पूर्वसहमतिअनुसार महराका बाबुछोरामाथि छानबिन गर्ने एमालेको प्रस्ताव गृहमन्त्रीद्वारा अस्वीकार
काठमाडौं । सरकारले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्ने एमालेको प्रस्ताव अस्वीकार गरेको छ ।
आज सुन तस्करीका विषयमा आयोग गठनका विषयमा गृहमन्त्रीले डाकेको छलफलमा एमाले सचेतक महेश बर्तौलाले सो प्रस्ताव राखेका थिए ।
राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले गत भदौ ६ गते सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग असोज ५ गते बनाउने निर्णय गरेको थियो । उक्त सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटकपटक तस्करी भइ सुन आइरहेकोमा यसलाई नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।
भेप प्रकरणमा माओवादी नेता महरा र उनका छोरा जोडिएका छन् । तर, आजको बैठकमा यो विषयमा अनुसन्धान गर्न गृहमन्त्रीले अस्वीकार गरेका हुन् ।
एमाले सचेतक बर्तौलाको प्रस्तावमा ‘२०८० साउन २ र सोभन्दा अघि वा पछि विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) र ब्रेक शुमा राखी अन्य तरिका अपनाइ विभिन्न स्थानबाट गरिएको सुनको अवैध तस्करीको प्रकृति, परिणाम, दायरा र सो कार्यमा संलग्न व्यक्तिहरुका सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष छानबिन र अनुसन्धान गरी कानूनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने उल्लेख छ ।
बैठक विनानिष्कर्ष सकिएको छ । आजै अर्को बैठक बस्ने बताइएको छ ।
बैठकपछि एमाले सचेतक बर्तौलाले सरकार पूर्वसहमतिबाट पछि हट्न खोजेको आरोप लगाए । ‘सरकार जिम्मेवारीबोधका साथ अगाडि बढ्न र भएका सहमतिलाई पालना गर्न तयार छैन’, उनले भने ।