विश्व अल्जाईमर्स दिवस : के हो अल्जाईमर्स ? कसरी जोखिम कम गर्ने ? (भिडिओ) – Nepal Press

विश्व अल्जाईमर्स दिवस : के हो अल्जाईमर्स ? कसरी जोखिम कम गर्ने ? (भिडिओ)

काठमाडौं । सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गरी नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् ।

विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीवार ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौंले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले सुरुवाती अवस्थामा नै अल्जाईमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन् ।

बिर्सिने रोग परिवारमा धेरैलाई नै भएको हुनसक्ने भन्दै सुरुवातमा रोगको निदान आवश्यक पर्ने विज्ञहरुको जोड छ । अल्जाईमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो ।

यो रोग लागेको व्यक्तिमा शुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिकृया दिन असक्षम हुने हुन्छ । विज्ञहरुका अनुसार अल्जाईमर्स रोगले सोचाई, स्मरणशक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पुर्याई व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ ।

भिडिओ:

बारम्बार एउटै कुराहरु सोधिरहनु, आफूले राखेका सामानहरु फेला पार्न नसक्नु, नियमित गरिरहने कार्यहरु गर्न अफ्ठ्यारो हुनु, सामान्य समस्याहरु समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षिण हुनु, देखेका कुराहरु नचिन्नु अल्जाईमर्स रोगका लक्षणहरु हुन् । न्युरोलोजिष्ट डा.राजु पौडेलले अल्जाईमर्सलाई विस्मृति रोगका रुपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखापर्ने बताए ।

अल्जाईमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनुुभएको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने बताए । उनले अल्जाईमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोषिकाका तन्तुहरु बिस्तारै सुक्दै जाने बताए । डा.पौडेलले नेपालमा अनुमानित एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको बताए ।

उनले अल्जाईमर्स भएका व्यक्तिहरुले गुणस्तरीय स्वस्थ जीवन अवलम्वन गर्नुपर्ने बताए । अल्जाईमर्स भएकाहरुले धेरै चिल्लो पदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताए ।

उनले रक्तचाप नियन्त्रण गर्नुपर्ने भन्दै समयमै उपचार गर्न सके अल्जाईमर्स बढ्ने क्रमलाइ कम गर्न सकिने बताए । अल्जाईमर्स भएकाहरुले नियमित व्यायाम गर्नुपर्ने र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्न नहुने बताए । अल्जाइमर्स भइहालेस्मरणशक्ती बढाउने खालको औषधिहरु दिन सकिने बताए ।

मधुमेह, अत्याधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रुपमा निष्क्रिय जीवनशैली लगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने विज्ञहरु बताउँछन् । ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुको जोड छ ।

न्यूरोलोजिष्ट डा. पौडेलेको भनाइ:

अल्जाईमर्स डिजीज भनेको विस्मृति रोग हो । यसमा स्मरण शक्ती ह्रास हुने सबैभन्दा महत्वपूर्ण कारण हो । धेरैजसो ६५ वर्षको उमेरमा यो रोग देखिन्छ । यो लाग्नुको कारण चाहीँ दिमागमा जुन कोषिकाहरु हुन्छन्, कोषिकाका तन्तुहरु बिस्तारै सुक्दै जान्छ । र, उमेरसँगै बढ्दै गएर स्मरण शक्ति हुने ठाउँमा असर गर्छ । र, स्मरण शक्ति ह्रास हुन जान्छ । बिस्तारै बढ्दै गएर बानी व्यवहारमा परिवर्तन आउने सँगै बिरामीलाई विभिन्न लक्षणहरु आउन सक्छ । नेपालको आँकडा हेर्यौं भने जनसंख्याबाइज रिसर्च भएको छैन ।

तर, आँकडालाई हेर्यौँ भने नेपालमा ६५ वर्ष नाघेको जनसंख्या हेर्यौ भने झन्डै झन्डै पाँच प्रतिशत व्यक्तिहरु छन् । र, त्यसमा ४.५ प्रतिशतलाई बिमारी लाग्छ भन्ने आँकडाले देखाएको छ । एक लाख ३० हजार व्यक्तिलाई विस्मृती रोग छ भन्ने आँकडाले देखाउँछ । पहिले त यसको डायग्नोसिस(निदान) हुनुपर्यो । स्मरण शक्ती ह्रास हुने कारणहरु खोज्छौँ । जस्तैः बिरामीमा कुनै डिप्रेसन छ की छैन, थाइराइडको समस्या छ की छैन, प्रेसर–सुगरको कारणले असर गरेको हो की दिमागमा । यी सबै कुराहरुको रुल आउट गरेपछि यदि कुनैपनि सेकेण्डरी कारण छैन ।

एमआरआईमा ब्रेनको भाग सुक्दै गएको छ, लक्षणहरु विस्मृतिको रोग बढ्दै गएको छ भने लक्षण र जाँचको आधारमा अल्जाइमर्स हो भनेर डायग्नोसिस गर्छौं । ठ्याक्कै यसको निको हुने उपचार छैन । तर, बढ्नेलाई सुस्त गराउने विभिन्न औषधिहरु छ र स्मरणशक्ति बढाउने खालको औषधिहरु दिनसक्छौँ । जसले गर्दा उनीहरुको स्मरणशक्तिमा केही सुधार हुन्छ । र, बढ्ने क्रमलाई सुस्तता गराउँछ । अल्जाईमर्सहरुको हेल्दी लाईफस्टाइल हुनुपर्छ । ब्लडप्रेसर छ भने प्रेसरलाई कन्ट्रोल गर्नुपर्छ । उनीहरुलाई स्वस्थ खाना दिनुपर्छ । धेरै चिल्लो दिनुभएन, नुन कम दिने । सुगर छ भने सुगरको उपचार गर्नुपर्यो ।

भेजिटेबलहरु धेर्रै खुवाउनुपर्छ । फलफूल पर्याप्त मात्रामा दिनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ, चुरोट रक्सी सेवन गर्नुहुँदैन । लाईफस्टाईललाई चेन्ज ग¥यौ भने दिमागलाई कन्ट्रोल गर्नसक्छौ । विस्मृति रोग हाम्रो हरेक परीवारमा सबैलाई हुनसक्छ । हामीले यो बुढ्यौलीको रोग हो भनेर मात्रै सोच्नुहुँदैन । यसलाई हामीले समयमै उपचार ग¥यौ भने बढ्ने क्रमलाई र यसबाट आउने पारिवारिक असरलाई कम गर्नसक्छौँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर