एमाले बागमतीको सचिवमा सिन्धुकै दुई नेता मैदानमा, काठमाडौंकी रत्न गुरुङले दिँदै चुनौती
चौतारा । नेकपा एमाले बागमती प्रदेशको आजदेखि सुरू भएको प्रथम अधिवेशनको नेतृत्वका लागि नेताहरू कसरतमा छन् । अध्यक्षमा आधा दर्जन नेताहरूले आकांक्षा देखाएका छन् । अध्यक्षपछि अर्काे महत्वपूर्ण पद सचिवमा भने हालसम्म तीनजनाको मात्रै नाम चर्चामा छ ।
केही नेताले सचिवमा सिन्धुपाल्चोकबाट पूर्वसांसद समेत रहेका सुवास कर्माचार्यलाई सर्वसम्मत उमेदवार बनाउनका लागि पहल सुरू गरेका छन् । कर्माचार्य केही समय अघि मात्रै नेकपा एकीकृत समाजवादी छाडेर मूलघर एमालेमा नै फर्किएका थिए ।
एमाले पोलिटब्युरो सदस्य एवम् सिन्धुपाल्चोक इञ्चार्ज गोकुल बास्कोटाले कर्माचार्यलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरुलाई भेट गरेर कर्माचार्यलाई प्रदेश सचिव बनाउनेगरी पार्टीमा फर्काएको त्यसबेला चर्चा थियो ।
सिन्धुपाल्चोकमा अन्य नेताहरूको तुलनामा कर्माचार्यको जनाधार राम्रो रहेकाले पनि एमाले केन्द्रीय नेताहरू कर्माचार्यलाई सर्वसम्मत सचिव बनाउने र निर्वाचन भएमा पनि उनको पक्षमा माहौल सिर्जना गर्नका लागि आन्तरिक रुपमा नेताहरुलाई भनिसकेको जिल्लाका नेताहरुले बताएका छन् ।
सचिव पदकै सिन्धुपाल्चोकका हस्त पण्डितलाई अघि सारिएको छ ।
पण्डित नेकपा एमाले सिन्धुपाल्चोकको नेतृत्व गरिसकेका तर अहिलेसम्म जनप्रतिनिधि बन्न नपाएका नेता हुन् । जिल्लामा सधैँ केपी ओलीको पक्षमा उभिने नेतामा पण्डित पनि पर्छन् । उनले पनि सचिवमै दावी गरेपछि सिन्धुपाल्चोकबाट सचिवमा दुई उम्मेदवार देखिएका छन् ।
आफूले समग्र बागमती प्रदेशको जनभावनको कदर गर्दे सचिवमा उमेदवारी दिएको र सबै नेता र प्रतिनिधिहरूले समेत आफूलाई सहयोग गर्ने सचिवका उमेदवार कर्माचार्यले बताए । सचिवकै लागि काठमाडौंकी रत्न गुरुङले पनि लबिङ बढाएकी छन् । संविधान सदस्यसमेत रहिसकेकी गुरुङ लामो समय काठमाडौं जिल्लामा क्रियाशील महिला नेता हुन् । गुरुङ बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रकी हुन् ।