विश्वकपअघि भारतको सफलताः क्रिकेटका तीनवटै फर्म्याटमा नम्बर १ – Nepal Press

विश्वकपअघि भारतको सफलताः क्रिकेटका तीनवटै फर्म्याटमा नम्बर १

काठमाडौं । एकदिवसीय विश्वकपको पूर्वसन्ध्यामा भारत क्रिकेटका तीनवटै फर्म्याटमा नम्बर एक वरियतामा उक्लिएको छ । हिजो भएको खेलमा अष्ट्रेलियामाथि ५ विकेटको जित दर्ता गरेसँगै भारतले यो सफलता पाएको हो ।

भारत टेस्ट र टि–२० मा नम्बर एक थियो भने एक दिवसीयमा दोस्रो स्थानमा थियो । अष्ट्रेलियामाथिको जितपछि पहिलो स्थानमा रहेको पाकिस्तानलाई पछाडि धकेलेर भार एकदिवसीयमा पनि नम्बर एक बन्न सफल भयो । अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

तीनवटै फर्म्याटमा पहिलो बन्ने भारत पहिलो टिम भने होइन । सन् २०१२ मा साउथ अफ्रिकाले पनि यो कीर्तिमान रचिसकेको छ ।भारतको यो सफलता कति दिगो रहला भन्ने चाहीँ यसै भन्न सकिँदैन ।

दोस्रो स्थानमा रहेको पाकिस्तानमाथि भारतले केवल १ प्वाइन्टको झिनो अग्रता लिएको छ । भारतको रेटिङ प्वाइन्ट ११६ छ भने पाकिस्तानको ११५ छ । जारी श्रृंखलाका दुई खेलमा अष्ट्रेलियासँग पराजित भएको खण्डमा भारत वरियतामा तल झर्न सक्नेछ ।

नम्बर एक दौडमा रहेको अष्ट्रेलियाले साउथ अफ्रिकासँग लगातार तीन एकदिवसीयमा हार व्यहोरेको थियो । भारतसँग थप दुई पराजय व्यहोरेको खण्डमा अष्ट्रेलिया थप खस्किन सक्छ । विश्वकपको सदाबहार दावेदार रहेको अष्ट्रेलियन टीम त्यति राम्रो लयमा देखिएको छैन ।

खेलाडीहरुको वरियता सुचीमा पनि भारतका चार जना नम्बर एक स्थानमा छन् । एकदिवसीयको नम्बर एक बलरमा मोहम्मद सिराज, टि–२० को नम्बर १ ब्याट्सम्यानमा सुर्यकुमार यादव, तथा टेस्टको नम्बर एक बलरमा रविचन्द्र आश्विन र नम्बर एक अलराउन्डरको स्थानमा रविन्द्र जडेजा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *