सरकारको प्रस्टीकरण- शिक्षकहरुले उठाएका संवैधानिक विषयमा सहमति हुँदैन (भिडिओ)
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुसँग संवैधानिक विषयमा कुनै सहमति हुन नसक्ने प्रस्ट पारेको छ ।
सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमतिपछि सरकारकी प्रवक्ता रेखा शर्माले शिक्षकहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
शिक्षकहरुले उठाइरहेको स्थानीय तहहरुलाई शिक्षकहरुको सरुवा बढुवा दिनु हुँदैन भन्ने माग राख्नुभएको थियो । त्यो विषयमा पनि सहमति भएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘संवैधानिक इस्युमा सहमति हुन सक्दैन । अहिले स्थानीय तहकै मातहतमा मावि तहका विद्यालयहरु छन् । कसैलाई संविधान चित्त बुझ्ला, कसैलाई नबुझ्ला । संविधान नियम, कानूनभन्दा बाहिर सरकार जान सक्दैन । सरकार जाँदैन।’
उनले स्थानीय सरकार मातहत भइसकेपछि हुने समस्याको विषयमा शिक्षकहरुले उठाएको विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सकिने बताइन् ।
संविधान र कानूनले दिएको अधिकार दायाँबायाँ गर्ने छुट न सरकारलाई न त शिक्षकलाई भएको उनको भनाइ छ ।