साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै
काठमाडौं। साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै छ।
दशरथ रंगशालामा बेलुका साढे ५ बजे सुरु हुने खेलमा नेपाल विजयी सुरुवात गर्ने प्रयाशमा रहने छ। नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्ने छ। ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो। यसबीचमा यू-१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन।
सन् २०१७ र २०१९ मा साफ यू-१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यू-२० च्याम्पियनसिप आयोजना भएको थियो। नेपालले सन् २०१७ मा आयोजना भएको साफ यू-१८ च्याम्पियनसिप पनि जितेको थियो।