एमाले कर्णाली प्रदेश अध्यक्षमा मेनका पछाईको दाबी
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाकी मेनका पछाईले दाबी गरेकी छन् । सर्वसम्मत नेतृत्व चयन नभए आफू अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेको पछाईले नेपाल प्रेसलाई बताइन् ।
दुईपटक प्रदेश कमिटी सदस्य रहिसकेकी युवा नेता पछाईले भनिन्- कर्णालीको नेतृत्व सर्वसम्मत चयन हुँदा म योग्यता, क्षमता र हैसियतअनुसारको जिम्मेवारीमा बस्न तयार छु । निर्वाचनको अवस्थामा अध्यक्ष पदमा मेरो पनि दाबी छ ।
अनेरास्ववियुको केन्द्रीय नेतृत्वबाट बिदा भएदेखि पार्टीको कर्णाली प्रदेश कमिटी र जुम्ला जिल्ला कमिटीमा रहेर काम गरेकी पछाई पछिल्लोपटक केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको दाबेदार थिइन् ।
उनीभन्दा जुनियर र समकक्षीहरु केन्द्रीय सदस्य मनोनयन हुँदा छुटाइएकी पछाईलाई समानुपातिक सूचीबाट सांसद बन्नबाट पनि अन्तिम समयमा बञ्चित गरिएको थियो । उनी जुम्लाको भूगोलमा काखे बच्चा बोकेर पार्टी संगठनमा सक्रिय भएर हिड्ने महिला नेता हुन् ।
सर्वसम्मत नेतृत्व चयन हुँदा पदाधिकारीमा बस्त तयार रहेकी पछाईले प्रतिस्पर्धाको अवस्था आएमा अध्यक्षमै उम्मेदवार बन्ने बताएकी छन् । एमालेको कर्णाली अधिवेशन असोज १० र ११ मा हुँदैछ ।