एसियाली खेलकुद: बिर्सन लायक नेपाली खेलाडीको प्रदर्शन
काठमाडौं । १९औं एसियाली खेलकुदको जुडोमा सोमबार नेपालका तीन जना खेलाडी पहिलो चरणमै पराजित भएका छन् ।
नेपालका मनिता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए ।
महिला ५७ केजीमुनि मनिता तुर्कमेनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए ।
पुरुष ८१ केजीमुनितर्फ फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।
बास्केटबलमा जापानसँग पराजित
एसियाली खेलकुदको महिला यु-२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल जापानसँग पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२-४ ले पराजित गर्यो ।
नेपालका लागि मीना गुरुङ र गरिशा सिलवालले समान २-२ स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।
समूह ‘बी’ मा चाइनिज ताइपेई र कजाकिस्तान पनि छन् । नेपालले बुधबार कजाकिस्तानसँग तथा ताइपेईसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।