‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई गरियो नागरिक अभिनन्दन – Nepal Press

‘दिव्य शताब्दी पुरुष’ डा. लाल दासलाई गरियो नागरिक अभिनन्दन

बालेनदेखि कार्यवाहक प्रधानमन्त्रीसम्मको शीर्ष जमघट

काठमाडौं । दिव्य शताब्दी पुरुष डा. गौरीशङ्कर लाल दासलाई नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदरस्वरूप दासलाई अभिनन्दन गरिएको हो ।

राष्ट्रियसभा गृहमा आयोजित अभिनन्दन समारोहमा उनलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले अभिनन्दन गरे । सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको सँगालो पुस्तक पनि विमोचन गरियो ।

कार्यक्रममा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस महामन्त्री गगन थापा, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायत उपस्थित थिए ।

अभिनन्दन मूल समारोह समितिका संयोजक शंकरप्रसाद कोइरालाले पाको उमेरमा पनि सामाजिक अभियन्ताको रूपमा सक्रिया डा. दास प्रेरणाको स्रोत भएको बताए ।

वरिष्ठ छाती रोग विशेषज्ञ डा. लाल दास हाल एक सय वर्षमा छन् ।

सेवा निवृत्त भएपछि पनि उनी अहिले पनि विभिन्न संस्थामा आबद्ध भएर सक्रिय रूपमा सामाजिक अभियन्ताका रूपमा सेवामा समर्पित छन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा. दासले वीर अस्पतालदेखि स्वास्थ्य सेवा आरम्भ गरेका थिए । उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप विशेष सम्मान गरिएको संयोजक कोइरालाले बताए ।

नेपाल प्रेसका फोटो पत्रकार गौरव पौडेलले कैद गरेका तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर