सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली – Nepal Press

सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।

स्वर्ण युगको झल्को दिने गरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरू आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनै पर्ने बताए ।

अध्यक्ष ओलीले देशको मूल्यमा कुनै पनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए ।

उनले भने

प्रश्न के हो भने अगाडि बढ्ने हो भने देशलाई शिरमा राख्न सक्नुपर्दछ । सबभन्दा माथि देशलाई राख्न सक्नुपर्दछ । आफ्नो स्वार्थलाई शिरमा राख्यो भने, आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन ।

देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन । देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरू चलेका छन् नि । यस्ता काण्डहरू चलाउनु हुँदैन । म काण्डहरू चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु । यस्ता काण्डहरू चलाउनु हुँदैन । यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ? चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँद्ने ?

मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यस स्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदि इत्यादि छ भन्न सकिँदैन । सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् ।

सुन त यहाँ ब्रेक सुमा सुनै सुन । भेपमा सुनै सुन । सिग्रेट खान खोज्यो सुनै सुन । पानी चलाउने मोटर ल्यायो, सुनै सुन । जे छोयो, त्यो सुनै सुन । स्वर्ण युग आयो भन्दै छ सरकार । यति सुन आएको छ । फेरी स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दै छ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको विरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ ।

उहिले हामी गोल्डेन टच भन्ने पढ्थ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरूमा सुन बोकिन्छ । पहिले पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।


प्रतिक्रिया

One thought on “सरकार आफैँले सुन तस्करी गरिरहेको छ : ओली

  1. प्रचण्डदेखि तलसम्मका नेता सुनकाण्ड र भुटानी शरणार्थी काण्डमा जोडिएका छन् । काँग्रेसको त जन्म नै लुटन भएको हो । अर्थमन्त्री कै संरक्षणमा सुन तस्करी भैरहेको छ । अर्थमन्त्रीलाई आरजुको संरक्षण छ । आयोग बनायो भने सबै तानिनुपर्छ भनेर यो लठबन्धनले या त आयोग बनाउन मान्दैन या उनीहरूको पालाको सुन तस्करी छानबिन नगर्ने शर्तमा बनाउन तयार हुन्छ । अब जनताले यस्ता सुन तस्कर, लुटेराहरूलाई छान्ने कि एमालेलाई विचार गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर