एमाले बागमती अधिवेशन र पार्टी पङ्तिलाई दिनुपर्ने सन्देश
मार्टिन लुथर किङले भनेको एउटै शब्द थियो (I have a dream) ‘म सँग सपना छ’ । उनले देखेको या भनेको सपना प्रति अमेरिकी जनताहरुमा विश्वाश र भरोसा थियो । नेतामा सपना देख्ने क्षमता चाहिन्छ । त्यो सपना भनेको जनताको हित, राष्ट्रको समृद्धिको ।
लुथर किङले भनेझैं देश र जनताको हित हुने सपना नदेख्ने नेता, जनताको नेता हुन सक्दैनन् तर नेता मात्रै चाहिँ हुन सक्छन्, नेतृत्व गर्न सक्दैनन् । तर देशबाट मस्त लिने, आफू, परिवार अनि आफन्तलाई पोस्ने खालको, देशको हितमा केही नगर्ने व्यक्ति नेता हुन सक्दैनन् ।
नेता हुनु र नेतृत्व गर्नु अलग कुरा हो । नेतामात्रैले नेतृत्व नगर्न सक्छन् तर जसले नेतृत्व गर्छ, ऊ खास नेता हो । असल नेता हुन अझ नेतृत्व गर्न त्यति सहज छैन । तर, अहिले पछिल्लो समय जो पनि नेता भएका छन् । ती नेता टोले गुण्डाजस्तै देखिन्छन् ।
असली नेता त्यो हो, जसले भिडलाई पछि लगाउन सक्छ । भिडको पछि लाग्ने त नेता नै होइन । तर, विडम्बना नेपालमा भिडलाई पछि लगाउने भन्दा भिडको पछि लाग्ने ‘कथित नेता’ हरूको संख्या लगभग शतप्रतिशत नजिक छ ।
आजको मूल प्रश्न नै यही हो कि, नेतृत्व गर्ने कि नेता हुने त ? कुनै पनि सामाजिक, आर्थिक, साँस्कृतिक आदि पक्षको वृत्ति- विकासको लागि नेता नै हुनुपर्छ भन्ने छैन । तर काम गर्ने आँट, दृढ विश्वास अनि समाज रुपान्तरणको सपना देखियो भने नेता हुन जरुरत नै पर्दैन । नेतृत्व स्वतः आइपुग्छ ।
कहिलेकाहीँ मान्छेको कर्मले नै पद खोज्दै आइपुग्छ । तर, जसले बढी पद खोज्छ, उसमा जिम्मेवारीको भारी अत्यधिक हुन्छ, कुनै काम पनि राम्रो सँग कार्यसम्पादन गर्न सक्षम हुदैन् । त्यस्ता प्रवृत्ति भएकाले कामभन्दा पदमा, त्यो पनि आर्थिक लाभमा ध्यान दिन्छ, त्यस्ता प्रवृत्ति भएका व्यक्ति नेतामात्रै चाहिँ हुनसक्छ । तर, नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैनन् । अर्थात् नेतृत्व गर्न सक्दैनन् ।
पार्टी-आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ?
अहिलेको मुख्य समस्या नै यही हो कि, पार्टी-आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ? । पछिल्लो समय पार्टी र आन्दोलन कमजोर किन नहोस्, कुनै प्रवाह नराख्ने तर जसरी पनि आफू नेता बन्न लागि पर्ने । यो प्रवृत्ति अधिक रहेको छ । नेपालमा पछिल्लो समयमा च्याउसरी पार्टी निर्माण हुनुमा यो पनि एक प्रमुख कारण हो ।
नेता भएपछि जतासुकै आफ्नो मान बढेको सम्झने, प्रहरी-प्रशासन, कर्मचारीमा सरुवा-बढुवा आदिमा ‘नेता’ भन्ने चिजको ग्लामर देखाउन पनि आन्दोलनको वास्ता नगरी पदको लागि मरिहत्ते गरेका छन् । विभिन्न पार्टी परित्याग गरेर सानको साथ एउटा आन्दोलनमा सहभागी भएकाहरुको अपवित्र गठबन्धन अनि सिद्धान्त नै नमिल्ने पार्टीमा प्रवेश ।
विचार या सैद्धान्तिक पक्षलाई सीधै तिलाञ्जलि दिने, नयाँ जोगिले धेरै खरानी घस्छ भन्ने कुरालाई पुष्टि गर्ने, त्यो पनि लाजले पनि शरम मान्ने गरी । यस्ता प्रवृत्तिका नेताहरू आफ्नो स्वार्थ अनुकूल विभिन्न राजनितिक दलमा भित्रिने बाहिरिने गरिरहन्छन् । यस्ता उदाहरण हेर्ने हो भने बग्रेल्ती भेटिन्छन् ।
आज नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशन काठमाडौंमा हुँदैछ । यो अधिवेशन महत्वपूर्ण छ । किनभने, बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन हो । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । लुम्बिनीले नेतृत्व प्रत्यक्ष चुनेर एक खालको सन्देश प्रवाह गरिसकेको छ । ‘सुमेरु पर्वत’ परिक्रमा गर्ने नै नेता हुन्छन् भन्ने सकारात्मक सञ्चार दिइसकेको छ । बागमतीले यो अधिवेशनबाट के सन्देश दिन्छ त ? बागमतीबाट अन्य प्रदेशले के सिक्न सक्छन् त ? पक्कै पनि अन्य प्रदेशको लागि सिक्नलायक काम गर्नुपर्छ । नेतृत्व चयन प्रविधिक कुरा भयो । मूल कुरा कस्तो खाले नीति अवलम्बन गर्छ भन्ने कुरा हो ।
बागमती प्रदेश कमिटीका केही कार्यभार छन् । जुन कार्यभारले पार्टी काम उठाउन र जनतासँग प्रत्यक्ष जोडिन सहज हुन्छ । ती कार्यभार निम्नानुसार छन्-
- एमालेको संगठन (लय) पुरानै स्थितिमा पुर्याउन/फर्काउन पर्ने चुनौती छ ।
- युवापुस्ताहरूको पलायन रोक्नु प्रमुख चुनौती छ ।
- नवयुवाहरू पार्टीमा ल्याउनैपर्ने चुनौती छ ।
- संगठनलाई अझै मजबुत स्पातिलो बनाउनुपर्ने छ ।
- कार्यकर्ताहरुलाई फलामे अनुशासनमा राख्नुपर्ने चुनौती छ ।
- एमालेले सरकारमा हुँदा गरेको कामको व्यापक प्रचार गर्नुपर्ने छ ।
- कार्यकर्ताहरुलाई कम्युनिष्ट आन्दोलन, मार्क्सवाद, जबज आदि विषयमा प्रशिक्षण दिएर वैचारिकरूपमा धारिलो बनाउनुपर्ने चुनौती छ ।
- पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने छ ।
- नेता, कार्यकर्ताहरूको उचित व्यवस्थापन गर्नुपर्ने छ ।
- नेतृत्वको जाम खुलाउने चुनौती छ ।
- पार्टीमा युवापुस्ता र पहिलो/दोश्रो पुस्ता मिलाएर नेतृत्व स्थापित गर्ने मुख्य चुनौती छ ।
- पार्टीविरुद्ध चौतर्फी घेराबन्दी छ, त्यो घेराबन्दीलाई तोड्दै पार्टीलाई एकढिक्का बनाएर जनतामाझ जान झनै चुनौती छ ।
- पार्टीविरुद्ध व्यापक कुप्रचार र गलत सन्देश फैलाएको छ, त्यो चिजलाई चिर्दै, जनतामाझ सत्यतथ्य विषय पुर्याउने पर्नेछ ।
हो, बागमती प्रदेशमा यस्तै चुनौती सामना गर्ने नेतृत्वको खाँचो छ ।
अन्त्यमा, पार्टी अध्यक्ष केपी ओलीको सपना एमालेको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई साकार पार्नुछ । नेपाललाई विकास गर्नुछ । नेपालीको जीवनस्तर सुधार्नु छ । आधारभूत चिजहरू सर्वसुलभ गर्नुपर्छ छ । शिक्षा, स्वास्थ्य आममानिसको पहुँचमा पुग्ने बनाउनु छ । र मुख्य अभिभारा समानता सहितको समातामूलक समाज निर्माण गर्नुछ ।