सिन्धुको नेकपा एस एमाले र माओवादीले चुँडेर सकिँदै, बाँकी जिल्ला कमिटी नै एमालेमा विलयको गृहकार्य – Nepal Press

सिन्धुको नेकपा एस एमाले र माओवादीले चुँडेर सकिँदै, बाँकी जिल्ला कमिटी नै एमालेमा विलयको गृहकार्य

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर बनेको एकिकृत समाजवादी सिन्धुपाल्चोकमा भने बिर्सजनको संघारमा पुगेको छ । एमालेबाट विभाजन भएपछि धेरै नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा लागेपनि अहिले भने सिन्धुपाल्चोकमा समाजवादी विर्सजन उन्मुख हुन लागेको हो ।

२०७९ चैत ४ गते मेलम्चीमा प्रथम अधिवेशनबाट नवराज पौडेलको अध्यक्षतामा ८५ सदस्य जिल्ला कमिटी गठन गरेको समाजवादीका सचिव र उपसचिव सहित अधिकांश जिल्ला कमिटी सदस्यहरु एमालेमा समाहित भइसकेका छन् । पदाधिकारीमा अहिले अध्यक्ष नवराज पौडेल,उपाध्यक्ष अनिता लामा ,उपसचिवद्धय नरेन्द्र केसी र कुमार राज घतानी मात्रै बाँकी छन् ।

एमालेबाट विद्रोह गरेर समाजवादीमा लागेका पूर्व सासंद समेत रहेका सुवास कर्माचार्य एक महिनाअघि दलबलसहित पुन: एमालेमै फर्किएपछि समाजवादीलाई अहिले पार्टी टिकाउन नै समस्या भएको छ ।

समाजवादीका दुई तिहाई करिव नेता कार्यकर्ता एमालेमा नै फर्किएका छन् भने कतिपय माओवादीमा प्रवेश गर्न थालेका छन् । समाजवादीमा राजनीतिक भविष्य नदेखेपछि समाजवादीमा रहेका नेता कार्यकर्ताहरु एमाले र माओवादीमा प्रवेश गर्न सुरु गरिसकेका छन् ।

बुधबार मात्रै जिल्ला कमिटी सदस्य एवम चौतारा साँगचोकगढी नगरपालिका–१० का पूर्व वडाध्यक्ष बेलबहादुर महत पनि आफूनिकट समाजवादीका कार्यकर्तासहित माओवादीमा प्रवेश गरेका छन् । वडा नम्बर १० को समाजवादीको कमिटी नै माओवादीमा समाहित भएको छ ।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि प्रत्येक पालिका र वडा तहसम्म कमिटी गठन गरेकोमा अहिले पहिलाको जस्तो उत्साह नभएको समाजवादीका एक नेताले जानकारी दिए । यस अघि नै भोटेकोशी गाउँपालिकाको सिँगो कमिटी नै एमालेमा समाहित भएको थियो ।

एमालेबाट समाजवादीमा लागेकाहरुले अहिले समाजवादी छाडेपछि एमालेकै संगठित सदस्य नविकरण गराइसकेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कमल नेपालले जानकारी दिए । ‘समाजवादीमा गएका साथीहरु सबैको पहिलाकै सदस्यता मिति कायम रहने गरेर संगठित सदस्यता नविकरण भएको छ’ नेपालले भने,‘कतिपय साथीहरुले भित्री रुपमा समेत सदस्यता नविकरण गर्नुभएको छ ।

माओवादीसँगको समिकरणमा चौतारा साँगाचोकगढी नगरपालिकामा उपमेयर र कांग्रेससँगको सहकार्यमा जिल्ला समन्वय समितिको उपप्रमुख समाजवादीले पाएको थियो । त्यो बाहेक केही वडा सदस्यहरु मात्रै समाजवादीले जितेको थियो ।

एमालेका नेता कार्यकर्ताहरुले बिर्सदै चुनावको घाउ

स्थानीय निर्वाचनमा धेरै स्थानीय तहमा समाजवादीका कारण एमाले उम्मेदवारहरुले पराजित हुन परेको थियो । मेलम्ची नगरपालिकामा उपमेयरसहित बहुमत कार्यपालिका सदस्य एमालेले जितेपनि करिब १०० मतको अन्तरमा एमाले उमेदवार वालकृष्ण देउजा पराजित भएका थिए ।

समाजवादीका उम्मेदवारले माओवादीसँगको सहकार्यमा एमालेको राम्रो मत काटेको थियो । समाजवादीका कारण नेकपा एमालेले मेलम्ची र भोटेकोशी गाउँपालिका गुमाएको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

‘अन्य पालिकाहरुमा पनि असर त परेको थियो तर मेलम्ची र भोटेकोशीमा भने थोरै मतअन्तरले चुनावमा हाम्रा उम्मेदवारहरु पराजित हुन पर्‍यो’ एमाले अध्यक्ष नेपालले भने ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवारहरु शेरबहादुर तामाङ, सरेश नेपालको चर्काे विरोध गर्ने समाजवादीका नेताहरुलाई केही दिनअघि मुस्कानसहित एमालेका नेताहरुले स्वागत गरेका थिए । भोटेकोशीमा स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार भएर थोरै मतले पराजय भोगेका अमृत खडकाले आफ्नै पहलमा समाजवादीको सिँगो कमिटीलाई एमालेमा विलय गराएका थिए ।

‘एमालेका नेता कार्यकर्ताहरुले विगतको कुरा सबै बिर्सेका छन्,हामी फराकिलो छाती बनाएर साथीहरुलाई स्वागत गरिरहेका छौ एमाले जिल्ला अध्यक्ष नेपालले भने हामीले विगतबाट पाठ सिक्दै मिसन २०८४ का लागि एक ढिक्का भएर लागेका छौ ।’

एमाले नेता सुवास कर्माचार्य पनि आफ्नै घरमा फँर्कदा परिवारका सबै सदस्यहरु पहिलाको भन्दा अझै बढी नजिक भएको अनुभूति आफूले पाएको बताउँछन् ।

प्रतिनिधि छनोटमा सौहद्रता

नेकपा एमाले वागमती प्रदेशको असोज ८ र ९ गते हुने वागमती प्रदेश अधिवेशनमा सुवास कर्माचार्य सचिवको आंकक्षी छन् । एमाले सिन्धुपाल्चोक इञ्चार्ज गोकुल बास्कोटाले कर्माचार्यलाई मनोनितमा होइन भुगोलबाटै प्रतिनिधि भएर आउन भनेपछि केही समस्या हुने हो कि भन्ने चिन्ता एमाले जिल्ला अध्यक्ष कमल नेपाललाई थियो ।

‘चौतारामा केही समस्या होला कि भनेर प्रतिनिधि छनोटको दिन त्यहिँ गएर बसेँ,सबै साथीहरुले कर्माचार्यलाई निर्विरोध प्रतिनिधि छनोट गरेर अझै एकताको सन्देश दिनु भयो’ अध्यक्ष नेपालले भने ।

मेलम्ची नगरपालिकाबाट पनि समाजवादीबाट एमालेमा फर्किएका तीनजना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । एमालेभित्र अब हिजोको कुराहरुलाई लिएर कसैले पनि तुष नराखेको र आफूहरु सबै अब मिसन ८४ का लागि अघि बढ्ने एमाले नेता कर्माचार्यले भने ।

एसको कमिटी नै विलय गराउने तयारी

एमालेले प्रदेश कमिटीको अधिवेशन सकेपछि,जिल्ला अधिवेशनको तयारी थाल्ने भएको छ । जिल्ला सम्मेलन आयोजक समिति बनाउँदा समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेललाई उपसंयोजक बनाएर सम्मेलन आयोजक कमिटी बनाउनेसम्मको गृहकार्य भइरहेको छ ।

समाजवादीको जिल्ला कमिटी विलय गराउन र बाँकी नेता कार्यकर्ता भित्र्याउन पहल एमाले र समाजवादीका जिल्ला नेताहरुले गरेपनि उपसंयोजकको विषयमा दुवै दलका नेताहरुबाट यसको पुष्टि हुन सकेको छैन ।

तर उच्च स्रोतका अनुसार एमाले र समाजवादीका सिन्धुपाल्चोकबाट केन्द्रीय कमिटीमा पुगेका र जिल्ला तहका नेताहरुसँग निरन्तर वार्ता र छलफल भने भइरहेको छ ।

गोकुल बास्कोटा सिन्धुपाल्चोक इन्चार्ज भएर गएपछि नेकपा एसका प्रभावशाली नेता सुवास कर्माचार्यसहितको टिमलाई एमालेमा फर्काइसकेका छन् । बास्कोटाकै निर्देशनबमोजिम बाँकी रहेका कमिटीहरुलाई पनि एमालेमा फर्काउन जिल्लाका नेताहरुले वार्ता चलाइरहेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर