गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीसँग हिरा मोती, अर्थमन्त्रीसँग एकनाले बन्दुक – Nepal Press

गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीसँग हिरा मोती, अर्थमन्त्रीसँग एकनाले बन्दुक

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण करिब ५ महिनापछि सार्वजनिक भएको छ । नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिता रहेपनि मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण कबिर ५ महिनापछिमात्रै सार्वजनिक भएको हो ।

मुख्यमन्त्रीसँग हिरा २ सेट एक सेट मोती

सार्वजनिक भएको विवरणअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग २ सेट हिरा र एक सेट मोती छ । उनीसँग चाँदी ५ सय, सुन ४२ तोला रहेको उल्लेख छ । जग्गा बेचेर हिरा किनेको उनले उल्लेख गरेका छन् ।

पाण्डेसँग काठमाडौं महानगरपालिका-३ मा ९ आना २ दाम क्षेत्रफलमा बनेको घर सम्पत्ति पैतृकको रुपमा छ । गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर पनि सम्पत्ति पैतृक रहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री पाण्डले राष्ट्रिय वाणिज्य बैंकबाट २३ लाख ऋण लिएको उल्लेख गरेका छन् । उनकी श्रीमतीको नाममा ३२ लाखको स्कारपियो छ ।

एभरेस्ट बैंकमा आफ्नो २४ लाख ९६ हजार नगद मौज्दात, श्रीमती बिना पाण्डेसँग प्रभु बैंकमा मुद्दती खातामा ६० लाख नगद र छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आईएमईमा एक लाख ५६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले लेखेका छन् । श्रीमतीको नामको ६० लाख रुपैयाँको स्रोत तलब तथा उपदान छ ।

अर्थमन्त्रीसँग एकनाले बन्दुक

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले सम्पत्ति विवरणमा एकनाले १२ बोरको बन्दुक रहेको उल्लेख गरेका छन् । २०५४ भदौ ८ गते स्वआर्जनबाट ३३ हजारमा बन्दुक खरिद गरेको उनले खुलाएका छन् । तनहुँकै भिमादमा २५ कित्तामा जग्गा छ । सगोलमा वडा नं। ५ मा नै ५ कित्तामा जग्गा छ । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय सेयर रहेको उल्लेख गरेका छन् ।

पैतृक रूपमा तनहुँको ६ रोपनी १० आनामा फैलिएको निजी वन रहेको खुलाएका छन् । पैतृकरूपमा २०५४ सालमा आफूले यो वन पाएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पैतृक सम्पतिकै रूपमा २१ तोला सुन र २७ तोला चाँदी रहँदा ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको उनले उल्लेख गरेका छन् ।

यातायातमन्त्रीसँग स्काभेटर

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्काभेटर र ट्याक्टर रहेको उल्लेख गरेका छन् । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की पैतृक घर भएको बताएका छन् । ९५ लाखको स्काभेटरमा मन्त्री जुग्जालीले २० लाख लगानी गरेका छन् । २०७५ सालमा २३ लाख रुपैयाँमा ट्याक्टर र ०७४ मा ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेका उनले लेखेका छन् ।

मालिकामै मन्त्री जुग्जालीको नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा छ । मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन, गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन् ।
जुग्जालीले हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेका छन् । ६० लाख ऋण छ । एकसय ५० वटा सुन्तलाको बोट र बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी भइरहेको उनले खुलाएका छन् ।

वनमन्त्रीसँग दुईवटा भैँसी

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले एक लाख ६० हजारमा किनेका दुईवटा भैँसी रहेको उल्लेख गरेका छन् । उनले ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर र पिकअप गाडी ११ लाख ५० हजार खरिद गरेका छन् ।

थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ । दुई लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर र ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् ।

थापाको बागलुङ नगरपालिका(३ मा घरजग्गा छ । अंशबन्डा नभएको पैतृक सम्पतिका रूपमा बागलुङ ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।

सामाजिक विकासमन्त्रीको जुम्लामा सम्पत्ति

सामाजिक विकासमन्त्री सुशिला सिंखडासँग श्रीमतिको नाममा जुम्लामा सम्पत्ति रहेको उल्लेख छ । श्रीमान् जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका-२ मा पुर्ख्यौली सम्पत्ति छ ।

बैंकमा १ लाख ७० हजार मौज्दात र वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको उल्लेख छ । १० लाख बराबरको विभिन्न कम्पनीको सेयर र २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् ।

सिंखडाको ललितपुरको गोदावरीमा ६०४ वर्ग मिटर जग्गा र नवलपुरको गैँडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३९५ वर्ग मिटर जग्गा छ ।

ऊर्जामन्त्रीसँग ९५ लाख रुपैयाँ ऋण

जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ९५ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेकी छन् । उनले एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल रहेको उल्लेख छ ।

स्याङ्जा वालिङमा पुर्ख्यौली घरजग्गा देखाएकी छन् । परिवारका सदस्यहरूको नाममा २७ वटा कित्तामा जग्गा छ । २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत् आयोजनामा सेयर रहेको छ । अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी र तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको उनले उल्लेख गरेकी छन् ।

कृषिमन्त्रीसँग ट्याक्टर

कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जीसीले स्वार्जनबाट खरिद गरेको ट्याक्टर रहेको उल्लेख छ । नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर र १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जीसीले उल्लेख गरेका छन् । पैतृक रुपमा ४० तोला सुन र २० तोला चाँदी रहेको उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर