हलन्तबाट उब्जेको ज्वलन्त बहस: ॐ शब्द हो कि अक्षर ? – Nepal Press

हलन्तबाट उब्जेको ज्वलन्त बहस: ॐ शब्द हो कि अक्षर ?

काठमाडौं । ‘ॐ’ अक्षरलाई शब्दकोषबाट हटाइएको भन्ने विषय अहिले चर्चामा छ । २०७३ साल भदौ २२ गते दायर भएको रिटमा सात वर्षपछि अहिले सर्वोच्च अदालतले एमिकस क्युरी गठनको आदेश दियो । जबकि यो विवादको समाधान त्यतिबेलै भइसकेको थियो ।

अधिवक्ता स्वागत नेपालले ‘विदेशीको षड्यन्त्रमा संयुक्त अक्षरहरु हटाएर नेपाली भाषाको चीरहरण गर्न खोजिएको’ भन्दै रिट हालेका थिए । उनले रिट निवदेन दिएको चार दिनपछि नै अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यसैबीच गत भदौ ४ गते यो मुद्दाबारे एमिकस क्युरी गठनका लागि नेपाल बारका नाममा आदेश जारी भएको छ । न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माले एमिकस क्युरी गठन गर्न आदेश दिएका छन् । अदालतले कुनै पनि मुद्दामा विज्ञहरुको रायसल्लाह लिन चाहेमा इजलासको सहयोगीको रुपमा एमिकस क्युरी बनाउन सक्ने प्रावधान छ । तर, एमिकस क्युरीले दिने सल्लाह इजलासका लागि बाध्यकारी भने हुँदैन ।

हलन्त लगाउने प्रसंग के हो ?

‘कुद््याे ’, ‘खेद्‍यो’ जस्ता नेपाली शब्दका अक्षरमा हलन्त लगाइन्छ । हलन्त नलगाइ शब्दको अर्थ पनि निस्कँदैन ।

अर्कातिर अहिले ‘विद्यालय’लाई ‘विद्यालय’ भनिन्छ । उच्चारण गर्दा ‘वि’ पछि आधा ‘द’ र ‘ध’ अक्षरको ध्वनि प्रयोग गरेर मान्छेहरुले ‘विद्यालय’ भनेर उच्चारण गर्छन् । तर, व्याकरणअनुसार यस शब्दको ध्वनि भनेको ‘विद्यालय’ हो । जहाँ ‘वि’पछि आधा ‘द्’ र ‘या’ आउँछ । त्यसकारण पनि ‘विद्यालय’को उच्चारणमा ‘ध’ कतै पनि आउँदैन ।

यस्तै ‘उद्योग’ वा ‘विद्युत’मा पनि ‘ध’ अक्षरको उच्चारण नेपाली व्याकरणअनुसार गलत हो । तर, अहिले मान्छेहरु ‘उद्योग’ र ‘विद्युत’मा ‘ध’ उच्चारण गर्छन् । जुन सरासर गलत रहेको भाषाविद्हरु बताउँछन् ।

ठाडो धर्को नभएका अक्षरहरु ‘ङ’, ‘ट’, ‘ठ’, ‘ड’, ‘द’ लगायत अक्षरहरु काट्नुपर्‍यो या आधा लेख्नुपर्‍यो भने हलन्त लगाउनुको विकल्प हुँदैन ।

पछिल्लो समय ‘ङ’ अक्षरलाई आधा लेख्नुप¥यो भने ‘ङ’ नलेखी शिरविन्दुको प्रयोग गर्ने गरिन्छ । जस्तो ‘पङ्खा’को ठाउँमा ‘पंखा’, ‘मूल्याङ्कन’ को ठाउँमा ‘मूल्यांकन’ लगायत । यसरी लेखिँदा शब्दको जुन वास्तविक ध्वनि हो, त्यो नै गायब हुने प्राध्यापक तथा भाषाविद् हेमाङ्गराज अधिकारी बताउँछन् ।

शब्दको सही उच्चारण गर्न नजान्दा, ‘श’को ठाउँमा ‘स’ उच्चारण गर्दा, ‘ष’को ठाउँमा ‘ख’ उच्चारण गर्दा नेपाली भाषाको सरसपूर्ण ध्वनि नै गायब हुने गरेको अधिकारीको भनाइ छ । यो समस्या विकराल रुपमा त पछिल्लो समयका नेपाली गीतहरुमा देखिने गरेको अधिकारीको दाबी छ ।

अधिकारी भन्छन्, ‘खुट्टा काट्नैपर्ने ठाउँमा काट्नुपर्छ । शिरविन्दु लगाउने ठाउँमा ‘ङ’ लगाउने होइन । सबैले आआफ्नै तरिकाले भाषालाई चलाउँदा भाषाको प्रकृति हरायो । अब ‘मूल्याङ्कन’लाई ‘मुल्यांकन’ लेख्ने हो भने ‘लमजुङ’लाई ‘लमजुं’, ‘तामाङ’लाई ‘तामां’ लेखे भइगयो नि ! हामीले वास्तविक ध्वनि र प्रकृति हराउँदै गएका शब्दहरुलाई चाहिँ राम्रोसँग चलाउनुपर्छ भनेर कोसिस गरेका थियौं । सबैमा हलन्त लगाउनुपर्छ भनेका थिएनौं । धर्को नभएका, खुट्टा काट्ने विकल्प नभएका अक्षरहरुको चाहिँ खुट्टै काटिदिऊँ । स्कुलका विद्यार्थीहरुलाई यसबारे राम्रोसँग बुझाऔं भनेर कोसिस गरेका थियौं । तर, मान्छेहरुले अनर्थ बुझे ।’

साथै आफूहरुले ‘श्री’, ‘ॐ’ जस्ता संयुक्त अक्षरहरु शब्दकोषबाट नहटाएको बताउँछन् अधिकारी । शब्दहरुको ध्वनि र प्रकृतिलाई बचाउन बच्चाहरुलाई यसरी पनि पढाउन सकिन्छ भनेर कोसिस गरेको उनको भनाइ छ ।

‘व्याकरणमाथि विवाद पहिल्यैदेखि थियो’

‘ॐ’ संयुक्त अक्षर हो । कतिपय भाषाविद् त यसलाई अक्षर नभएर शब्द पनि भन्छन् ।

अहिले पनि शब्दकोषबाट ॐ हटेको छैन । २०४० सालको नेपाल प्रज्ञा प्रष्ठिानको शब्दकोषमा ओमलाई ‘ओं’ भनेर लेखिएको छ । तर, ‘ओम’ शब्द अधिकांश वर्णमालामा भने छैन । ॐसँगै विवादमा आएको अर्को प्रसंग हो हलन्त ।

२०४० सालको शब्दकोषमा एक खालको वर्णविन्यास आएको थियो । झर्रा शब्दहरुमा अगाडि र बीचमा ह्रश्व लेख्ने, पछाडि ईकार भए दीर्घ, उकार भए ह्रश्व लेख्ने कुरा आएको थियो । आगन्तुक शब्दलाई पनि नेपाली भाषाको प्रकृतिअनुसार नै लेख्ने निर्णय एकेडेमीले गरेको थियो ।

पहिला ‘शिकार’ लेखिन्थ्यो भने २०४० सालपछि ‘सिकार’ लेख्न थालियो । ‘शिकार’ लगायत शब्द २०५६ सालको एसएलसीको किताबमै ह्रश्व भएर आयो । ‘शिकार’ चाहिँ ‘सिकार’ बन्यो । ‘इन्जिनियरिङ’ जस्ता आगन्तुक शब्दलाई ह्रश्व लेख्ने परम्परा पनि त्यसैवेलादेखि सुरु भएको भाषाविद् अधिकारी बताउँछन् ।

एकेडेमीको यस खालको निर्णयविरुद्ध लेखक र शिक्षकहरुले आवाज उठाए । ‘सहीद’ गलत भएको र ‘शहीद’ नै हुनुपर्ने आवाज उठे । यस विषयमा २०५७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुसहितको गोष्ठीको आयोजना भयो । त्यो गोष्ठीले त झनै ‘मिठो’, ‘पिठो’, ‘तितो’ जस्ता शब्दहरु ह्रश्व नै लेख्दा हुने निर्णय गरेको अधिकारी सुनाउँछन् ।

उनी भन्छन्, ‘त्यसवेला त ‘फूल’ लाई पनि ह्रश्व लेखे हुन्छ भन्ने कुरा आएको थियो । ‘फूल’ तद्भव शब्द भएकाले ह्रश्व नै लेख्दा हुन्छ भन्ने निर्णय भएको थियो ।’

हिन्दीमा ‘लागु’लाई ‘लागू’ लेखिन्छ । ‘चालु’लाई ‘चालू’ लेखिन्छ । त्यसैले संस्कृत शब्द र आगन्तुक शब्दहरुलाई नेपाली भाषा र व्याकरणअनुसार नै लेख्ने भनेर निर्णय भएको अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘तर, हामी ‘सोलु’ लाई ‘सोलू’, ‘मुगु’ लाई ‘मुगू’ लेख्दैनौं । यसरी नै ‘मिठोपिठो’ ह्रश्व भएको छ । अहिले स्कुलसम्म पुगेको छ । हामीले स्कुलमा सरल तरिकाले नेपाली भाषाको पठनपाठन गराउँदै शब्दहरुको प्रकृति र ध्वनिबारे अवगत गराउनुपर्छ भनेर कोसिस गरेका थियौं ।’

संस्कृत र आगन्तुक शब्दहरुलाई एकै हिज्जेमा ल्याउने निर्णय २०२९ सालमै साझा प्रकाशनले गरेको थियो । तारानाथ शर्मा, बालकृष्ण पोखरेललगायतले उक्त निर्णय गरेका थिए । तर, साझाका तत्कालीन अध्यक्ष कमल दीक्षितले विद्वानहरुको निर्णय नमानेको अधिकारीको आरोप छ ।

उनी भन्छन्, ‘तारानाथ शर्मा, बालकृष्ण पोखरेल जस्ता विद्वानले गरेको निर्णय कार्यान्वयन नहुनुमा कमल दीक्षित कारक थिए । उनी जुद्ध शमशेरको पालाको हिज्जे मान्ने भएकाले विद्वानहरुको निर्णय मानेनन् । मनमौजी काम गरे ।’

विसं. १९९१ मा जुद्ध शमशेर प्रधानमन्त्री हुँदा सानो अढाई पेजको एक पुस्तिका निस्केको थियो । ‘नेपाली भाषा कसरी शुद्ध लेख्ने’ भनेर छापिएको पुस्तिकालाई नै दीक्षितले मान्ने गरेको आरोप अधिकारीको छ । तर, साझाले २०२९ सालको निर्णयलाई गलहत्याए पनि सुधारवादीहरुले तारानाथ, बालकृष्णको निर्णयलाई अगाडि बढाएको उनको दाबी छ ।

तारानाथ, बालकृष्णले २०२९ सालमा गरेको उक्त निर्णय २०३५ सालमा आएर विश्वविद्यालयले पनि कार्यान्वयन गर्‍यो । २०६६ सालमा कक्षा ११ को किताब परिवर्तन भयो । सबै हिज्जे सुधार भए । २०६९ सालमा शिक्षा मन्त्रालयबाट पास भएपछि विश्वविद्यालय र एकेडेमीको निर्णयमा पाठ्यपुस्तक नै परिवर्तन भयो । तर, २०७३ सालमा आएर भने अदालतमा मुद्दा पर्‍यो ।

चर्चामा रहेको ॐ शब्द

‘ॐ’ विशेष गरेर वैदिक मन्त्रमा प्रयोग गरिन्छ । भाषाविद्हरुका अनुसार यो वर्ण होइन, तीनवटा वर्ण मिलेर बनेको सन्धि हो । तीनवटा वर्ण भन्नाले ‘अ’, ‘ऊ’, ‘म’ ।

सन्धि भनेको अघिल्लो एकाइको पछिल्लो ध्वनि र पछिल्लो एकाइको अघिल्लो ध्वनिबीच मेल भएर ध्वनि र रुपमा परिवर्तन हुनु हो । जस्तो ‘महा’ र ‘इन्द्र’ जोडिँदा ‘महेन्द्र’ हुन्छ । अघिल्लो एकाइ ‘महा’ भयो । पछिल्लो एकाइ ‘इन्द्र’ । ‘इन्द्र’को अगाडि ‘इ’ छ । ‘महा’को पछाडि ‘आ’ छ । अब ‘आ’ र ‘इ’को मिलन हुँदा ‘ए’ बन्यो । दुवैको मिलनले भौतिक स्वरुपमा परिवर्तन पनि भयो र ‘महा’ र ‘इन्द्र’ मिलेर महेन्द्र बन्यो ।

प्रा.डा. तथा भाषाविद् माधवप्रसाद पोखरेल ‘ॐ’ शब्द र अक्षर दुवै भएको बताउँछन् । ‘ॐ’मा ‘अ’ र ‘ऊ’ जोडियो भने ‘ओ’ हुने भयो र ‘म्’ जोडिँदा ‘ॐ’ हुने भयो ।

‘ॐ’ शब्द वा अक्षरको सुरुवात वैदिककालदेखि नै भएको पोखरेलको भनाइ छ । उनी भन्छन्, ‘वैदिक मन्त्रहरु पहिला ॐ भनेर उच्चारण गर्ने चलन थियो । गायत्री मन्त्रको पनि सुरुमा ॐ नै भनिन्छ । पछिल्लो समय ॐलाई शब्दकोषबाट झिकिदिएको भनेर मुद्दा परेको सुनेको छु । खासमा ॐ भनेको वर्ण होइन, अ, आ, इ, क, ख जस्तो । तीन अक्षर मिसिएको वर्ण हुँदैन ।’

ॐको सुरुवात श्रुति परम्पराबाट आएको पोखरेलको ठम्याइ छ । पहिले शिष्यलाई घोकाएर पढाइन्थ्यो । लेख्ने केही थिएन । अरामाइक लिपि त चल्थे । तर, ॐ लेखिएन ।

यसको कारण खोतल्छन् पोखरेल, ‘त्यसवेला ॐलाई ऋषिमुनिहरुले शुद्रहरुले पढ्ने डरले लिपिमा लेखेनन् । आफ्नै गुरुकुलमा मात्रै शिष्यहरुलाई कण्ठ गराए । त्यसवेला अहिलेको ॐको गाँठो परेको स्वरुप पनि थिएन होला । ॐलाई लेख्ने सुरुवात त ईशापछि मात्रै भयो ।’

अहिलेको ॐ देवनागरी लिपि हो । जुन लिपि पाँचौं शताब्दीमा मात्रै देखापर्ने पोखरेलको भनाइ छ । तर, ॐ भने दशौं शताब्दीपछि मात्रै लेख्न थालिएको उनको दाबी छ ।

पोखरेल भन्छन्, ‘नेपाली परम्परामा ॐ चाहिँ रुढीको रुपमा आएको छ । यसलाई नेपालीहरुले पवित्र मन्त्रको रुपमा लिन्छन् । तर, यो मन्त्र होइन ।’

अर्कातिर इतिहासकार महेशराज पन्त भने ॐ वैदिक कालदेखि नै विशिष्ट रुपमा आएको हुनाले यसलाई कायमै राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘शब्दकोषबाट हटाएको भन्ने त हल्लामात्रै हो भन्ने सुनेको छु । तर, यो शब्द हटाउनुको अर्थ छैन ।’

पन्त थप्छन्, ‘यो शब्द संस्कृतिको अभिन्न अंग हो । यसलाई हटाउने, राख्ने काम बजारको होइन । विद्वतसभा, प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालका विद्वानहरुले गर्ने हो । यहाँ त हरेक क्षेत्रमा भाँडभैलो छ । त्यही भाँडभैलो ॐ शब्दमा पनि गर्न आइपुगेका छन् मान्छेहरु ।’


प्रतिक्रिया

2 thoughts on “हलन्तबाट उब्जेको ज्वलन्त बहस: ॐ शब्द हो कि अक्षर ?

  1. ॐ शब्द/वर्ण राख्ने/हटाउने बजार या आजका कथित विद्वानको कार्य होइन यो आम जनले अवलम्बन गरेको सृष्टि को समग्रता(सारतत्व) हो तसर्थ यो सतत् रहन्छ/ रहनुपर्छ ।

  2. ॐ भनेको आ+ओ+अम् मिलेर बन्छ। यसको विज्ञान भनेको मानवीय प्रकृतिक ध्वनी हो। जिब्रोको प्रयोग नगरीकन मुख पुरै खोल्दाको ध्वनी “आ”, मुख आधा खोल्दाको ध्वनी “ओ” र मुख पुरै बन्द गर्दा “अम्” ध्वनी मिलेर ॐ बन्छ। एम जुनसुकै बोल्न सकिने आबृति (फ्रिक्वन्सी) मा उच्चारण गर्न सकिन्छ। तर यो आवाजको असर बनस्पति र अन्य जीवमा प्रभावशाली रहन्छ भन्ने अध्ययनहरुले देखाएको छ।

    अमंत्र् अक्षरं नास्ति: नास्ति मुलं अनौषधम्‌ ! अयोग्य: पुरुषो नास्ति: योजकस्त्र दुर्लभ:!! भनिन्छ अर्थात कुनै पनि अक्षर यस्तो छैन कि जुन मन्त्र नहोस् त्यसैले ॐ मन्त्र हो। बिद्वीनहरुको दुख के चाही हो भने बिदेशीले जे भन्यो त्यो नमाने फन्डिन्ङ, बिदेश भ्रमण र प्रोजेक्ट आउदैन। अनि बुद्दी बन्दकी राखेर बिदेको लतारा हुन बाध्य छन्। कठै भन्नै परो बिद्वानहरुको नाममा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर