बाँझो जमिनमा सामूहिक आलुखेती
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन् ।
लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् ।
समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेको जानकारी दिए ।
‘तेह्र जनाको समूहमा बाँझो जग्गा खनजोत गरेर स्थानीय जातको आलुखेती गरेका छौँ’, उनले भने, ‘कामको खोजीमा विदेश नगई यही आलुखेतीलाई निरन्तरता दिने योजनामा छौँ । गत जेठको पहिलो हप्ता लगाएको आलु खनेर भित्र्याउने चटारो छ ।’
२० रोपनी जमिनबाट रु पाँच लाख ६२ हजार पाँच सय मूल्य बराबरको ११ हजार दुई सय ५० किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ । लोमान्थाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँको बजारमा आलु खपत हुने गरेको छ । प्रतिकिलो रु ५० का दरले बारीबाटै आलु बिक्री भएको छ ।
चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना उत्पादन भएको आलुले राम्रो बजार पाएकाले आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको समूहका सदस्य राजु गुरुङले बताए ।
‘रासायनिक मल र विषादीको प्रयोगबिना चिसो हावापानीमा प्राङ्गारिक प्रविधिबाट आलुखेती गरेका छौँ’, उनले भने, ‘स्वादिष्ट, स्वस्थ र गुणस्तरीय भएकाले आलुले राम्रो बजार पाएको छ ।’
थिङगरमा आलुखेतीका लागि लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा रु २० लाख अनुदान उपलब्ध गराएको थियो । समूहले थप रु २० लाख लगानी गरेका छन् । अध्यक्ष गुरुङले गाउँपालिकाको अनुदानमा बीउ, मल खरिद र खनजोत गरिएको बताए ।
कृषि ज्ञान केन्द्रले सिँचाइका लागि नहर बनाउन गत आवमा रु दुई लाख सहयोग गरेको थियो । बाँझो जमिनको सदुपयोग, आयात घटाएर आलुमा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धिका लागि सामूहिक आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए ।