यसरी ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)
काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ ।
१० बजेर ३७ मिनेटको शुभसाइतमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । भोलिपल्ट माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
सोमबार नानिचा यात्रा बीचको टोलमा रथयात्रा हुनेछ ।
ईन्द्रध्वज पटन १५ गते सोमबार राति ८ बजेर ३७ मिनेटमा हुनेछ ।
काठमाडौं महानगरपालिकाले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ ।
इन्द्रजात्राका सन्दर्भमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनी सम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० जना नगर प्रमुखहरू इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो ।
जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । जात्राका लागि शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले २०७६ सालबाट भगिनी सम्बन्ध भएका नगरबाट पाहुनालाई आमन्त्रण गर्न थालिएको बताए ।