २०७२ सालमा आजकै दिन जारी गरिएको हो। त्यो मूल दस्तावेज नै संविधान हो ।
प्रतिक्रान्तिकारीहरूले क्रान्तिका उपलब्धिलाई अवमूल्यन गर्दै, यो केही होइन, के भयो र ? अझै बिग्रियो, हामीले के पायौँ ? जनताले के पाए ? गणतन्त्रले के दियो ? यो संविधानले के दियो ? सबै उस्तै त हुन्, सयौँ राजा बने भन्ने जस्ता भाष्य खडा गरेका छन् । कतिपय बेला यो परिवर्तनको लागि संघर्ष गरेका क्रान्तिकारीहरू पनि बहकिएको देखिन्छ। उतै लोलीमा बोली मिलाउन खोज्छन् । तर, हामी सचेत बनौं ।
क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि बामपन्थि शक्तिहरू एकताबद्ध हुनु आवश्यक छ । वाम-लोकतान्त्रिक शक्तिहरूले मिलेर प्रतिस्पर्धामा काम गर्नुपर्छ । तबमात्र जनताले फरक अनुभूति गर्ने गरी काम गर्न सकिन्छ । यो संविधान कार्यन्वयनको दशक पनि हो ।
त्यसैले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु हाम्रो कर्तव्य हो । परिवर्तनकामी हामी राजनीतिक दल र हाम्रा गलत अभ्यासले संवैधानिक संकटको स्थिति सिर्जना नहोस् भन्ने कुरामा सचेत बन्नुपर्छ । संविधान त गतिशील र परिवर्तनशील दस्तावेज हो भन्ने कुरालाई स्वीकार गर्दै प्रभावकारी कार्यान्वयनका लागि सबैले संकल्प गरौं ।