मणिपाल घटनाले अशान्त पोखरा: डाक्टरको विरोध प्रदर्शन, मृतकका आफन्तको चक्काजाम – Nepal Press

मणिपाल घटनाले अशान्त पोखरा: डाक्टरको विरोध प्रदर्शन, मृतकका आफन्तको चक्काजाम

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार डाक्टरमाथि कुटपिट भएको विषय झनै उत्कर्षमा पुगेको छ । पोखरास्थित अस्पतालमा स्वास्थ्यकर्मीहरु आकस्मिकबाहेकका सेवा ठप्प गरेर विरोध प्रदर्शन उत्रिएका छन् । मृतकका आफन्तले पनि बुधबार विरोध प्रदर्शन गरिरहेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका- ७ की ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएपछि पोखरा अशान्त छ । आइतबार अस्पताल भर्ना भएकी दुरालाई सोमबार दिउँसो १ बजेर १५ मिनेटको समयमा अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतकका आफन्त अस्पतालका चिकित्सकको लापरबाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए । उनीहरुले उपचारमा संलग्न डाक्टर अनिल शाहमाथि हातपातसमेत गरेका थिए ।

त्यसयता निरन्तर दुईतर्फी विरोध प्रदर्शन भइराखेको छ । पोखराका स्वास्थ्यकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित सभागृह, सृजनाचोक, राष्ट्र बैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभा गरिएको थियो ।

‘डाक्टर कुट्ने प्रहरीमाथि कारबाही गर’, ‘अत्याचार र दमन कहिलेसम्म ?’, ‘दोषीलाई छुटैछुट डाक्टरमाथि कुटाकुट’ लगायत लेखिएको प्लेकार्ड बोकेर स्वास्थ्यकर्मीहरु प्रदर्शन उत्रिएका छन् । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयन गर्न मागसमेत राखेका छन् ।

मणिपाल शिक्षण अस्पताल फूलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी विरोध प्रदर्शनमा सहभागी भएका थिए । मणिपालमा अहिले आकस्मिकबाहेकका सबै सेवा बन्द छन् ।

त्यस्तै मृतकका आफन्तले विरोध प्रदर्शनसहित चक्काजाम गराइरहेका छन् । महेन्द्र पुलबाट प्रदर्शनसहित मृतक पक्षधरको भीड चक्काजाम गराउँदै पृथ्वीचोकमा पुगेको छ । उनीहरुले पोखराको मुख्यचोक पृथ्वीचोकमा प्रदर्शन गर्दा सवारी आवागनसमेत प्रभावित भएको छ ।

मृतकका आफन्तले भने डाक्टरलाई छानबिनको माग गरेका छन् । उनीहरुले ‘मान्छे मार्न पाइँदैन’ जस्तो नारा लगाउँदै विरोध जनाएका छन् ।

डाक्टर शाहमाथि कुटपिटमा संग्लन कास्कीको पोखरा महानगरपालिका- ५ मालेपाटन बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत कास्कीबाट मंगलबार ७ दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ ।

बिरामीको मृत्यु भएपछि नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्मालाई जिम्मा लगाएर मंगलबार छाडिएको छ ।

मणिपालको तनावग्रस्त स्थिति नियन्त्रण लिन पुगेका ४ जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै भीडलाई उक्साएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर